कोरोना छल्दै दशैँमा घुम्न जाने हो ? यी हुन् पुग्नैपर्ने १० गन्तव्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 20, 2020 | 04:11:35 PM मा प्रकाशित

laxmi  sunrise bank


विगत केही वर्षदेखि फस्टाउँदै आएको आन्तरिक पर्यटन कोरोना माहामारीका कारण शिथिल बनेको छ । तर, पनि पर्यटन बजारलाई चलायमान बनाउन विभिन्न एयरलाइन्स कम्पनीले आन्तरिक घुमफिरका ‘प्याकेज’ नै ल्याएका छन् । यसले पनि दशैँको बिदामा कोरोनालाई छल्दै परिवारहरु घुम्न निस्कनेमा व्यवसायीले केही आशा गरेका छन् ।

घुमफिरका लागि अहिलेको मौसम उपयुक्त मानिन्छ । अहिलेको मौसमको सदुपयोग गर्दै कोरोना छल्न आफ्ना परिवारका सदस्य मात्रै पनि घुम्न बाहिर जाने योजनामा रहेको हुनसक्छ । राजधानीबाट नजिकै र अलिक टाढाका केही ठाउँहरु यसपालीको घुमफिरका लागि विशेष आन्तरिक गन्तव्य बन्न सक्छन् ।

१.नगरकोट

मूलुकको संघिय राजधानी काठमाडौंबाट जम्मा ३२ किलोमिटरको दूरीमा रहेको ठाउँ हो नगरकोट । पर्यावरणीय दृष्टिकोणले निकै सुन्दर मानिने र विदेशी पर्यटकको रोजाईमा पर्ने यो गन्तव्य सूर्योदयको रमणीय दृश्य हेर्नका लागि विश्वको उत्कृष्ट दश स्थानमध्येमा पर्छ । लाङटाङ हिमशृंखलासहित सगरमाथासमेत देख्न सकिने यो ठाउँ बिहान गएर बेलुका फर्किन सकिन्छ । 

रातमा उतै बास बसेर भोलिपल्टको सूर्योदय हेर्छु भन्नेहरुका लागि बासस्थानको उपर्युक्त व्यवस्थासमेत छ । काठमाडौं कोटेश्वरबाट भक्तपुरको कमलविनायक हुँदै २ घण्टा सार्वजनिक बसमा यात्रा गरेपछि नगरकोट पुग्न सकिन्छ । निजी सवारीमा पनि निर्धक्क पुग्न सकिने छोटो गन्तव्य हो नगरकोट ।

२.दामन/इन्द्रसरोबर

मकवानपुरमा पर्ने दामन काठमाडौँबाट नजिकको हिउँ खेल्ने गन्तव्य हो । हिँउद याममा हिउँ खेल्नका लागि मानिसहरु बाक्लै पुग्ने यो ठाउँमा अहिले सामान्य अवस्थामा रहेको गर्मी छल्न पनि मानिसहरु पुग्ने गर्दछन् । 

सफासँग मौसम खुल्दा दामनबाट ८ हजार मिटरभन्दा अग्ला ८ वटा हिमाल देख्न सकिन्छ ।

मकवानपूरकै कुलेखानीमा मानवनिर्मित इन्द्रसरोबार ताल मूलुककै पृथक पर्यटकीय गन्तव्य हो । चन्द्रागिरी पर्वतको काँखैमा अवस्थिति यो तालमा डुंगा सयरको पनि प्रवन्ध छ । काठमाडौँबाट यति नजिकै तालमा डुंगा सयर गर्न पाउने व्यवस्था अन्यत्र छैन ।

निजी सवारी लिएर प्रकृतिसँग दिन बिताएर साँझ काठमाडौँ फर्किन्छु भन्नेहरुका लागि पनि यो गन्तव्य उपर्युक्त बन्न सक्छ ।

३.कालिञ्चोक

दोलखाको कालिञ्चोक काठमाडौँबाट मात्रै नभई मध्य तराइबाट पनि सहजै पुग्न सकिने आन्तरिक गन्तव्य हो । सुन्दर प्रकृतिको काखमा रमाउन र हिमाली सभ्यता र संस्कृतिलाई नजिकबाट नियाल्न पाइने भएकाले आन्तरिक पर्यटकले औधी निकै रुचाउने गन्तव्य हो कालिञ्चोक ।

कालिञ्चोक भगवतीको मन्दिर भएकाले यो ठाउँ धार्मिक हिसाबले पनि महत्वपूर्ण मानिन्छ । मन्दिर परिसर गौरिशंकर हिमाल हातैले छुन सकिन्छ की जस्तो गरी उभिएको देख्न सकिन्छ । यसबाहेक लाङटाङ, रोलवालिङ हिमशृंखला पनि प्रष्ट देखिने हुँदा यो ठाउँ निकै मनमोहक लाग्छ । 

काठमाडौंबाट रामेछाप सदरमुकाम मन्थली हुँदै पनि जान सकिन्छ । यसबाहेक मुडे देउराली हुँदै पनि पाँच घण्टाको बस यात्रामा दोलखा सदरमुकाम चरिकोट पुगिन्छ । चरिकोटबाट १७ किलोमिटर कच्ची सडक हिडेपछि कुरी बजार पुगिन्छ । एकनासका काठे घरहरुले कुरी बजारको सौन्दर्यता बढाएका छन् । 

कुरीबाट एक घण्टा पैदल हिँडेपछि समुद्री सतहदेखि ३८ सय ४२ मिटर उँचाइको कालिञ्चोक पुगिन्छ ।

४.सैलुङ

सैलुङ रामेछाप र दोलखाको बीचमा अवस्थित छ । यो नेपालको पूर्वतिरको पहाडी भू–भाग हो । सैलुङको अर्थ सय लुङ (लुङ भनेको पहाडका टाकुरा) हो । सैलुङमा समुद्री सतहदेखी ३ हजार १ सय ४५ मिटर उचाईका १०८ वटाभन्दा धेरै थुम्काहरु छन् ।

सिन्धुलीको झाँगाझोली रातमाटाबाट सुनकोसी नदी तरेपछि रामेछापको खाँडादेवी गाउँपालिका प्रवेश गरिन्छ । सित्खाबाट गाल्वाहुँदै दोरम्बा पुगेपछि डडुवा, च्छोयलिङ् गुम्बा, खोला खर्क र त्यसपछि थोरै उकालो हिडेपछि सैलुङ पुगिन्छ । रामेछापको सदरमुकाम मन्थलीबाट गाल्वा हुँदै सैलुङ जान सकिन्छ । 

काठमाडौंबाट ६० किलोमिटर हिडेपछि वीपी राजमार्गको छेवैमा दुम्जाको कुशेश्वर महादेव मन्दिरमा पुगिन्छ । सिन्धुली र काभ्रेको सिमानामा पर्ने  कुशेश्वर महादेवको दर्शन गरेपछि रामेछापको खाँडादेवी र अग्लेश्वरीको हुँदै राजभिर पुगिन्छ । राजभिरमा तत्कालीन राजा वीरेन्द्रका मित, भूटानी लामाले बनाएको ऐतिहाँसिक च्छोयलिङ गुम्बा छ । त्यसपछि ठूलो सैलुङ महादेव, रामेछापको गौश्वारामा पर्ने सैलुङेश्वर महादेवको गुफा पनि घुम्न सकिन्छ ।

हिन्दुहरु सैलुङ क्षेत्रलाई भगवान शिवको तपोभूमिको रुपमा लिन्छन् भने बौद्धधर्मालम्बीहरु बुद्धले पाइला टेकेको ठाउँको रुपमा लिने गर्छन् । मनास्लु, जुगल, लाङटाङ हिमाल प्रष्ट देखिने सैलुङबाट गौरिशंकर, नुम्बुर हिमाल र मकालु हिमाल पनि देख्न सकिन्छ । दोलखा जिल्लामा पर्ने कालिञ्चोक, चेरलुङ, रामेछापको तामेडाँडा, सालुखुम्बुको पिके र ओखलढुङ्गाको थोलेदेम्बा लगायतका उच्च पर्वतहरु सैलुङ डाँडाबाट मज्जाले देख्न पाईन्छ । दक्षिणमा महाभारत पर्वत श्रृङ्खला, चुरे पर्वत श्रृङ्खला पनि देखिन्छ । 

५.पोखरा

हिमाल, ताल, गुफा, छाँगा छहरा र साहसिक खेलहरु एकै स्थानमा भएको पोखरा नेपालको पर्यटनको राजधानी मानिन्छ । विश्वकै उत्कृष्ट मानिने अन्नपूर्ण पदयात्रा, म्याग्दीको पुनहिल, मुस्ताङको प्रवेशद्वारसमेत पोखरा नै हो । 

तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, विन्ध्यावासिनी मन्दिर जस्ता गन्तव्यले पोखराको सौन्दर्यलाई अझै मनमोहक बनाएका छन् । पोखराको सुन्दर उपत्यकाबाट केही उकालो लागेपछि पुगिने सराङकोटबाट अन्नपूर्ण, माछापुच्छ्रे हिमशृंखला छर्लङ्ग देख्न सकिन्छ ।

पोखराबाट एक घण्टामा पुगिने धम्पुसबाट माछापुच्छ«ेको दर्शन गर्न पाइन्छ । 

६.मुस्ताङ

ट्राभल गाइडबुकमध्ये विश्वकै प्रख्यात मानिने ‘लोन्ली प्लानेट’ले हरेक वर्ष मुस्ताङलाई उत्कृष्ट गन्तव्यको सूचीमा राखेको हुन्छ । हिन्दु र बौद्ध मार्गीहरुकोसाझा तीर्थस्थल मुक्तिनाथका रहेको यो ठाउँमा पछिल्लो समय आन्तरिक पर्यटकको लर्को नै लाग्ने गरेको छ । 

कागबेनी, नौतले गुफा यो क्षेत्रका विशेषता हुन् । हिमाल पारीको जिल्ला भनिने मुस्ताङ निकै लोभलाग्दो प्राकृतिक संरचना भएको नेपालको प्रमुख पर्यटकीय गन्तव्य हो ।

७.चितवन, सौराहा

जंगल सफारीका लागि चितवन निकै प्रख्यात छ । चितवन राष्ट्रिय निकुञ्जसमेत रहेको यो ठाउँमा ‘वाइल्ड लाइफ’मा रुची भएकाहरु पुग्ने गर्दछन् । जंगल सफारीमा गैंडा र अन्य जनावर हेर्न सकिन्छ । सौराहा र मेघौली चितवनका प्रमुख गन्तव्य हुन् । 

८.लुम्बिनी

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीे बौद्धमार्गीका साथै शान्तिगामी स्वदेशी र विदेशी पर्यटकको रोजाईमा पर्ने गन्तव्य हो । मायादेवी मन्दिर, मन्दिर परिसरको अशोक स्तम्भ सो क्षेत्रका आकर्षणका केन्द्र हुन् । मन्दिरमा बुद्धको जन्मदृश्य सहितको प्राचीन मायादेवी मूर्ति पनि छ ।

बुद्धले जीवनकालको २९ वर्ष बिताएको शाक्य राज्यको राजधानी कपिलवस्तुको तिलौराकोट पुग्नैपर्ने गन्तव्इ हो । लुम्बिनीबाट जम्मा २८ किलोमिटर दक्षिण पश्चिममा पर्ने यो ठाउँ नपुगी लुम्बिनी भ्रमणको औचित्य नहुने बताउने गरिन्छ ।

९.इलाम/ताप्लेजुङ

पूर्वी नेपाल भ्रमणका लागि धरान–धनकुटा–भेँडेटार हुँदै ताप्लेजुङ पुग्न सकिन्छ । ओलाङचुङगोलादेखि पाथिभरा, विभिन्न जिल्लाको संगम तीनजुरे, तिम्बुङ पोखरी जस्ता मनै लोभ्याउने गन्तव्य भएका यी ठाउँहरु जति घुमे पनि घुमौ घुमौ लागिरहन्छ ।

कञ्चनजंघा र कूम्भकर्ण हिमालको दृश्यावलोकन, पाथिभरा माताको दर्शन, पूर्वी नेपालको चीनसँग जोडिएको ओलाङचुङगोलासम्मको यात्रा पक्कै अविश्मरणीय हुनेछ ।

१०.रारा

घुमफिरमा रुची भएकाहरुले जीवनकालमा एकपटक पुग्छु भनेर सोच्ने गन्तव्य हो मुगुको हुटुस्थित रारा ताल । समुद्री सतहबाट २९ सय ९० मिटर उँचाइमा रहेको तालले घामको किरण अनुसार रङ फेर्ने गर्छ । 

राराभन्दा करिब ११ सय मिटरमाथिको उचाईमा रहेको मुर्मा टपबाट राराको पूरै आकृति देखिन्छ । बाक्लो सल्लाघारी भित्र लमतन्न सुतेकी रारा देख्दा जो कोहीलाई पनि स्वर्गीय आन्नद प्राप्त हुन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved