के तपाईंले बैंक खाताबाट पैसा झिक्न नमिल्ने भएको छ ? यस्तो अवस्थामा बैंकमा
जिज्ञासा राख्दा आउँन सक्ने एउटा जवाफ हो 'तपाईंको ग्राहक पहिचान Know Your Customer (KYC) फाराम अपडेट छैन । अपडेट
गर्नुहोला ! त्यसपछि तपाईं बैंकमा गएर केवाईसी फाराम भरेपछि मात्रै खाता एक्टिभ हुन्छ
।'
केवाईसी बैंक तथा वित्तीय संस्थाले ग्राहक पहिचानका लागि प्रयोग गर्ने फाराम
हो । यसमा आफ्नो ग्राहकको व्यक्तिगत परिचय, पेशा, बसोबास आदि विवरण उल्लेख
गर्नुपर्दछ । ग्राहक पहिचान फाराम प्रयोग गर्नुको उदेश्य ग्राहक र संस्थाबीचको सम्बन्ध
सुमधुर बनाउनु हो । यसले बैंकको जोखिम कम गर्नुका साथै ग्राहकलाई गैरकानुनी कार्य गर्न
निरुत्साहित गर्दछ । यो फाराम प्रयोग गर्नुको उदेश्य सम्पत्ति शुद्धिकरण नियन्त्रण
गर्नुपनि हो ।
केवाईसी फाराम विश्वभर प्रयोग हुने गर्दछ । खासगरी बैंक तथा वित्तीय
संस्थाहरुमा प्रयोग हुँदै आएको यस्तो फाराम हिजोआज अन्य क्षेत्रमा समेत निकै
लोकप्रिय र प्रचलित छ ।
मूलतः संस्था र ग्राहकबीचको सम्बन्ध राम्रो बनाउने तथा जोखिम र गैरकानुनी
क्रियाकलाप नियन्त्रण गर्न सघाउने भएकाले ग्राहक पहिचान फाराम निकै उपयोगी माध्यम
हो । यो फाराम नभरेको वा अपडेट नभएको खण्डमा संस्थाले दिने सेवा, सुविधा र कारोबारमा
असुविधा हुनुका साथै सेवा अवरुद्धसमेत हुनसक्छ ।
केवाईसी फारामको प्रयोग मूलतः यी चारवटा विषयसँग सम्बन्धित छ ।
ग्राहकको समर्थन वा स्वीकृति
यो फारामको माध्यमबाट सम्बन्धित संस्थाको नीति, नियमहरुमा ग्राहकको समर्थन सुनिश्चित
हुन्छ । आफ्ना ग्राहकहरुबाट सेवाप्रति स्वीकृति प्राप्त गर्न यसको प्रयोग गरिन्छ ।
ग्राहक पहिचान
सम्बन्धित संस्थाले आफ्नो ग्राहकको व्यक्तिगत विवरण, बसोबास, पेशा आदिको
बारेमा जानकारी हासिल गर्नु यो फाराम प्रयोगको उदेश्य हो । यसबाट ग्राहक पहिचान
गर्न सहज हुन्छ ।
कारोबारको अनुगमन र वैधता
ग्राहकले कम्पनीमार्फत गर्ने कारोबारलाई वैधता दिने कार्य केवाईसी फारामले
गर्दछ । साथै कारोबारको अनुगमन गर्न मदत पुग्दछ ।
जोखिम व्यवस्थापन
ग्राहकले गैरकानुनी र शंकास्पद गतिविधि गरेको खण्डमा पहिचान गर्न सजिलो हुने भएकाले यो फारामको प्रयोगमार्फत कारोबारमा हुने जोखिमको व्यवस्थापन गर्दै जोखिम कम गर्नसमेत सहयोग पुग्छ ।