दशैँ नेपालीको मौलिक पर्व हो, तर मौलिकता गुम्दै गएको हो की जस्तो लाग्छः सीईओ पौडेल

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 30, 2022 | 12:08:41 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल दशैँले केही मात्रामा भएपनि अहिलेको चरम आर्थिक मन्दीको अवस्थालाई गतिशिल बनाउँछ की भन्नेमा आशावादी छन् । 

बडादशैँ परिवारसँग मनाउने योजनामा रहेका उनकी आमा अहिले काठमाडौँ आउनु भएको छ । आमा काठमाडौँ भएकाले पौडेलले यसपाली दाजुभाइसँग सल्लाह गरेर यतै दशैँ मनाउँदैछन् । 

यसपालीको दशैँ मौसमका कारणले पनि विगत वर्षहरुभन्दा केही भिन्न लागेको पौडेल बताउँछन् । मनसुन अझै जारी रहेकाले बाढी, पहिरोको जोखिम कायमै भएकाले उनले दशैँमा काठमाडौँ लगायतका शहरबाट आफ्नो घर फर्किनेहरुलाई मौसमको अवस्थाको जानकारी लिएर मात्रै यात्रा गर्न सुझाएका छन् । 

अर्कोतर्फ, आर्थिक हिसाबले पनि यसपालीको दशैँ मन्दीकै बीचमा सकिने उनको बुझाई छ । केही विप्रेषण भित्रिने भएकाले थोरै आर्थिक गतिविधि बढेको जस्तो देखिएपनि महँगीका कारण सिमित बजेट भित्र रहेर मात्रै खर्च गर्नुपर्ने बाध्यता देखिएको उनको भनाई छ ।

दशैँ तिहारको बिदामा परिवार जमघट भएर घरमै रमाउन उनलाई ठिक लाग्छ । त्यसैले बाहिर जाने चाहना खासै राख्दैनन् पौडेल । 

‘हामी बाहिर गयौँ भने घरपरिवार भेटघाट हुन्छ भनेर आउनेहरुका लागि खल्लो हुन सक्छ, दशैँ तिहार भनेको अघिपछि बाहिर भएकाहरु पनि घर फर्किने चाड हो’ सीईओ पौडेल भन्छन्, ‘हामी आफैँ पनि दाजुभाई, छरछिमेकी, आफन्तसँग लामो समय भेट हुन नपाएका हुन्छौँ, दशैँमा भेटको अवसर जुट्छ । यसरी भेट हुँदा दुःख सुखका कुराकानी गरेर रमाउँछौँ । परिवारसहित नजिकै कतै घुम्न पनि जान्छौँ ।’

उनी दशैँ मौलिक चाड भएकाले मौलिकतामै रमाउनुपर्ने बताउँछन् । तर अहिले क्रमशः मौलिकता क्षयीकरण हुँदै गएको भान उनलाई हुन थालेको छ । मौलिक पर्वहरुको मौलिकता नेपालीको पहिचान भएकाले दशैँ जस्ता मौलिक चाडहरु आफ्नै आन्तरिक रहन सहन, खानपान र भेषभुषामा मनाउनुपर्ने सीईओ पौडेलको बुझाई छ ।

उनलाई पहाडी भेगका फरक फरक अनुभव र रहनसहन हेर्न बुझ्न मन पर्छ । उनलाई बागलुङको कुश्मा र पोखरा क्षेत्र बढी रमाइलो लाग्छ । शान्तिको क्षेत्र लुम्बिनीमा पनि उनी खुब रमाउँछन् । 

दशैँमा दिइने बली प्रथा भने कम गर्दै लैजानुपर्ने उनको सुझाव छ ।

दशैँमा स्थानीय उत्पादनको प्रयोगलाई बढवा दिन उनले सुझाएका छन् । खानेदेखि लगाउनेसम्म स्थानीय उत्पादन प्रयोग गरियो भने आन्तरिक आर्थिक अवस्था सबल हुँदै जाने उनको विश्वास छ ।

सीईओ पौडेलले आफूलाई सबै नेपाली खाना मन पर्ने र विशेष गरी कोदोको रोटी, फापरको रोटी र नेपाली रैथाने तरिकाले बनाएको सेल रोटी मन पर्ने भएकाले बाहिर कतै खाना खान नगइ आफैँ घरमै बनाएर खाने गरेको सुनाए ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved