नबिल स्टक डिलर लिमिटेडले ग्लोबल मनि वीक २०२५ को सन्दर्भमा सञ्चालन गरेको Investor Education and Awareness Program सफलतापूर्वक सम्पन्न भएको जनाएको छ। युवा पुस्तालाई वित्तीय स्वतन्त्रता प्राप्त गर्न मार्गदर्शन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमले नेपालमा वित्तीय साक्षरताको अभियानलाई थप गति दिएको छ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) को सहकार्यमा चैत ४ देखि १० गतेसम्म देशका विभिन्न स्थानमा कार्यक्रम सम्पन्न गरिएको थियो। नबिल स्टक डिलरले गण्डकी प्रदेशको वालिङ स्याङ्जास्थित नेपाल आदर्श क्याम्पस, लुम्बिनी प्रदेशको पाल्पाको तानसेन मल्टिपल क्याम्पस, काजिमुवा र पाल्पा आवासीय माध्यमिक विद्यालयमा कार्यक्रम सञ्चालन गरेको हो। तीनवटै स्थानमा गरी २०० भन्दा बढी विद्यार्थीले लगानी, शेयर बजार, वित्तीय निर्णय र पूँजी बजारसम्बन्धी सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गरे।
त्यस्तै, नबिल स्टक डिलरले एक्सेल बिजनेस कलेज, नयाँ बानेश्वरसँग सहकार्य गरी ‘Stock Dealer Visit Program’ पनि सञ्चालन गरेको थियो, जहाँ विद्यार्थीहरूले स्टक डिलरको भूमिका, कार्यप्रणाली र बजार सन्दर्भबारे प्रत्यक्ष जानकारी लिएका थिए।
नबिल स्टक डिलर लिमिटेड, नबिल बैंकको पूर्ण स्वामित्वमा रहेको कम्पनी हो, जसले ब्रोकर नं. ७७ बाट सञ्चालन गर्दै आएको छ। कम्पनी देशकै एक प्रमुख स्टक डिलर, मार्केट मेकर र ब्रोकर कम्पनीका रूपमा परिचित छ। यसले ब्रोकर सेवा, पोर्टफोलियो व्यवस्थापन (PMS), मर्जिन ट्रेडिङ, र डिपोजिटरी पार्टिसिपेन्ट सेवा प्रदान गर्दै आएको छ।
कम्पनीका अनुसार, कार्यक्रममार्फत करिब ६५० भन्दा बढी विद्यार्थी र सहभागीहरूले वित्तीय निर्णय क्षमतामा सशक्तीकरण पाएका छन्। यद्यपि विशेषज्ञहरू भन्छन्, यस्ता एकपटकका कार्यक्रम मात्रले स्थायी प्रभाव पार्न गाह्रो हुन्छ र दीर्घकालीन रणनीतिका साथ वित्तीय साक्षरताको अभियान अझै बढाउनुपर्ने आवश्यकता छ।