घुससहित समातिएका ‘गोल्ड मेडलिस्ट’ उपसचिवले जब मोबाइलको ‘प्याटर्न लक’ बिर्सिए...

निरोज कुमार थापा

निरोज कुमार थापा

Aug 10, 2022 | 11:20:54 AM मा प्रकाशित

laxmi  sunrise bank

१७ साउनको मध्यान्हतिर पर्यटन मन्त्रालयका उप–सचिव प्रमोद नेपाल काठमाडौँको नागपोखरीस्थित होटल अरण्यबाट घुस रकमसहित पक्राउ परे । ६ लाख रुपैयाँ घुस र १६ लाख ५० हजार रुपैयाँ स्रोत खुलाउन नसकेको गरी कुल साढे २२ लाख रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीको फन्दामा परेका उपसचिव नेपाललाई कोरोना पोजेटिभ देखिएपछि अहिले नेपाल प्रहरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । 

कोभिड प्रमाणित भएका कारण अख्तियारले उनीसँग बयान लिन पनि सकेको छैन । गत बुधबार नै विशेष अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको भएपनि सोही दिन उनलाई कोरोना देखिएपछि प्रहरी अस्पतालमा भर्ना गरिएको हो ।

नेपालले भने, ‘मोबाइलको प्याटर्न बिर्सिएँ...’

त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातकोत्तर अध्ययनका बेला नेपालले गोल्ड मेडल पाएका थिए । नागरिक उड्डयन प्राधिकरणबाट सरकारी सेवामा प्रवेश गरेका नेपालले सरकारकै छात्रवृत्तिमा बेलायतमा समेत अध्ययनको अवसर पाएका थिए ।

बेलायतको अध्ययन सकेर उनी ८ महिना अगाडी मात्रै नेपाल फर्किएका थिए । नेपाल फर्किएपछि उनी पर्यटन मन्त्रालयको हवाई उड्डयन महाशाखाको हवाई सम्झौता तथा अन्तराष्ट्रिय नागरिक उड्डयन शाखाको प्रमुखका रुपमा काम गर्न थालेका थिए ।

कामकै शिलशिलामा पर्यटन व्यवसायी पूर्ण चौलागाईसँग घुस रकम लिँदै गरेको अवस्थामा उनी रंगेहात समातिए । पक्राउ पर्दा सुरुमा उनी अख्तियारका अधिकारीहरुसँग खासै झस्किएनन् । सायद विश्वास गरेनन् । 

तर, जब अख्तियारको रेकी टोलीले घेरेर गाडीको ‘ड्यासबोर्ड’बाट ६ लाख र पछाडीको सिटबाट साढे १६ लाख बरामद गरेर ‘यो पैसा कहाँबाट आयो ?’ भनेर सोध्न थालेपछि अकमक्किए । अख्तियारको टोली ६ लाख घुस लिएको भन्नेमा कुनै सन्देहमा थिएन । किनकी, यसको पूर्व सूचना पाएरै टोलीले पछ्याएको थियो । तर, होटलमै ३ घण्टा बढी ‘केरकार’ गर्दा अख्तियारको टोलीले गाडीमा भेटिएको अर्को १६ लाख ५० हजारमा बढी केन्द्रित भयो । पैसाको स्रोतका सम्बन्धमा उपसचिव नेपालले अस्पष्ट जवाफ दिईरहे ।

यसअघिः
‘म गोल्ड मेडलिस्ट हुँ, भविष्यमा मुख्यसचिव हुन्छु’ भन्थे २२ लाख घुससहित पक्राउ परेका उपसचिव

‘यो मेरै पैसा हो, २ दिनदेखि यहीँ गाडीमै छ’ सुरुमा उपसचिव नेपालले अख्तियारको टोलीसँग भनेका थिए । लगत्तै ‘२ दिनसम्म यति धेरै पैसा गाडीमा किन राखेको ? लुकाएको हो ?’ भनेर टोलीका एक अधिकारीले अलि चर्को स्वरमा सोधेपछि उपसचिव नेपालले ‘१० लाख मेरै हो, मैले सेयर बेचेर आएको पैसा झिकेर यहाँ राखेको । ६ लाख ५० हजार साथीसँग सापटी लिएर राखेको हुँ’ भन्ने जवाफ दिए ।

उनको यो जवाफ सुनेपछि अख्तियारको टोलीले ‘कुन ब्रोकरबाट सेयर बेचेको हो ?’ र ‘को साथीबाट सापटी लिएको हो ?’ भनेर अर्को प्रश्न तेर्स्यायो । त्यसपछि त उपसचिव नेपालले आफूले सेयर कारोबार गर्ने ब्रोकर नै बिर्सिएको जवाफ दिए ।

‘कुन ब्रोकर हो बिर्सिएँ मैले’ नेपालको मुखबाट यस्तो जवाफ सुन्नासाथ अख्तियारको टोलीका एक सदस्यले सोधिहाले, ‘अनि पैसा सापटी दिने साथी नि ?’ यो प्रश्नमा पनि उनले ‘त्यसको नाम के पो थियो, बिर्सिएँ’ भन्ने जवाफ दिए ।

‘छ छ लाख ऋण सापटी दिने साथीको नाम थाहा हुँदैन ? नाम थाहा नभए मोबाइलमा नम्बर होला नि त ? खोई लक खोल्नुस् त !’ टोलीले जफत गरिसकेको उनको मोबाइल दिँदै भन्यो । उनले ‘प्याटर्न बिर्सिएँ’ भन्ने जवाफ दिए ।

त्यसपछि भने अख्तियारको टोलीले अलि कडा स्वरमै ‘आफ्नो मोबाइलको प्याटर्न लक पनि बिर्सिन्छ ? बिर्सिने खालको लक किन राखेको त ?’ भन्दै प्रश्न गरेपछि उपसचिव नेपालले पनि ‘यस्तो तनाव भएको बेलामा बिर्सिहाल्छ नि मान्छेले’ भन्ने उत्तर दिए ।

अनेकौँ सवाल जवाफ गर्दा पनि चित्तबुझ्दो जवाफ नपाएपछि अख्तियारको टोलीले उनलाई लिएर गयो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved