यस्तो अर्थ सचिवको खोजीमा छन् अर्थमन्त्री शर्मा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2022 | 03:14:11 PM मा प्रकाशित

laxmi bank sanima

संसदीय छानबिन समितिले बजेट निर्माणका क्रममा बाहिरी व्यक्तिको प्रवेश भएको देखिने कुनै प्रमाण फेला नपारेपछि जनार्दन शर्माले उन्मुक्ति पाए । त्यसलगत्तै माओवादी केन्द्रले अर्थ मन्त्रीमा जनार्दन शर्मालाई नै पठायो ।

यसो त, जनार्दनलाई ‘क्लिन चिट’ दिएर अर्थमा ल्याउने चाँजोपाँजो प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणाले मिलाएकी थिईन् । अर्थमन्त्रीका रुपमा जनार्दन शर्माले ‘दोस्रो इनिङ’ सुरु गर्नासाथ अर्थसचिव मधु मरासिनी बिदामा बसिदिए । लगत्तै उनले सरुवा मागे, अहिले उनी प्रधानमन्त्री कार्यालयमा थन्क्याईएका छन् । 

अर्थसचिव खोज्दै अर्थमन्त्री

मरासिनीलाई जनार्दनले नै अर्थमा ल्याएका थिए । तर, शर्मा विवादमा मुछिन थालेपछि मरासिनी बसरिहने ‘मुड’मा देखिन छोडेका थिए । अब आफूले भनेको मान्ने, आफूले अघि सारेका काममा अवरोध नगर्ने ‘एस म्यान’ अर्थसचिवको खोजीमा जनार्दन लागेका छन् ।

‘आगामी मंसिर ४ गते चुनावको मिति घोषणा भएको छ, चुनाव भएर अर्को सरकार बन्दा पुस लागिहाल्छ’ स्रोत भन्छ, ‘यसकारण अझै ५ महिना शर्माले पूरै अर्थ मन्त्रालय सम्हाल्नेछन् । त्यसैले अर्थमन्त्री मात्रै होइन, बालुवाटार पनि भनेको मान्ने खालको अर्थसचिव खोजिरहेको छ ।’

के काम गर्न चाहन्छन् शर्मा ?

जनार्दन शर्माले मुख्यगरी प्रधानमन्त्री पत्नी आरजुसँग मिलेर ३ वटा काम तत्कालै गर्न चाहेका छन् । विवादित र आलोचित काम नै किन नहुन्, ती काम सक्नुपर्ने जिम्मेवारी बोकाएरै शर्मालाई फर्काइएको थियो ।

नयाँ स्टक एक्सचेन्ज ल्याउने, नेपाल प्रहरीका लागि हतियार खरिद गर्ने र हेलिकप्टर खरिदको काम आगामी मंसिरमा हुने निर्वाचन भन्दा अगाडी नै सक्ने वा कम्तीमा टेण्डर गरेर ‘कमिशन’ हत्याउने दाउमा आरजु र अर्थमन्त्री शर्मा रहेको स्रोतले बताएको छ ।

मुख्यतया, यी ३ काममा कुनै अवरोध नगर्ने अर्थसचिवको खोजीमा जनार्दन शर्मा लागेका छन् । 

को होला यस्तो पात्र ?

अब आउने अर्थसचिवको काँधमा अहिलेको संकटको सन्निकट पुगेको अर्थतन्त्रलाई सहज बनाउनुपर्ने दायित्व हुन्छ । मधु मरासिनी प्रधानमन्त्री कार्यालयमा ‘जगेडा’का रुपमा थन्किएपछि अर्थसचिवको जिम्मेवारी अहिले राजस्व सचिव कृष्णहरी पुस्करलाई नै दिईएको छ ।

यद्यपी, अन्य मन्त्रालयका सचिवहरु तिर जनार्दन शर्माले नजर डुलाईरहेका छन् । 

राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारी र सञ्चार मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालमध्ये एक जनालाई ल्याउन पाए हुन्थ्यो भन्नेमा जनार्दन छन् । तर, अर्याल आजसम्म कुनै पनि विवादमा नमुछिएका भद्र सचिवको छवि बनाएका व्यक्ति हुनाले उनले बालुवाटार र सिंहदरबारले जबरजस्ती तेर्स्याएका शर्तहरु मान्ने अवस्था छैन ।

भण्डारीले पनि विवादित र आलोचित हुने गर्नुपर्ने देखेर अर्थमा आउन खासै मन गरेका छैनन् ।

यस्तो अवस्थामा राजस्वमा कसैलाई ल्याएर कृष्णहरि पुष्करलाई नै पूर्ण रुपमा अर्थ सचिवको मात्रै काम लगाउन सकिन्छ भन्नेमा जनार्दनले बालुवाटारसँग परामर्श गरिरहेको स्रोत बताउँछ । अर्थमन्त्री शर्माका ‘प्रिय पात्र’ बनिसकेका पुस्करले पनि बाहिरबाट अरु व्यक्ति ल्याउनुभन्दा आफूमार्फत नै काम गर्न जनार्दन शर्मालाई ‘ग्रिन सिग्नल’ दिईसकेका छन् । 

तर, जुनियर सचिव भएकाले निर्णय गर्दा ‘कमजोरी’ हुन सक्ने हो कि भन्नेमा बालुवाटार शसंकित छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved