किन कर्णालीका दलितले पाउँदैनन् विजयादशमीका दिन टीका र जमरा लगाउन ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 05, 2022 | 08:52:27 PM मा प्रकाशित

laxmi  sunrise bank

कालिकोट महाबै गाउँपालिका-२, ओदाका भक्तबहादुर परियारले दशैँको दिन आफ्नो घरमा बसेर टीका जमरा नलगाएको ६० वर्ष भयो। टीकाको दिन बाजा बजाउन प्रत्येक लगीका (जसका कपडा सिलाउँछन्) घरमा अनिवार्य रूपमा जानु पर्ने भएकोले उनी घरमा टीका लगाउन र परिवारसँगै बसेर रमाइलो गर्न भ्याउँदैनन्।

दशैँको दिन बाजा बजाउन २-३ जना जाने भएकोले घरमा बस्नेहरू पनि टीकाविना खाली निधार बस्छन्। तर लगीका घरघरमा जानेहरूले भने उतै टीका जमरा लगाएर रमाइलो गर्छन्।

सधैँ बासी दशैँ

भक्तबहादुर भन्छन्, "दशैँको दिन प्रत्येक लगीको घरमा बाजा बजाउनुपर्छ। त्यसैले घरमा भने सधैँ भोलिपल्ट बासी दशैँ मनाउनु पर्छ।"

कालिकोटका कतिपय ठाउँमा उनीहरूले आएर बाजा बजाएरपछि मात्रै दशैँको टीका जमरा लगाउने चलन छ। पुर्खादेखि चल्दै आएको यही चलनले गर्दा दशैँको दिन आफ्नो घरमा टीका जमरा लगाउन नपाएको ओदाका दलित समुदाय बताउँछन्।

भक्तबहादुरजस्तै महाबै गाउँपालिकाका झन्डै डेढसय घरपरिवार दलित समुदाय आफूहरूले भोलिपल्ट दशैँ मनाउने गरेको बताउँछन्।कालिकोटको ओदासहित गेला, कुनी, राम्नीलगायतका गाउँका दलित समुदायले वर्षौँ पहिलेदेखि दशैँको भोलिपल्ट मात्र टीका लगाएर चाड मनाउँदै आएका छन्।

बाजा नबजाएसम्म विषेशगरी देउताका धामी, गाउँका भद्रभलादमी र अन्यको घरमा दशैँको टीका सुरु हुँदैन। उनीहरू सबै एकै ठाउँमा भेला भएर दशैँ मनाउँछन्। दशैँको दिन दलित समुदाय विहान ६-७ बजेतिर निस्केर दिनभरी बाजा बजाएर साँझ ७-८ बजेतिर मात्र घर फर्कन्छन्।

उनीहरूले दमाहा, झ्याली, ट्याम्को, ढोल, सहनाईजस्ता बाजाहरू बजाउँछन्।तर एकादशीको दिन भने सबै आफन्तहरू एकै ठाउँमा जम्मा भएर टीका जमरा लगाउने र खानपान गरेर रमाइलोसँग दशैँ मनाउँछन्। बाजा बजाए बापत लगीहरूले आफ्नो गच्छे अनुसार पैसा, दाल चामल र मासु दिन्छन् ।

संस्कारलाई निरन्तरता

ओदाकै देउरुपा कामी भन्छिन्, "दशैँको दिन मात्रै लगीहरूले दिएको ४-५ हजार रुपैयाँ, ४०-५० किलो दालचामल र २०-२५ किलो मासु हुन्छ, त्यसैले दशैँ मनाउँछौँ।"

रहर र बाध्यताले नभइ पहिलेदेखि चल्दै आएको संस्कारलाई आफुहरूले निरन्तरता मात्र दिएको दलित समुदाय बताउँछन्।

"रमाइलो हुन्छ। खिन्नता हुँदैन," उनीहरू भन्छन, "दशैँको दिन बाजा लिएर घरमा नगए लगीहरूले चित्त दुखाउँछन्। किन नआएको कतै दुखीबिरामी परेर त हैन नि भनेर सोधीखोजी गर्छन्।"

बाजा बजाउने, मार हान्ने (खसी काट्ने) र बन्दुक पड्काएर हर्ष बढाईँ गरेर दशैँ मनाउने प्रचलन कालिकोटमा मात्र होइन कर्णालीका अरू ठाउँमा वर्षौँदेखि चल्दै आएको पाइन्छ।

डिल्लीकोटका केशरबहादुर सिंहकाअनुसार गाउँलेले पनि खसीबोका काट्दा आफ्ना कपडा सिलाउने र फलामका औजार तथा भाँडाकुँडा बनाउने दलित समुदायलाई अनिवार्य रूपमा भाग छुट्याउँछन्।

उनले भने, "दशैँ तिहारजस्ता चाडपर्वमा प्रत्येकले मासु, चिल्ला रोटी र दाल चामल दिन्छन्। अघिपछि पनि अप्ठ्यारो पर्दा सघाउँछन्। सहयोग लिने दिने हुन्छ।"

लगीहरू किनबेच

सिलाईकटाई गर्ने र फलामका भाँडाकुँडा बनाउनेलाई गाउँलेले याम अनुसार धान, मकै, गहुँ कोदोजस्ता अनाज दिन्छन्। कतिपय परिवारलाई लगीहरूले दिएकै अनाजले वर्षभरी खान पुग्छ भने धेरैजसो परिवारले ऋण सापटबाट बाँकी महिना धान्ने गरेको बताउँछन्।

देउरुपा विक भन्छिन्, "लगीले दिने अनाजले वर्षभरी खान पुग्दैन। ऋण सापट र कालापार गरेर कमाइ नगरेसम्म वर्षभरि खान पुग्दैन।"

एकजनाका कम्तीमा पनि ५० देखि १५० सम्म लगी हुन्छन्। भाइहरू छुटिएपछि लगीहरू पनि बाँडिन्छन्। लगीहरू बढे भने आफ्नो सम्पत्ति थपिएको उनीहरू ठान्छन्।उनीहरूले लगीहरूको कपडा सिलाउने, फलामका भाँडाकुँडा र जोत्नको लागि हलो बनाइदिने र काममा पनि सघाउँछन्। कतिपयले कहिलेकाहीँ लगीहरू किनबेच पनि गर्छन्।

काम गर्ने व्यक्तिको मृत्यु भयो र बालबालिका साना छन् भने त्यस्ताले निश्चित रकम लिएर निश्चित समयसम्म आफ्ना लगी अरूलाई दिन्छन्। काम गर्नसक्ने भएपछि भने आफ्ना लगी फिर्ता ल्याउँछन्। -बिबिसिबाट

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved