भवानी राणाको धार्मिक दशैं : '९ दिन नै व्रत बस्छु, शक्तिपीठको आराधाना गर्छु'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 11:56:27 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालको व्यवसायीक क्षेत्रमा भवानी राणा चिनिएको नाम हो । उद्योग वाणिज्य महासंघको निवर्तमान अध्यक्षसमेत रहिसकेकी राणा पर्यटनलगायत अन्य धेरै व्यवसायमा संलग्न छन् ।

राणा व्यवसायीसँगै धार्मिक व्यक्तित्व पनि हुन् । दशैं तिहार लगायतका चाडपर्वमा उनी आराधानामा लाग्ने, पूजापाठ गर्ने र शक्तिपीठको दर्शन गर्ने गर्छिन् । नवदुर्गा शुरू हुनेबित्तिकै नवमीसम्म व्रत बस्ने र मन्दिरहरूमा गएर पूजा-आजा गर्ने उनको नियमित कर्म बनेको छ ।

बिजपाटीले उनीसँग दशैंलक्षित कुराकानी गरेको थियो । दशैंलाई जोडेर नेपालको पर्यटन गतिविधि कसरी बढाउन सकिएला भन्ने विषयमा राणाले आफ्नो धारणा राखेकी छन् ।

प्रस्तुत छ राणासँग गरिएको कुराकानीको सम्पादित अंश -

तपाईंको दशैं योजना के छ ?

दशैंको सबैभन्दा ठूलो चाड हो । धेरै जसो बाहिर घुम्न जाने कार्यक्रम हुन्छ । म चाहिँ आफ्नै परिवारसँग बिताउँछु दशैं । विशेष गरेर नवदुर्गा शुरू हुनेबित्तिकै मेरो व्रत पनि शुरू हुन्छ । घरमा गुरुलाई नै राखेर पाठ शुरू हुन्छ र म पनि चण्डी पाठ गर्छु ।

सप्तमीको दिनमा म नेपालगंज नै जान्छु । अष्टमीको दिनमा त्यहीं पूजा हुन्छ । नवमीको दिनमा हवन हुन्छ घरमा । त्यसपछि मात्र व्रत तोडिन्छ । अरूहरूले त दशैंको बेलामा गेट टुगेदर भइरहन्छ । खानेपिउने हुन्छ । मेरो चाहिँ खाने पिउने हुँदैन, अरु तरिकाले दशैंमा रमाइलो गरिन्छ ।

नवदुर्गा शुरू भएपछि सधैं मन्दिर जान्छु म । काठमाडौँ हुँदा पनि कहिले कुन मन्दिर, कहिले कुन ।

दशैंमा तपाईं मात्र नभएर अरू पनि नेपालगंज जानुपर्ने केके धार्मिक र अन्य कारणहरू छन् ?

त्यहाँ बागेश्वरी मन्दिर छ । त्यो एउटा ठूलो शक्तिपीठ हो । भारतबाट पनि त्यसको दर्शन गर्न भनेर धेरै हिन्दू धर्मावलम्बीहरू आउने गर्छन्, एकदमै भीड हुन्छ । सतीदेवीको जिब्रो खसेको ठाउँ हो । धार्मिक हिसाबले त्यसको महत्त्व धेरै छ ।

अरूबेलामा नेपालगंज भनेको त ट्रान्जिट पोइन्ट हो । त्यहाँबाट विभिन्न पर्यटकीय स्थल जस्तै रारा, डोल्पा गइन्छ । प्रदेश हुनुभन्दा अगाडि सुदूर र मध्यपश्चिमको मुख्य व्यापारिक हब नेपालगंज नै थियो । अहिले पनि त्यसको महत्त्व उत्तिकै छ । त्यहाँबाट कैलाश मानसरोवर जान्छन् । अहिले कोभिडका कारण नाका बन्द छ । नेपालगंज नेपालकै पुरानो सहर हो । त्यहाँ घुम्न र सपिङ गर्नका लागि एउटा मुस्लिम मार्केट प्रख्यात छ । विदेशीहरू त्यहाँ घुम्छन् ।

पोहोर परारको दशैं र अहिलेको दशैंको मौसममा सांस्कृतिक र व्यवसायीक रूपमा तपाईंले के फरक पाउनुभयो ?

एकदम फरक छ । पोहोरको दशैं कोभिड भर्खर सकिन लागेको जस्तो थियो । अहिले चाहिँ वातावरण र स्वास्थ्यको हिसाबले अलि प्रतिकूल देखिन्छ । डेंगुको प्रकोप छ, सरकारले पनि यसलाई नियन्त्रण गर्न प्राथमिकता नदिएको जस्तो देखिएको छ ।

पहिला पहिला काठमाडौँका दशैं आउनेबित्तिकै अर्कै किसिमको मौसम हुन्थ्यो, स्वच्छ सफा देखिन्थ्यो जताततै । अहिले त दशैं आयो, अझै गर्मी हटेको छैन । वर्षाको समयजस्तो पानी परिरहेको छ । परिवारमा कति नातागोता डेंगुको बिरामी छन्, कतिपयको दुखद निधन भएको छ । कोभिड जस्तै महामारी देखिएको छ । कोभिडको त औषधि थियो ।

आर्थिक र व्यवसायीक हिसाबले हेर्ने हो भने, व्यवसायीलाई त दशैं आउनेबित्तिकै एउटा आर्थिक भार पनि पर्छ । आफ्नो व्यापार व्यवसाय चलाउँदा कर्मचारीहरूलाई पारिश्रमिक र दशैं बोनस दिनुपर्ने हुन्छ ।

अहिले भर्खरै व्यापार व्यवसाय शुरू भएको अवस्था छ, अनि बैंकको ब्याज बढेको अवस्था छ । लोन लिएर भएपनि दशैं आफूले पनि मनाउने र कर्मचारीले पनि राम्रोसँग मनाउन पाउने अवस्था छैन, बैंकले लोन नै प्रवाह गर्न सकिरहेको छैन । त्यो तनाव पनि छ ।

हाम्रो पाठकहरूलाई दशैं विदामा घुम्न देशभरि कुन कुन ठाउँ सुझाव दिनुहुन्छ ?

नेपालको हरेक ठाउँ एकदमै रमणीय र सुन्दर छ । म त उद्योग वाणिज्य महासंघको चुनावी अभियानका क्रममा नेपालको धेरै ठाउँ घुमेको छु ।

सबै ठाउँको आ-आफ्नो महत्त्व छ । पूर्वमा पाथिभरा छ । तराईमा छिन्नमस्ता छ, दन्तकाली छ । बाग्लुङमा कालिकादेवी छ । डोल्पामा त्रिपुरा सुन्दरी छ । हरेक जिल्लाहरूमा एउटा-एउटा पीठ छ । सुदुरपश्चिममा  त्यस्तै छ । घुम्नका लागि एकदमै सही समय पनि हो ।

खानाको भेरियसनबारे कुरा गरौँ । कुन ठाउँका कस्तो खाना पाइन्छ भन्ने तपाईंलाई कस्तो आइडिया छ ?

काठमाडौँमा त धेरैजसो हरेक किसिमको खाना पाइन्छ । अहिले पछिल्लो समयमा थकाली खाना पनि प्रख्यात छ । पोखरातिर जाँदा थकाली खानैपर्छ भन्ने छ । पश्चिमतिर बिरयानी कबाबहरू प्रसिद्ध छन् । काटिया मासुहरू पाइन्छन् ।

बाराको सेकुवा एकदमै फेमस छ । सुदूर पश्चिमतिर जानुहुन्छ भने त्यता थारु खानाको परिकार पाइन्छ । पहाडतिर उक्लनु हुन्छ भने एकदमै अर्ग्यानिक गेडागुडीहरू पाइन्छन् ।

दशैं त अब छिटै आएर नि गइहाल्छ । यसपछाडिको नेपालको पर्यटन क्षेत्र चलायमान कसरी बनाउन सकिएला ?

अहिले पर्यटन क्षेत्र अलिकति चलायमान भएको छ । अब नेपालको पर्यटनलाई थप चलायमान बनाउन सरकारबाट पनि अलिकति नीति निर्माण तहमा सम्बोधन गरिनुपर्छ भन्ने लाग्छ । हामीले अलि नयाँ ढंगले सोच्नुपर्छ । नयाँ रुटहरू खोलिनुपर्छ ।

नेपाल सिनेमा सुटिङको गन्तव्य पनि हो । मनाङ मुस्ताङ जस्ता ठाउँहरू कति रमणीय छन् । विदेशी युनिटहरू यहाँ सुटिङ गर्न आउँदा सरकारले कर सम्बन्धी नीति अलिकति हेरफेर गरेर खुकुलो बनाइदिनुपर्छ । कनेक्टिभिटी बढाइनुपर्छ ।  

 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved