‘राजस्वका कर्मचारी हौँ’ भन्दै अनुगमन गरिरहेका टोली जब ‘फिल्ड’बाटै समातियो...

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2022 | 05:50:30 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजस्व विभाग भन्नासाथ व्यवसायीहरु तर्सिन्छन् । पसल तथा उद्योग व्यवसायमा खराबी नभएपनि राजस्व विभागका कर्मचारी आउँदा केही खराबी भेटिन्छ की भनेर स्वच्छ मनशायका साथ व्यापार व्यवसाय गरिरहेकाहरु सचेत हुन्छन् । 

तर, काठमाडौँमा एउटा यस्तो गिरोह भेटियो, जसले आफूहरुलाई आन्तरिक राजस्व विभागको कर्मचारीका रुपमा चिनाउँदै अनुगमनका नाममा ठगी धन्दा चलाइरहेको पाइयो । चटक्क परेर सरकारी पोशाकमा हिड्ने ८ जनाको समूह राजस्व विभागको टोली नभई ठगहरुको समूह थियो । 

नक्कली अनुगमन र ठगी

काठमाडौँको टेकुस्थित जिल्ला प्रहरी परिसरमा नीलो रंगको कोट, सेतो सर्ट र नीलै पाइन्ट लगाएका ६ जना र अरु सामान्य पोशाकधारी २ जना युवायुवतीहरूलाई प्रहरीले लाइन लगाएर उभ्यायो । यी ८ जनाकै हातमा हतकडी लगाइएको थियो ।

राजस्व विभागको कर्मचारी भनेर आतंक मच्चाउँदै आएका उनीहरुलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गर्दाको दृश्य हो यो । 

उनीहरू सबैले नयाँ बसपार्क क्षेत्रमा आफूलाई आन्तरिक राजस्व कार्यालयको कर्मचारीका रुपमा चिनाएका थिए । सो क्षेत्रका रात्रीकालिन व्यवसाय (दोहोरी साँझ), रेष्टुरेन्ट, होटल, साना तथा ठूला पसल र फुटपाथ पसलमा सम्म झुटो अनुगमनको आतंक मच्चाएका थिए । सरकारी पोशाक त लगाउँथे नै, साथमा उनीहरुले राजस्व कार्यालयको परिचय पत्र पनि भिर्थे भने राजस्व कार्यालयर्क रसिद पनि बोकेका हुन्थे । 

ठगीका लागि अनुगमनका नाममा होटल, पसल तथा रेष्टुरेन्टमा पुग्दा उनीहरुले कर तिरे नतिरेको विवरण देखाउन लगाउँथे । कर तिर्न बाँकी रहेको देखेपछि आफूखुशी जरिवाना तोक्थे । तोकिएको जरिवाना रकम तत्काल तिर्न भन्थे  । पैसा लिएपछि ‘आन्तरिक राजस्व कार्यालय लाजिम्पाट’ लेखिएको रसिद सम्बन्धित व्यवसायीलाई थमाएर फर्किन्थे। 

यसरी उनीहरुले नयाँ बसपार्क क्षेत्रमा करिब १ हप्तादेखि आतंक मच्चाइरहेका थिए । 

जब प्रहरी पुग्यो

४ दिनदेखि लगातार एकै व्यक्ति एउटै क्षेत्रमा अनुगमनका लागि भन्दै आएर जरिवाना रकम तोक्ने गरेको देखेपछि व्यवसायीहरुले शंका गरे । उनीहरुले यसबारे प्रहरीमा खबर गरे । शुक्रबार अपरान्हतिर खबर पाएपछि प्रहरी वृत्त महाराजगन्जको एउटा टोली नयाँ बसपार्क तिर हुइकियो । 

प्रहरी टोली उनीहरुले अनुगमन गरिरहेको ठाउँमा नै पुग्यो । चटक्क परेको सरकारी पोशाक धारण गरेका र गलामा आन्तरिक राजस्व कार्यालयको दुरुस्तै डिजाइनको कार्ड भिरेका, कार्ड होल्डर र डोरी पनि दुरुस्तै देख्दा प्रहरी पनि एकछिन अलमल्लमा पर्यो । तर, आन्तरिक राजस्व विभाग र कार्यालयबारे केही सोधपुछ गरेपछि उनीहरु अकमक्क परे । त्यसलगत्तै प्रहरी टोलीले उनीहरु ठगी गर्ने गिरोह भएको यकिन गर्यो र तुरुन्तै ७ जनालाई पक्राउ गर्‍यो। 

पक्राउ पर्नेहरूमा पूर्वी नवलपरासीका २९ वर्षीया विनबहादुर विक, पाँचथरकी २२ वर्षीया सृजना भट्टराई, अछामका १९ वर्षीया सागरजंग लुहार, २३ वर्षीया दुधकला वि.क., सिन्धुपाल्चोककी २३ वर्षीया प्रमिशा तामाङ र नुवाकोटकी २१ वर्षीया अन्जना तामाङ छन् । 

कञ्चनपुरका २४ वर्षीया राजीव धामी र २५ वर्षीया डेबिड धामीलाई पक्राउ परेका छन् । राजीव शनिबार कीर्तिपुरबाट समातिएका हुन् ।

उनीहरूको साथबाट आन्तरिक राजस्व कार्यालयको स्ट्याम्प, लेटरप्याड, परिचयपत्र लगायतका सामान बरामद गरिएको प्रहरीले जनाएको छ । 

हालसम्म उनीहरुले ५ लाख ८ हजार ६४० रुपैयाँ ठगी गरेको खुलेको छ। 

यसका मुख्य योजनाकार डेबिड धामी भएको खुलेको छ । उनी अडिटर भएको र करका विषयमा जानकार भएको व्यक्ति भएकाले यस्तो आँट गरेको हुन सक्ने प्रहरीको अनुमान छ । तर, नेपाल चार्टर्ड एकाउन्टेन्स् संस्थाले भने डेबिड धामीको नाममा कुनै पनि फर्म दर्ता नरहेकाले अडिटर भन्न नमिल्ने बताएको छ । 

उनीहरू सबै जनाविरूद्ध ठगी तथा कीर्ते गरेको कसूरमा अनुसन्धान भइरहेको एसएसपी भरत बोहराले जानकारी दिए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved