व्यक्तिगत स्थायी लेखा नम्बर अनलाइन रजिष्ट्रेशन कसरी गर्ने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 03, 2019 | 10:56:51 AM मा प्रकाशित

laxmi  sunrise bank

नयाँ आर्थिक वर्षसँगै साउन १ गतेदेखि हरेक व्यक्तिलाई पनि प्यान अनिवार्य बनेको छ।  स्थायी लेखा नम्बर जसलाई अंग्रेजीमा ‘प्यान’ नम्बरले पनि चिनिन्छ, यो नहुँदा अबदेखि कुनै पनि फर्म तथा निकायले प्यानबिना तलब दिन पाउने छैनन् भने काम गर्नेले पनि तलब समेत खान नपाउने हुनसक्छ ।

प्यान लिनु पूर्व कुनै पनि सरकारी कार्यालय, कम्पनी वा फर्ममा काम गर्ने व्यक्तिको बैंक खाता पनि अनिवार्य खोल्नु पर्ने हुन्छ ।व्यक्तिसँग गरिने श्रमबापत्का हरेक तलबी काम बैंक खाता मार्फत भुक्तानी हुनु पर्ने छ ।

स्थायी लेखा नम्बर (प्यान) नभएको १ हजार रुपियाँभन्दा माथिको मूल्यको बिजक बापतको खर्च कट्टा गर्न नपाउने व्यवस्था बजेटले गरेपछि यो अनिवार्य बन्न पुगेको हो । नयाँ व्यवस्थाअनुसार १ हजारभन्दा कम पारिश्रमिक भएको खण्डमा मात्रै नगदमा भुक्तानी हुनेछ।

पर्सनल प्यान कसरी लिने?

नेपाल सरकारले आ.व. 2076/077 देखि नियमित तलब, सुविधा लिने सम्पूर्णलाई व्यक्तिले अनिवार्य रुपमा व्यक्तिगत स्थायी लेखा नम्बर (Personal-PAN)  लिनुपर्ने व्यवस्था गरेको छ । स्थायी लेखा नम्बर अनलाईन रजिष्ट्रेसन गर्दा कार्यालयमा पुगेर लाईन लाग्नुपर्ने समय बचत हुनुका साथै अरु व्यावहारिक झन्झटबाट मुक्ति मिल्छ । आन्तरिक राजस्व विभागको अनलाईन पोर्टलबाट व्यक्तिगत स्थायी लेखा नम्बरको लागि अनलाईन फर्म भर्न सकिन्छ । अनलाईन फाराम भरिसकेपछि सब्मिसन नम्बर (फर्म भर्ने क्रममा अनलाईन सिस्टमबाट प्राप्त हुने नम्बर) सम्बन्धित कार्यालयबाट भेरिफाई गराई Personal-PAN कार्ड प्राप्त गर्न सकिन्छ ।

कुन कार्यालयबाट लिने?

हाल आन्तरिक राजस्व विभाग अन्तर्गत देशभर ४० वटा आन्तरिक राजस्व कार्यलय (IRO) र १९ वटा करदाता सेवा कार्यालय (TSO) रहेका छन् । ती कार्यालयहरुले आफ्नो कार्यक्षेत्रभित्र स्थायी ठेगाना भएको परिचयपत्र वा आफ्नो कार्यक्षेत्रभित्र कार्यरत व्यक्तिको हकमा निज कार्यरत कार्यालयको सिफारिसको आधारमा व्यक्तिगत स्थायी लेखा नम्बर जारी गर्दछन् ।

आवश्यक कागजात

Personal-PAN का लागि अनलाईन आवेदन गर्दा नेपाली नागरिकले आफ्नो पासपोर्ट साइजको फोटो र नागरिकता प्रमाण पत्रको दुवैतिरको भाग Scan गरी सिस्टममा अपलोड गर्नुपर्छ ।

विदेशी नेपाली नागरिकको हकमा पासपोर्ट साइजको फोटो, निज कार्यरत कार्यालयको सिफारिस, विदेशी भनी चिनिने प्रमाणित कागजात Scan गरी सिस्टममा अपलोड गर्नुपर्छ ।

फर्म कसरी भर्ने?

आन्तरिक राजस्व विभागको वेबसाइट (आइआरडी डट जीओभी डट एनपी ird.gov.np) खोल्ने । त्यसमा रहेको ट्याक्सपेयर पोर्टल (Tax-Payer Portal) क्लिक गरेपछि खुल्ने पेजको दायाँतिर Registration अप्सन देखिन्छ ।

रजिष्ट्रेसन अप्सन अन्तर्गत देखिने दुईवटा अप्सनमध्ये Application For Registration क्लिक गर्ने । यसपछि सब्मिसन नम्बर लिने फर्म देखिन्छ । त्यसमा युजरनेम, पासवर्ड, सम्पर्क नम्बर, इमेल आईडी भर्ने ।

Registration for अन्तर्गत देखिने अप्सनमध्ये Personal PAN छान्ने ।

Verifying Offices मध्ये आफुले स्थायी लेखा नम्बर लिने आन्तरिक राजस्व कार्यालय (IRO/LTO) अथवा करदाता सेवा कार्यालय (TSO) रोजेर लिस्टबाट यौटा छान्ने ।

सबै विवरण भरिसकेपछि OK बटन क्लिक गरी अगाडि बढ्ने ।

नयाँ पेजमा सब्मिसन नम्बर देखिन्छ ।(यो नम्बर प्यान कार्डको लागि भरेको विवरण भेरिफाई गर्न आवश्यक पर्दछ) सब्मिसन नम्बर भन्दा तलपट्टि Continue बटन देखिन्छ । त्यसमा क्लिक गरेपछि व्यक्तिगत विवरण भर्ने फर्म खुल्छ ।

फोटो अपलोड गरी व्यक्तिगत विवरण भर्ने । नागरिकता वा पासपोर्ट अपलोड गर्नका अपलोड बटन क्लिक गर्ने । (स्थायी र अस्थायी ठेगाना उल्लेख गर्ने स्थानमा हालको गाउँपालिका तथा नगरपालिकाको सूची दिइएको छ)

सम्पूर्ण विवरण भरिसकेपछि अन्त्यमा Save गरी Submit गर्ने । प्रिन्ट अप्सनको सहायताले फर्म प्रिन्ट गर्न सकिन्छ । फर्म प्रिन्ट गरेर हार्ड कपी वा सब्मिसन नम्बर लिएर सम्बन्धित कार्यालयमा गई भेरिफाई गरिसकेपछि प्यान कार्ड प्राप्त गर्न सकिन्छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved