जनार्दनले फुटेज नदेखाएपछि देउवाले भने ‘कुरो बुझिहालियो, अब छोड्दिम् यार’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 05, 2022 | 09:39:36 AM मा प्रकाशित

laxmi  sunrise bank

बजेट भाषणको अघिल्लो दिन मध्येराती अनाधिकृत व्यक्तिलाई अर्थमन्त्री जनार्दन शर्माले मन्त्रालयमा प्रवेश गराएर करका दरहरु हेरफेर गराएको समाचार आएपछि माओवादी अध्यक्ष प्रचण्डले शर्मासँग सोधपुछ गरे । 

जेठ ३० गते साँझ नै ३१ गते समाचार आउँदैछ भन्ने पूर्व सूचना मिडिया हाउसले आधिकारिक पेजमार्फत जानकारी गराएपछि अताल्लिएका प्रचण्डले हत्तपत्त जनार्दन शर्मालाई बोलाए ।

शर्मालाई बोलाएर प्रचण्डले ‘के गर्नुभयो तपाईले यस्तो ?’ भनेर सोधे । माओवादी सम्बद्ध स्रोतका अनुसार जवाफमा जनार्दन शर्माले आफूले पूर्व नायब सुब्बा रघुनाथ घिमिरेलाई बोलाएर सहयोग लिएको स्वीकार गरेका थिए ।

‘मलाई मन्त्रालयमा कर्मचारीबाट सहयोग भएन, म अर्थको बारेमा जानकार मान्छे होइन, आफूसँग पर्याप्त जानकारी पनि नभएको र कर्मचारीले पनि आवश्यक सहयोग नगरेपछि मैले विज्ञका रुपमा उहाँलाई प्रयोग गरेको हुँ’ जनार्दन शर्माले प्रचण्डसामू भनेका थिए ।

जवाफ सुनेपछि प्रचण्डले कड्किएर पुनः प्रश्न गरे, ‘पूर्व नायब सुब्बा पनि कहीँ विज्ञ हुन्छ ? मलाई किन्न भन्नु भएन ?’

त्यसपछि अर्थमन्त्री जनार्दन शर्मा केही बोलेनन् ।

देउवाले भने, ‘भो भो छोड्दिम् यार’ 

सत्तारूढ दलभित्र समाचारमा आएको विषय सत्य हो की होइन भन्ने विषयमा के गरी पत्ता लगाउने भन्ने छलफल भयो । यसका लागि सीसीटीभी फुटेज नै हेर्ने कुरा भयो ।

सभामुख, प्रधानमन्त्री र विपक्षी दलको प्रतिनिधि बसेर फुटेज हेर्ने तय भयो । तर, अर्थमन्त्री शर्माले फुटेज देखाउन मानेनन् । सभामुख, प्रधानमन्त्री र विपक्षी दलको प्रतिनिधिलाई अर्थमन्त्रीले संयुक्त रुपमा फुटेज देखाउन नचाहेको होला भनेर गठबन्धनले प्रधानमन्त्री शेरबहादुर देउवाले मात्रै हेर्ने सहमति गर्यो ।

प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री शर्मासँग ‘फुटेज हेर्नुपर्यो लौ त !’ भने । देउवालाई पनि अर्थमन्त्री शर्माले फुटेज दिन मानेनन् । 

त्यसपछि देउवाले गठबन्धनका नेताहरुलाई भने, ‘उहाँले दिन मान्नु भएन, नमानेपछि कुरो बुझिहालियो नि यार । अब यसमा धेरै कुरा नगरौँ, छोड्दिम् ।’

यसपछि गठबन्धन फुटेज नहेर्नेमा पुग्यो । प्रधानमन्त्री देउवाले नै ‘छोड्दिम्’ भनेपछि प्रचण्डलाई पनि सजिलो भयो ।

असार १८ गते साँझ अर्थ मन्त्रालयले सीसीटीभी फुटेज नै मेटियो भन्ने जवाफ फर्कायो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved