Election 2079 Worldcup 2022

सेतो टीका पाँच ठाउँमा लगाउने थारू समुदायको पृथक दशैं

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2022 | 09:25:24 AM मा प्रकाशित

laxmi bank

नेपालीहरुको महान चाड दशैं मनाउने क्रम जारी छ । दशैंको मुख्य दिन अर्थात आज बिजया दशमी हो । आज अधिकांश नेपालीहरु दुर्गा भवानीको पूजा गरेर हर्षोल्लासपूर्वक मनाइरहेका छन् । 

कैलाली र कञ्चनपुरमा बसोबास रहेको थारू समुदायको दशैं अन्य समुदायको भन्दा पृथक छ । अन्य समुदायले बडादशैंको पहिलो दिन घटस्थापनामा जौको जमरा राख्छन् तर यो समुदायले घटस्थापनाको दोस्रो दिन मकैको जमरा राख्ने प्रचलन छ ।थारू समुदायका जानकारहरूका अनुसार यो समुदायले पृथक तरिकाले दशैं धुमधामसँग मनाउने गर्छन् । ‘दशैंमा विशेषगरी हाम्रो समुदायमा पितृपूजा हुन्छ’, थारू अगुवा बलबहादुर डगौराले भने, ‘थारूमा पनि विभिन्न थरी छन्, सबैको फरक फरक चलन छ ।’

उनका अनुसार थारू समुदायमा दशैंको टीका पनि सेतो लगाउने प्रचलन छ । तर पछिल्लो समय यो परम्परालाई छोडेर रातो टीका लगाउन थालेको उनले बताए । ‘हाम्रो परम्पराअनुसार दशैंमा सेतो टीका पाँच ठाउँमा लगाइन्छ’, उनले भने, ‘अहिले सबैले अन्य समुदायको जस्तो रातो टीका लगाउन थालिसके ।’दशैंको पहिलो दिन घटस्थापनालाई ‘जिउरा ढर्ना’ दिन भनिन्छ । यस दिन बिहानै घरमूलीले पवित्र भएर रातोे माटो ल्याएर देउथान ९देवता राख्ने ठाउँ० मा मकैको जमरा राख्छन् । कसैले दोस्रो दिन जमरा राख्छन् । जमरा राखेदेखि नै गाउँका सबैजना भलमन्साको आँगनमा भेला भएर रातभर सखिया नाच्ने गर्दछन् ।

तेस्रो दिन टेरो कुल थरका थारूहरूले पितृलाई विधिपूर्वक पूजा गर्छन् भने पञ्चमीको दिन दहित कुल थर भएका थारू समुदायले पितृपूजा गर्ने प्रचलन छ । उसलाई थारू भाषामा ‘सराढक’ दिन भनिन्छ । यो दिन महत्वपूर्ण दिन मानिन्छ । त्यसैगरी षष्ठी र सप्तमीमा चेलीबेटीहरूलाई निम्ता गर्ने, लुगाफाटा धुने, माछा मार्ने, तरकारीको जोहो गर्ने गरिन्छ । ‘सुकेको माछा र घरमा बनेको रक्सी बिना पितृपूजा अधुरै हुन्छ, मदिरा र माछा अनिवार्य हो’, स्थानीयवासी देवी चौधरीले भनिन्, ‘मदिरालाई प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।’

महाअष्टमीको दिन विशेषतः ढिकुरी रोटी पुजिन्छ । यस दिनलाई थारू भाषामा ‘ढिक्रहवक’ दिन भनिने उनले बताइन् । चौधरीका अनुसार यस दिन सुँगुरको मार हान्ने प्रचलन छ । दिनभरि ढिकुरी बनाइन्छ । साँझपख गाउँको भलमन्साको आँगनमा गाउँका सबै भेला भएर सखिया नाचिन्छ ।यो समुदायमा नवमीको दिन अझ महत्वपूर्ण दिन हो । यस दिनलाई थारू भाषामा ‘मुर्गैहवक’ भनिन्छ । पितृपूजा गर्दा भालेको बलि दिने भएकाले मुर्गेहवक दिन भनिएको जानकारहरू बताउँछन् । कुलअनुसार मुर्गाको संख्या घटीबढी हुने गर्दछ । बिहानै कुखुरा बासेपछि कुभिण्डाको भेडा छप्काइन्छ । बिहान कुखुराको बलि दिइन्छ । कुखुराको मासु, माछा, कुभिण्डो, रायोको साग र मदिरा पितृपुजनमा अनिवार्य खाना हुन् ।

‘कसैले चारवटा कुखुराको बलि दिन्छन्, कसैले सातवटाको बलि दिन्छन’, स्थानीयवासी सीता चौधरीले भनिन्, ‘विशेषगरी यो दिन पितृहरूको पूजा गरिन्छ ।’ पूजा गरिएको सामग्री, टपरी, पात र अन्य फोहर सबै बढारेर नजिकको नदी, खोला वा तलाउमा छोड्ने गरेको उनले बताइन् । यसलाई थारू भाषामा ‘पिट्टर पुहैना’ भनिने उनले बताइन् । यस दिन गाउँभरिका महिलाहरू परम्परागत पहिरनमा सजिएर ढकियामा खानपिन, रक्सीसहित पिट्टर पठाउन निस्कने प्रचलन रहेको चौधरीले बताइन् ।

दशमीका दिन घरमा पूजा गरेको जमरा र प्रसाद लगेर गाउँका भलमन्सा पुजारीलगायत ठूलाबडाको घरमा गएर आशीर्वाद लिने शिक्षिका सरिता चौधरीले बताइन् । ‘मान्यजनको घरमा टीका लगाउन पनि जान्छन्, टीका थाप्न पनि जान्छन्’, उनले भनिन्, ‘टीकाको दिन मान्यजन, इष्टमित्र सबै बसेर खाने र सखिया नाच्ने गर्छन् ।’ उनले कसैले पञ्च अन्न वा तीनवटा अन्नको जमरा राख्ने चलन भए पनि पछिल्लो समय यो लोप हुँदै गएको बताइन् ।उनका अनुसार यो समुदायमा विशेषगरी जौ, गहुँ र मकैको जमरा राख्ने गरिन्छ । घरघरमा पारिवारिक टीका दिनभर चल्छ । गाउँमा नाचगान चल्दछ, यसरी थारू समुदायको दशैं सकिने उनले बताइन् ।

दशैंको दशौँ दिन अर्थात आज दुर्गा भगवानले महिषासुरलाई वध गरेको तिथिलाई विजयादशमी भनिएता पनि थारूहरूले महाभारत महाकाव्यमा आधारित गीत गाएर दशैं मनाउने गर्दछन् । अन्य समुदायमा शक्तिपूजाको पर्वका रूपमा पुजिए पनि थारू समुदायमा दशैं विशेषतः पितृपूजाको पर्वका रूपमा स्थापित छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved