काठमाडौँ महानगरपालिकाले आज असार १० गते आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि बजेट ल्याएको छ । आगामी वर्षका लागि १८ अर्ब ९५ करोड ७७ लाख १२ हजार बजेट ल्याएको काठमाडौँ महानगरपालिकाले निर्वाचनको समयमा गरेका वाचा के के पूरा गर्यो भनेर समिक्षा गर्ने बेला पनि भएको छ ।
आर्थिक वर्ष २०७४/०७५ देखि २०७८/०७९ सम्मको बजेट आईसकेको छ । यद्यपी, २०७८/०७९ को बजेट साउन १ बाट कार्यान्वयन सुरु हुनेछ । तर, निर्वाचनका बेला अघि सारिएका महत्वकांक्षी योजना के कति पूरा भए र के के पूरा हुने चरणमा छन् भन्ने समिक्षा भने गर्न जरुरी देखिएको छ ।
नेकपा एमालेले आफ्ना उम्मेद्वार विद्यासुन्दर शाक्यलाई जिताउन चुनावी घोषणापत्रमा काठमाडौं उपत्यकालाई स्वच्छ, सुन्दर र आधुनिक राजधानी बनाउने महत्वकांक्षी योजना सुनाएको थियो । मेट्रो रेल, विद्युतीय गाडी लगायतका नारा ४ वर्ष बितिसक्दा पनि नारामै सिमित भएका छन् ।
२०७९ को बैशाख–जेठमा स्थानीय तहको अर्को निर्वाचन हुँदैछ । तर, २०७४ सालको स्थानीय तहको निर्वाचनमा गरिएका कतिपय घोषणा अहिलेसम्म पूरा हुने त परैको कुरा सुरु समेत हुन सकेको छैन ।
के थिए घोषणापत्रमा ?
नेकपा एमालले आफ्ना उम्मेद्वारलाई विजयी गराउन निकै महत्वकांक्षी योजना अघि सारेको थियो । घोषणा पत्रको सुरुमै ‘संसारकै रमणीय स्थानमा अवस्थित र नेपाली जनताको सभ्यता एवम् संस्कृतिको केन्द्रका रूपमा रहेको काठमाडौँ उपत्यकालाई सुन्दर, स्वस्थ, स्वच्छ तथा पर्यावरणमैत्री शहरका रूपमा सुधार तथा विकास गरिनेछ’ भनिएको थियो ।
बागमती नदी सरसफाईको साप्ताहिक कामबाहेक यो बुँदाको कार्यान्वयन हुन नसकेको सरोकारवालाहरु बताउँछन् ।
‘दई वर्षभित्र नेपालको राजधानी रहेको उपत्यकामा काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लाहरूलाई मिलाएर मेघानगर घोषणा गरिनेछ’ घोषणपत्रमा भनिएको थियो, ‘उपत्यकालाई सांस्कृतिक मौलिकता र आधुनिकताको संयोजनको नमूना नगरका रूपमा विकसित गर्न गुरुयोजना बनाईनेछ ।’
मेघानगर घोषणा गर्न के के चाहिन्छ, शहर कस्ता हुनुपर्छ भन्ने ख्याल नै नगरी लेखिएको यो बुँदा पनि फेल भएको छ ।
काठमाडौँ उपत्यकाका ३ जिल्लालाई मात्रै राजधानी शहरका रुपमा आम मानिसले लिने गरेको भन्दै काठमाडौँबाट पूर्वमा काभ्रेपलाञ्चोकका शहरी क्षेत्र र पश्चिममा नुवाकोट र धादिङ र मकवानपूर सम्मको क्षेत्रलाई समेटेर वृहत्तर राजधानी क्षेत्रका रुपमा विकास गरिने योजना पनि विद्यासुन्दर शाक्यको कार्यकालमा पूरा नहुने सत प्रतिशत निश्चित छ ।
‘काठमाडौँ उपत्यकालगायत मकवानपुरको टिस्टुङ र कुलेखानी क्षेत्र, धादिङको विदुर, बेत्रावतीदेखि बैरेनीसम्म, नुवाकोट र रसुवा जिल्लामा पर्ने त्रिशुली उपत्यका, सिन्धुपाल्चोकको मेलम्चीसहित इन्द्रावती उपत्यका र दोलालघाट, काभ्रेका पाँचखाल, भकुन्डेबेसी, बनेपा, धुलिखेल र पनौती क्षेत्र समाहित हुने गरी वृहत्तर राजधानी क्षेत्रको विकास गरिनेछ’ भनेर एमालेको स्थानीय तह निर्वाचनको घोषणा पत्रमा लेखिएको थियो ।
निर्वाचन सकिएको पहिलो वर्षमै अधिकार सम्पन्न राजधानी सुधार, विस्तार तथा विकास प्राधिकरण स्थापना गरिने, पहिलो वर्षमा तयार पारिएको गुरुयोजना बमोजिमको दोस्रो वर्षदेखि सम्पूर्ण संरचना निर्माण थालिने, विकसित राजधानीमा एउटा मेघा शहरसहित १० वटा अत्याधुनिक स्याटलाइट शहर निर्माण गरिने लगायतका महत्वकांक्षी योजना विद्यासुन्दर शाक्यले पूरा त के, सुरु नै गर्न सकेनन् ।
यातायात पूर्वाधार
विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने भनिएकोमा विद्युतीय सार्वजनिक सवारीका साधन चलेकै छैनन् । साझा यातायातलाई बिजुली बस खरिदका लागि महानगरले दिएको बजेट खातामै बसिरहेको छ । बस किन्ने प्रक्रियाले गती लिएको छैन ।
गाडी तथा मोटरसाइकल पार्किङमा ‘बहुतले पार्किङ’को अवधारणालाई कार्यान्वयन गरिने भनिएपनि अहिलेसम्म एउटा पनि भर्टिकल पार्किङ भवन बनेको छैन ।
पाँच मिनेटको फरकमा छुट्ने गरी महानगरद्वारा सुविधासम्पन्न सार्वजनिक यातायातका साधनहरू सञ्चालन गर्ने भनिएकोमा यो पनि घोषणा पत्रमै सिमित भएको छ ।
३ वर्षभित्र उपत्यकाबाट सबै किसिमका कारखाना, इँटाभट्टा र वर्कसपहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरिने भनिएकोमा ४ वर्ष पूरा हुँदा पनि एउटा बजेटमा यो कार्यक्रम परेन ।
‘राजधानीमा भित्री, बाहिरी र बृहत् गरी तीन वटा चक्रपथ निर्माण, विस्तार तथा विकास गरिनेछ । सबै चक्रपथ र अन्य सडकहरूको समानान्तर मेट्रो रेल सञ्चालन गरिनेछ’ भन्ने र राजधानीलाई पिउने र धुने पानीको अभाव नहुने व्यवस्था सुनिश्चित गरिनेछ । फोहोर, धुलो, हिलो र सबै किसिमका प्रदूषणबाट मुक्त गरिनेछ’ भन्ने बुँदाले अहिले मेयर विद्यासुन्दर शाक्यले सबैभन्दा बढी आलोचना सहनु परेको छ ।
२० वटा तालका योजना खोई ?
काठमाडौँ महानगरमा २० वटा ताल बनाउने योजना थियो । घोषणपत्रमा ‘प्राकृतिक ताल तथा निर्माण हुनेसमेत गरी राजधानीभित्र कम्तीमा २० वटा तालको विकास गरिनेछ’ भनिएको थियो । र यी तालहरूको पानी लिफ्ट वाग्मती, विष्णुमती, मनोहरा र हनुमन्ते खोलामा हालेर यी खोलमा सफा पानी बगाउने योजना थियो । तर, अहिलेसम्म न ताल बने, न नदी तथा खोलामा सफा पानी बग्यो ।
‘वाग्मती नदीको शिरदेखि चोभारसम्म ५० मिटर चौडाइको नदी प्रवाह क्षेत्र कायम गरिने छ । नदीका दुवै किनारामा ५०÷५० मिटर ग्रिनवेल्ट निर्माण गरी कम्तीमा २५ स्थानमा पार्क निर्माण गरिने छ । वाग्मती नदीमा ठाउँ–ठाउँमा बाँध हालेर ताल विकास गरिनेछ’ भन्ने घोषणा पत्रको बुँदा मेयर शाक्यले सायद हेर्न भ्याएका छैनन् होला ।
पर्यटन
राजधानीमा दैनिक ५ लाख बाह्य र आन्तरिक पर्यटकहरू बस्न सक्ने पूर्वाधारको विकास गरिने भन्ने योजना सुरु भएको छैन । यद्यपी, नीजि क्षेत्रबाट पर्यटकहरु लामो समय काठमाडौँमा बसुन् भनेर केही प्रयास भएका छन् । तर, विगत डेढ वर्षदेखि कोरोनाले पर्यटन क्षेत्र थला परेको छ ।
फुल्चोकी, मृगस्थली, गोकर्ण र शिवपुरीका जङ्गगलहरूलाई जोडेर खुल्ला चिडियाखाना र पर्यटन केन्द्रका रूपमा विकास गरिने योजना पनि सुरु भएको छैन ।
राजधानीमा रहेका सबै बधशालाहरूलाई उपत्यका बाहिर स्थानान्तरण गरिने लगायतका चुनावी घोषणापत्रमा उल्लेख भएका विद्यासुन्दरका महत्वकांक्षी योजनाहरु अझै सुरु भएका छैनन् ।