दशैँ तिहारको बिदामा स्वदेशसँगै विदेशका विभिन्न स्थानमा समेत नेपालीहरु घुम्न निस्कन्छन् । नेपालीहरु घुम्न जाने मुख्य गन्तव्य विशेष गरि ५ वटा छन् । हरेक वर्ष कोही ट्राभल कम्पनी त कोही एक्लै पनि यी गन्तव्यमा घुम्न पुग्छन् ।
नेपालीहरु जाने ५ गन्तव्यमा मलेशिया, सिंगापुर, थाइल्याण्ड, दुबई र बाली छन् । नेपाली व्यवसायीहरुले यी ५ गन्तव्यमा नेपालीहरुलाई घुमाउने गर्छन् । यो समयमा विदेशी पर्यटकहरु नेपालका विभिन्न स्थानमा घुम्न आउँछन् भने नेपालीहरु पनि विदामा घुमफिरका लागि विदेशका ठाउँमा पुग्ने गरेका छन् । सेवाग्राहीको माग अनुसार व्यवसायीले पनि सोही किसिमका प्याकेज ल्याउने गरेका छन् ।
बाली
नेपालीहरुको सर्वाधिक आकर्षकको गन्तव्य मानिन्छ–बाली । बाली इन्डोनेसियाको एउटा टापु हो । बालीलाई विश्वकै सुन्दर समुद्री तटमध्येको एक मानिने गन्तव्य पनि भनिन्छ । बालीबाट आँखाले देखुन्जलेसम्म नीलो समुद्र हेर्न सकिन्छ ।
बालीको वाङदुङ पर्वतमा ज्वालामुखी देखिन्छ । नेपालबाट प्रायजसो बाली घुम्न निस्कनेहरु नवबिबाहित जोडीहरु छन् । २ वर्षदेखि भने परिवारसहित घुम्न जानेहरुको संख्या पनि बढेको छ ।
टुर प्याकेजमार्फत बाली जानेहरुलाई उलुवतु टेम्पल, तनह लोट टेम्पल, तिरता टेम्पल, उबुद, किन्तामणि घुमाउने गरिन्छ । बालीको यात्रा प्याकेजमा जम्मा ४ रात ५ दिनको हुन्छ । यो अवधिमा एक जना बराबर ७० हजारदेखि ८० हजार रुपैयाँसम्म खर्च लाग्छ । यसमा हवाई टिकट, खानपानदेखि त्यहाँ घुम्नेसम्मको खर्च समावेश हुन्छ ।
थाइल्यान्ड
सामान्य पैसा साथमा रहादा पनि घुम्न सकिने वैदेशिक गन्तव्य हो, थाइल्यान्ड । दक्षिण–पूर्वी एसियामा अवस्थित यो मूलुक विश्वका पर्यटकलाई आकर्षित गर्ने मूलुक हो । थाइल्यान्डका चर्चित पर्यटकीय गन्तव्य राजधानी बैंकक, पटाया र फुकेट हुन् ।
समुद्री तट, जल विहार र रात्रिजीवन थाइल्यान्डको मुख्य आकर्षण हुन् । बैंककको मरिन पार्कमा डल्फिनको कला त्यहाँको हेर्न लायक रहन्छ । बैंककमै विश्वकै सबैभन्दा ठूलो खुला चिडियाघर पनि छ ।
जम्माजम्मी ४० देखि ५० हजार रुपैयाँमा थाइल्यान्ड घुम्न सकिने ट्राभल व्यवसायीहरु बताउँछन् । टुर प्याकेजमै थाइल्यान्ड घुम्न जाने हो भने एक जनाको ४० देखि ५० हजार रुपैंयाँ लाग्छ । सामान्यतय थाइल्याण्डको टूर ४ रात ५ दिनको हुन्छ ।
दुबई
संयुक्त अरब इमिरेट्स (युएई) को दुबईमा चिसो याममा नेपालीहरु धेरै जान्छन् । मानव निर्मित विशाल र आश्चर्यलाग्दा संरचना हेर्न दुबई जाने गरिन्छ । दुबई नेपालीहरुको श्रम गन्तव्य समेत हो । दुबईको मुख्य पर्यटकीय गतिविधि भनेको डेजर्ट सफारी हो ।
टुर प्याकेजमार्फत दुबई जाँदा कम्तीमा ७० हजार खर्च लाग्छ । यो ४ रात ५ दिन अवधिको टूर प्याकेज हुन्छ । माथि उल्लेख गरिएको खर्चले आउने जाने हवाई टिकट, घुम्ने, खाने र बस्ने खर्च बेहोर्छ ।
यी देश बाहेक मलेशिया र सिंगापुर पनि ५ रात ६ दिनको प्याकेज मार्फत नेपालीहरु जाने गन्तव्य हुन् । सामान्यतय ६० देखि ८० हजार प्रतिव्यक्ति खर्च लाग्ने यी दुई देशको टूर पनि नेपालीहरुले अत्याधिक रुचाउने गन्तव्यमा पर्दछन् ।