आरजुको चाहनाले यसरी सम्भव भयो अर्थमा जनार्दनको ‘कम ब्याक’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 31, 2022 | 12:58:36 PM मा प्रकाशित

laxmi  sunrise bank

संसदीय छानबिन समितिले अनुसन्धान नै उल्टो गरेपछि जनार्दन शर्मा निर्दोष जस्ता देखिए । तर, समितिले न सीसीटीभी फुटेज भेट्यो न उनको कल डिटेल नै हेर्न आवश्यक ठान्यो । 

यतिसम्म की, उच्च अधिकारीहरुबाट तल्लो तहका कर्मचारीतर्फ क्रमशः लिनुपर्ने बयान पनि सुरुमा तल्लो तहका कर्मचारीलाई सामूहिक रुपमा लिएर पछि मात्रै सचिवहरुलाई बोलाईयो ।

छानबिन समितिले गरेका त्रुटीकै कारण जनार्दन शर्मा चोखिए । अर्थात्, उनले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिलाई प्रवेश गराएको प्रमाण भेटिएन । 

आरजुले चाहँदा ‘कम ब्याक’

जनार्दन शर्मा नै पुनः अर्थमन्त्रीका रुपमा फर्किने लगभग पक्का भईसकेको छ । आजै बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर माओवादी केन्द्रले पुनः अर्थमन्त्रीका रुपमा जनार्दन शर्मालाई नै पठाउने भनेर नाम नै दिईसकेका छन् ।

‘उहाँले ल्याएको बजेट उहाँले नै कार्यान्वयन गर्न सक्नुहुन्छ भनेर पार्टीले अर्को व्यक्ति पठाउनु उपर्युक्त ठानेन’ स्रोत भन्छ, ‘यो प्रस्ताव पनि अध्यक्षले नै राख्नु भएको हो । अरु साथीहरु पनि सहमत भएपछि जनार्दन शर्माकै नाम गईसकेको छ । अब सथपको कार्यक्रम प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिको कार्यालयले तय गर्ने कुरा हो ।’

एक दिन उद्योगी व्यवसायीसँगको भेटमा पनि प्रधानमन्त्री देउवाले ‘बजेटमा करका दर जसले बिगार्यो भनिएको छ, उसैले मिलाउँछ’ भनेर जनार्दन शर्मा फर्किने संकेत गरेका थिए । अर्थमा जनार्दनलाई फर्काउन देउवा भन्दा पनि उनी पत्नी आरजु राणाले बढी चाहेकी थिईन् । 

‘बजेट निर्माणमा पनि माओवादीको वैचारिक लाइन र पार्टीको नीतिसँग मिल्ने भन्दा पनि आरजु जीकै सल्लाह मुताबिक धेरै कुरा आएको सत्य हो’ स्रोत भन्छ, ‘जनार्दन शर्मा नफर्किँदा आरजु जीलाई पनि आफ्ना अनुकुल हुने गरी आएका कार्यक्रम कार्यान्वयन गर्न असजिलो हुन्थ्यो । त्यहीँ भएर आरजु जी जनार्दन शर्मालाई जसरी पनि फर्काउनुपर्छ भनेर कसरतमा हुनुहुन्थ्यो । यहीँ बीचमा उहाँ उपचारका लागि इन्डिया जानुभयो ।’

विशेषगरी सेनेटरी प्याडको आयातमा दिईएको भन्सार छुट देउवाका छोरा जयवीरकै कम्पनीकै लागि दिईएको थियो । साहिल अग्रवाल लगायतका केही सिमित उद्योगीका लागि लाभ हुने गरी बिजुलीको शुल्कमा छुटको घोषणा गरिएको थियो । यसवापत पनि आरजु देउवाले ठूलै ‘डिल’ गरेको चर्चा छ । यी नीतिको निरन्तरताका लागि पनि आरजुले जनार्दनलाई फर्काउन चाहेकी थिईन् ।

जनार्दनको त्यो ‘याचना’

बजेट निर्माणका क्रममा करका दर हेरफेर गर्न बाहिरी पात्रलाई प्रयोग गरेको आरोप लागेपछि जनार्दन शर्मालाई अध्यक्ष प्रचण्डले बोलाएर हप्काएका थिए । त्यतिबेला उनले प्रचण्डका अगाडी आफूलाई मन्त्रालयबाट सहयोग नभएपछि विज्ञका रुपमा बाहिरी सहयोग लिएको स्वीकार गरेका थिए । 

लगत्तै, प्रचण्डले ‘सुब्बा पनि कहीँ विज्ञ हुन्छ ?’ भन्दै उनलाई झपारेका थिए ।

तर, छानबिन समितिमा सत्ता पक्षबाट प्रतिनिधित्व गरेका सांसदहरुलाई दलहरुले प्रमाण नभेटिए ‘दोषी प्रमाणित भएनन्’ भन्ने लाइनबाट प्रतिवेदन लेख्न ह्वीप नै लगाए । त्यसपछि जनार्दन शर्माको अर्थमा ‘कम ब्याक’ निश्चित जस्तै बनेको थियो ।

आफू अनुकुल प्रतिवेदन आउने निश्चित भएपछि जनार्दन शर्माले प्रचण्डलाई भेटेर ‘मेरो पोलिटिकल हाइट जोगाउन पनि म नै फर्किनु पर्छ, यसले पार्टीलाई पनि राम्रै हुन्छ’ भनेका थिए । यति मात्रै नभई, ‘बरु म केही दिन बसेर राजीनामा दिएर आउँछु, तर प्रतिवेदन आएपछि एकपटक म नै जान्छु’ सम्म उनले भनेको स्रोतले बताएको छ ।

उनको यो भनाईमा प्रचण्ड पनि सहमत भएपछि जनार्दन शर्मा नै अर्थमा फर्किने भएका हुन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved