तिहारको मुखैमा भाइमसलाको भाउ अचाक्ली बढ्यो, के को कति ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Oct 31, 2021 | 12:15:06 PM मा प्रकाशित

laxmi  sunrise bank

तिहारको मुखैमा भाइमसलाको भाउ अचाक्ली बढेको छ । तिहारमा बढी खपत हुने चिनी, खाने तेल, मैदाको पिठो, नरिवल, छोकडा, काजु–किसमिस लगायतका बस्तुको भाउ अहिले अत्याधिक बढेको छ ।

चिनी, आँटा र तेलको मूल्यमा भारी वृद्धि

चिनीको भाउ किलोमै १ सय रुपैयाँ पुगेको छ । होलसेलमै ९३ रुपैयाँसम्म पुगेका कारण उपभोक्ताले एक किलो चिनीको सय रुपैयाँ तिर्नुपर्ने बाध्यता आईपरेको हो । आँटा–मैदाको मूल्य बोरा (५० किलो) मा २ सय रुपैयाँ बढेको छ  ।

बढी खपत हुने समयमा एकाएक मूल्य बढेपछि खुद्रा व्यापारीहरु नै चिन्तामा छन् । उपभोक्तासँग प्रत्यक्ष जोडिने भएकाले मूल्य बढेकोमा गाली आफूहरुले खानु परेको खुद्रा व्यापार संघका महासचिव अमूलकाजी तुलाधरको गुनासो छ ।

‘मूल्य बढ्नुमा आयातकर्ता र उत्पादक दोषी हुन्’ उनले भने, ‘हामीले यस विषयमा वाणिज्य सचिवलाई पनि जानकारी गराएका छौँ ।’

चिनीको भाउ एक महिनामै होलसेलमै ५ रुपैयाँसम्म बढेको छ । साल्ट ट्रेडिङले प्रतिकिलो ७९ रुपैयाँमै चिनि बिक्रि गरिरहेको भएपनि पर्याप्त नहुँदा उपभोक्ता मारमा छन् । साल्टसँग करिब २ सय टन मात्रै मौज्दात छ । उसले पनि आउने ग्राहकलाई पर्याप्त नदिई प्रतिग्राहक २ किलोका दर दिने गर्छ । 

यद्यपी, २ किलोका दरले दिँदा तिहार भरीका लागि २ सय टनले धान्ने आँकलन गरिएको छ ।

तिहारमा अत्याधिक खपत हुने मध्येको एक खाने तेलको भाउ पनि चुलिएको छ । लिटरको २६८ रुपैयाँमा पाउँदै आईएको खाने तेलको मूल्य अहिले २९५ रुपैयाँ पुगेको छ । 

भाइमसलाको मूल्य अचाक्ली बढ्यो

भाइमसलामा अचाक्ली मूल्य वृद्धि भएको छ । काजु, किसमिस, बदाम, ओखरमा धेरै मूल्य वृद्धि भएको नेपाल उद्योग वाणिज्य संघ बागमती प्रदेशका उपाध्यक्षसमेत रहेका काठमाडौँ उद्योग वाणिज्य संघका वाणिज्य तथा आपूर्ति समिति सभापति दुर्गाराज श्रेष्ठ बताउँछन् ।

उनका अनुसार बजारमा छोकडाको अभाव छ । काजुको मूल्य होलसेलमै एक किलोको १५ सय रुपैयाँ पुगेको छ । होलसेलमै किसमिस प्रतिकिलो ४२५ रुपैयाँ, सुकमेल प्रतिकिलो २९ सय रुपैयाँ, ल्वाङ प्रतिकिलो १२ सय ८० रुपैयाँ, पेस्ता प्रतिकिलो १६ सय ६० रुपैयाँ, बदाम प्रतिकिलो १ हजार ७५ रुपैयाँ र ओखर प्रतिकिलो ५२५ रुपैयाँ र छोकडा १७५ रुपैयाँ पुगेको छ । खुद्रा व्यापारीले यो मूल्यमा १० प्रतिशत जोडेर बेच्ने भएकाले उपभोक्ता महँगीको मारमा पर्ने भएका हुन् ।

भारतबाट आउने नरिवल, पाकिस्तानबाट आउने छोकडा र चीनबाट आउने ओखर आउन नसकेका कारण मूल्य बढेको व्यवसायीहरु बताउँछन् । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved