रबीको ‘द लिडर’: सहभागीको पैसा पनि फिर्ता भएन, कार्यक्रम पनि ‘कोल्याप्स’ भयो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 24, 2022 | 03:25:29 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछापको गोकुलगंगा घर भएका गेली शेर्पाले जुन २१ तारिखमा फेसबुकमा एउटा स्टाटस लेखे । उनले स्टाटसमा रबी लामिछानेले ‘ल लिडर’ नामक ‘टेलिभिजन शो’ मार्फत नेता खोज्ने भनेर आफैँ नेता बनेको भनेर कटाक्ष गरेका छन् । 

यति मात्रै होइन शेर्पाले आफूहरुले रबीले घोषणा गरेको ल लिडर कार्यक्रममा स्वतःस्फुर्त रुपमा गरेको सहयोग खेर गएको उल्लेख गरेका छन् । 

उनले लेखेका छन्, ‘द लिडर भन्ने कार्यक्रम घोषणा गरेर म लिडर भईदिने रबी जी ? हामी हजारौं लाखौं युवाहरुले हजार तिरेर फाराम भरेको करोडौं पैसा खोई ?’

त्यस्तै, असार २ गते कैलालीको जानकी गाउँपालिका घर भएका आदित्य न्यौपानेले पनि ‘द लिडर’ नामक कार्यक्रमका लागि आफूले पनि १ हजार तिरेको तर उक्त कार्यक्रम आजसम्म सञ्चालनमा नआएको उल्लेख गरेका छन् ।

‘आजभन्दा करिब दुई वर्ष अगाडि रबी लामिछाने न्युज २४ मा छँदै द लिडर कार्यक्रम गर्ने भनेर उद्घोष गर्नुभयो । सोहीअनुसार मैले आफ्नो नाम रजिस्टर गरेँ, तर १००० रूपैयाँ तिर्नुपर्न रैछ, त्यो नि गरेँ । आजसम्म उक्त कार्यक्रम सञ्चालनमा आएको छैन। रबी लामिछानेले ग्यालेक्सी फोरके नि छाड्नुभएछ । ग्यालेक्सी फोरकेमा फोन गर्दा हामीलाई केही थाहा छैन भन्नुभयो’ न्यौपानेले लेखेका छन् ।

अदित्यले आफ्नो रजिस्ट्रेसन नम्बर नै उल्लेख गरेका छन् । उनले आफ्नो रजिस्ट्रेसन नम्बर ३०४७१ भएको र आफूभन्दा पछाडी पनि हजारौँले नाम दर्ता गराएको उल्लेख गरेका छन् । 

उनले रबी लामिछानेले चलाखी गरेर फाराम भरेर शुल्क बुझाउनेहरुलाई कुनै प्रमाण नदिई केवल रजिष्ट्रेशन नम्बर मात्रै दिएको बताएका छन् । 

रबीको द लिडरका लागि लाखौँ युवाले स्वतःस्फुर्त रुपमा १ हजार तिरेर फराम भरेका थिए । यस्तो संख्या करिब २ लाखको हाराहारीमा रहेको त्यस्तै फाराम भरेका रामेछापका गेली शेर्पा बताउँछन् । 

यदि उक्त कार्यक्रममा १ लाख जना मात्रै युवाले १ हजार तिरेर फाराम भरेको भएपनि १० करोड रुपैयाँ संकलन भएको छ । तर, त्यसको हिसाब देखाईएको छैन । 

के थियो रबीले घोषणा गरेको ‘द लिडर’ कार्यक्रम ?

२०७६ मंसिर २६ गते ‘द लिडर’ कार्यक्रम घोषणा गर्दै रबीले भिजन भएका र परिपक्व व्यक्तिलाई लिडर बनाउने र यसका लागि ७ प्रदेशका विभिन्न स्थान र विदेशमा समेत अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौँमा ल्याएर प्रतिस्पर्धा गराएर लिडर जन्माउने बताएका थिए ।

विजेतालाई काठमाडौँमा अपार्टमेन्ट, गाडी र २० लाख नगद दिने भनिएको थियो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की र हालै विवेकशील साझा पार्टीबाट राजीनामा दिएर बसेका रवीन्द्र मिश्र निर्णायक तोकिएका थिए ।

यो शो न्युज २४ टेलिभिजन, रमाइलो टिभी र गुन्द्रुक एपबाट प्रशारण हुने उल्लेख गरिएको थियो । 

यो कार्यक्रमको उत्पादक थियो एस.आर.बि.एन. मिडिया । यसका प्रमुख कार्यकारी हुन् विपिन कुमार आचार्य । अचार्य रबीकै समूहका व्यक्ति हुन् । रबीले न्युज २४ छोडेर ग्यालेक्सी तिर लागेपछि आचार्य पनि रबीकै पछिपछि लागे । अहिले उनी ग्यालेक्सीमा क्रियटिभ डाइरेक्टर छन् ।

रबीको अनुहार हेरेर हजारौँले फाराम भरेर शुल्क तिरेको भएपनि यस विषयमा रबी लामिछानेले भने आफू केवल प्रस्तोता मात्रै भएको र आफूलाई अरु थाहा नभएको प्रतिक्रिया दिएका छन् । 

‘म त  कार्यक्रम सञ्चालक हुँ, त्यसैले मलाई कति जनाले रजिष्ट्रेसन गर्नुभयो, कति पैसा संकलन भयो, कतिले फिर्ता लिए, कतिले लिन बाँकी छ केही थाहा छैन’ रबीले भने ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved