
निक्षेप तथा कर्जा सुरक्षण कोषले कोषको लागि उपयुक्त नारा सिफारिस गर्न सार्वजनिक सूचना जारी गरेको छ । कोषको नारा सिफारिस समितिले निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रतिविम्ब झल्काउन एउटा नारा तय गर्नुपर्ने भएकोले इच्छुक व्यक्ति वा संस्थालाई सूचना प्रकाशित भएको मितिले १२ दिनभित्र अर्थात् भाद्र २६ गतेसम्ममा उपयुक्त नारा पेश गर्न आह्वान गरेको हो ।
नारा कोषको उद्देश्य, कार्यप्रकृति, योगदान, गन्तव्य जस्ता विषय परिचित्रण गरिएको र मौलिक हुनुपर्ने कोषले जनाएको छ । त्यस्तै नारा एक पङ्क्ति वा दुई पङ्क्तिमा रहने गरी कम्तीमा दुई शब्द र बढीमा दश शब्दको हुनु पर्ने कोषले उल्लेख गरेको छ । एक अर्थयुक्त नारा भएमा कम शब्द भएको वा लयबद्ध भएकोलाई प्राथमिकता दिइने कोषले जनाएको छ । एक व्यक्ति वा संस्थाले तीन वटासम्म नारा पठाउन सक्ने छ र प्रस्तावित नारा पठाउँदा सर्जक (व्यक्ति वा संस्था) को नाम, ठेगाना, इमेल र फोन नं. उल्लेख गरी कोषको फेसबुक पेज वा इमेल ठेगानामा सोझै वा लिखित रूपमा खामबन्दी गरी निक्षेप तथा कर्जा सरक्षण कोष, नारा सिफारिस समिति, टंगाल, काठमाडौंमा पठाउन सकिने कोषले जनाएको छ ।
पेस भएका नारामा सामान्य सम्पादनको अधिकार र प्राप्त सम्पूर्ण नाराको सर्वाधिकार कोषमा रहने पनि कोषले प्रष्ट पारेको छ| उत्कष्ट घोषित नाराको स्रष्टा एकजनालाई रू.५० हजार पुरस्कारको व्यवस्था गरिएको कोषले जनाएको छ ।