नागरिक लगानी कोषले ७ बुँदे भावी योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । कोषले वार्षिक प्रतिवेदन ७७/७८ सार्वजनिक गर्दै भावी योजना तथा कार्यक्रमबारे जानकारी दिएको हो ।
यस्ता छन् कोषका भावी योजना तथा कार्यक्रमः
नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेका काम, कर्तव्य र अधिकारको उचित प्रयोगबाट संस्थालाई प्रभावकारी ढंगबाट अगाडी बढाउँदै सहभागी तथा शेयरधनीहरुलाई अधिकतम प्रतिफल तथा गुणस्तरीय सेवा उपलब्ध गराउन निम्नानुसारको भावी योजना तथा कार्यक्रम तर्जुमा गरी कार्यान्वयनमा ल्याईएको छ ।
१. बचत संकलनको क्षेत्र विस्तारः
कोषको सामाजिक सुरक्षाको क्षेत्रमा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणहरुलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवद्र्धन गर्दै लैजाने योजना रहेको छ । हालसम्म यस योजना प्रति सर्वसाधारणको आकर्षण राम्रो देखिएता पनि कोभिड माहामारीका कारण अपेक्षाकृत रुपमा प्रवद्र्धनात्मक कार्यहरु हुन सकेको छैन । सामाजिक सुरक्षणका कार्यक्रमको दायरालाई थप फराकिलो बनाउनका लागि कोषले स्वरोजगारमा रहेका पेशा, व्यवसायी तथा कृषकहरुलाई पनि यस कार्यक्रममा आवद्ध गर्ने योजनाका साथ कार्यक्रम अगाडी बढाईएको छ ।
२. लगानीको क्षेत्र तथा दायरा विस्तारः
नेपाल सरकारका विभिन्न परियोजनाहरुमा कोषले लगानी गर्ने तथा कोषले सहभागीहरुलाई प्रदान गर्दै आएको आवाश कर्जालाई शाखा कार्यालयहरुबाट पनि प्रदान गर्ने गरी क्षेत्र विस्तार गरिएको छ ।
३. पुँजी बजार सेवा विस्तारः
पुँजी बजारका क्षेत्रमा देखिएको अप्रत्यासित उतार चढावलाई स्थिरता दिई पुँजी बजारमा कोषको भूमिका स्थापित गर्न कोषले आफ्नो सहायक कम्पनी स्थापना गरी कार्य अगाडी बढाइसकेको छ । पुँजीबजारका विभिन्न औजारलाई थप प्रभावकारी बनाउनका लागि बन्दमुखी सामूहिक कोष सञ्चालन गर्ने योजना रहेको छ ।
४. मानव संसाधन विकासः
कोषको कार्य प्रकृतिको आधारमा सक्षम कर्मचारी व्यवस्थापन गर्न दीर्घकालिन लक्ष्य राखी जनशक्ति योजना तयार गरिने छ । कोषका कर्मचारीहरुलाई कोषले गर्ने कार्यहरुमा सक्षमता तथा प्रभावकारिताका साथ सम्पन्न गर्न कार्यक्षमता अभिबृद्धिको लागि आवश्यकता अनुसार स्वदेश तथा विदेशमा तालीम दिने व्यवस्था मिलाइने छ । कोषको कार्य प्रकृतिसँग मिल्ने कोषको संगठन तथा व्यवस्थापन (O & M) सर्भे अध्ययन भई तयार भएको प्रतिवेदन स्वीकृत भए अनुसार मानव संसाधन विकासका कार्यहरु गरिने छ ।
५. सूचना प्रविधिको विकासः
कोषले कार्यान्वयनमा ल्याएको NLK Web Based Software पूर्ण रुपमा लागू भएको छ । सम्पूर्ण सहभागीहरुको KYC अद्यावधिक गरी कोषको संकलन तथा भुक्तानी प्रणालीलाई e-payment द्वारा व्यवस्थित गर्ने दिशातर्फ कोष अगाडी बढिरहेको छ । कोषबाट भुक्तानी लिने सम्पूर्ण सहभागीहरुलाई online प्रणाली मार्फत नीजहरु कै बैंक खातामा रकम पठाउने व्यवस्थाको पूर्ण कार्यान्वयनमा आइसकेको छ । चालु आर्थिक बर्षमा सहभागीहरुको खातामा कट्टी रकम जम्मा हुँदा SMS Alert प्रणालीद्वारा सूचना दिईने व्यवस्था मिलाईनेछ ।
६. शाखा कार्यालयहरुको सुदृढीकरण एवं सेवा विस्तारः
कोषले हालै सुदुर पश्चिम प्रदेशमा शाखा कार्यालय सञ्चालन गरिसकेको छ । शाखा खोल्न बाँकी रहेका मधेश प्रदेश र कर्णाली प्रदेशमा अध्ययन गरी छिट्टै शाखा कार्यालय सञ्चालन गरिने छ ।
७. सामाजिक उत्तरदायित्वः
कोषले सामाजिक उत्तरदायित्व प्रति सजग हुँदै विगतदेखि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेकोमा आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ ।
साभार: नागरिक लगानी कोषको वार्षिक प्रतिवेदन ७७/७८