
पोखराको न्युरोडस्थित केन्द्रीय कार्यालय रहेको पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा अघि बढ्ने भएको छ। फाइनान्सले आफ्ना ग्राहकलाई थप स्तरीय वित्तीय सेवा उपलब्ध गराउने र सेयरधनीलाई उच्च प्रतिफल दिने उद्देश्यले मुलुकको एक अग्रणी वाणिज्य बैंकसँग मर्जको तयारी गरेको हो।
फाइनान्सका एक उच्च अधिकारीका अनुसार, संस्थाले वाणिज्य बैंकसँग मर्जको प्रारम्भिक छलफल अगाडि बढाइसकेको छ। तर कुन बैंकसँग मर्जमा जाने भन्ने विषय खुलाइएको छैन।
२०५३ सालदेखि सञ्चालनमा रहेको पोखरा फाइनान्स लिमिटेड पोखरा क्षेत्रमा स्थापित तथा पुरानो वित्तीय संस्थाका रूपमा परिचित छ। हाल यस संस्थाले कास्की, चितवन, गोरखा, स्याङ्जा, नवलपरासी, तनहुँ, लमजुङ, काठमाण्डौं, ललितपुर, रुपन्देही र बाँकेसहित २५ शाखा कार्यालयहरूमार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
संस्थाको हालको चुक्तापूँजी १ अर्ब ८ करोड, निक्षेप ११ अर्ब, र कर्जा ८ अर्बभन्दा माथि रहेको जानकारी छ। मर्जपछि यसले ग्राहकलाई थप सुविधा र सेवा विस्तार गर्ने अपेक्षा गरिएको छ।
पोखरा फाइनान्सको यो निर्णयले स्थानीय आर्थिक विकासमा टेवा पुर्याउनुका साथै ग्राहक र सेयरधनीका लागि नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास गरिएको छ।