प्यान र भ्याटमा दर्ता भएका करदाता बायोमेट्रिक प्रणालीमा कसरी आवद्द हुने ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 02, 2021 | 02:34:56 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कर प्रशासनलाई पारदर्शी बनाउन बायोमेट्रिक प्रणाली सुरु गरेको छ । यस संगै आन्तरिक राजश्व विभागले अनिवार्य रुपमा बायोमेट्रिक प्रणाली अद्यावधिक गर्न करदातालाई आग्रह गर्दै आएको छ । 

सरकारले चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममा नै करदाता विवरणलाई बायोमेट्रिक प्रणालीमा अद्यावधिक गर्ने उल्लेख गरेको थियो । बजेटमा नै उल्लेख भए अनुसार सरकारले चालु आर्थक वर्षभित्र भ्याटमा दर्ता भएका सबै करदाताको बायोमेट्रिक विवरण अद्यावधिक गरिसक्ने जनाएको छ । सोही अनुसार ६ महिनाको अबधिमा ६१ हजारभन्दा बढी करदाताले उक्त विवरण अद्यावधिक समेत गरिसकेका छन् । 

तर अझै पनि धेरै करदातालाई यस बारेमा पर्याप्त जानकारी नभएको पाईएको छ।  यहाँ हामीले करमा बायोमेट्रिक प्रणाली किन अहिलो बाट अनिवार्य गरियो? बायोमेट्रिक प्रणाली अद्यावधिक गर्दा कर दातालाई के फाइदा हुन्छ ? कसरी गर्ने अद्यावधिक ? विवरण अद्यावधिक नगरे के हुन्छ लगायतका विषय प्रष्ट पार्न खोजिएको छ । 

 पछिल्लो समय भ्याटमा दर्ता हुने तर विवरण अद्यावधिक नगर्ने, ठूला व्यवसायीक घरानाका व्यवसायीहरुले भ्याट छल्ने, कामदार तथा सामान्य व्यक्तिको नाममा फर्म दर्ता गर्ने लगायतका अनाधिकृत गतिविधिहरु बढ्न थालेपछि बायोमेट्रिक विवरणलाई अनिवार्य गरिएको आन्तरिक राजश्व विभागका सूचना अधिकारी अर्जुन ढकाल बताउँछन् । 

‘पछिल्लो समय धेरै फर्म भ्याटमा दर्ता हुने र छोड्ने चलन जस्तै भयो । हामीलाई आवश्यक पर्दा धेरै फर्मका सञ्चालकको मोबाइल नम्बर, ठेगाना अद्यावधिक नहुँदा करदातासँग सम्पर्क हुन सकेन’, उनले भने, ‘सम्पर्क नै हुन नसकेपछि भ्याटमा दर्ता भएका पूराना करदाताको विवरण अद्यावधिक गरेर बायोमेट्रिक प्रणलीमा दर्ता सुरु गरेका हौँ ।’

उनका अनुसार अबदेखि स्थायी लेखा नम्बर लिई कारोबार गर्दै आएका उद्योगी तथा व्यवसायीले राजस्व विभागले तोके बमोजिमको दर्ता सम्बन्धी विवरण बायोमेट्रिक प्रणालीमा अद्यावधिक गर्नुपर्छ । बायोमेट्रिक प्रणाली भनेको करदाताको आँखा, अनुहार, हात आदीको डिजिटल विवरण संकलन गर्ने आधुनिक प्रणाली हो ।

बायोमेट्रिक प्रणाली कार्यान्वयनमा आएपछि करदाताको विद्युतीय हस्ताक्षर विभागले संकलन गर्नेछ । यसले करदातालाई ट्रयाक गर्न सहज हुनेछ । कुनै करदाताले गल्ती गरे उसमाथि तत्काल कारबाहीको प्रक्रिया अघि बढाउन सहज हुन्छ । 

विभागले करदातालाई बायोमेट्रिक प्रणालीमा अद्यावधिक गर्न समस्या नहुने जनाएको छ । विभागले दिएको ढाँचाको फारम भरेर नजिकको राजश्व कार्यालयमा बुझाउँन सकिने ढकाल बताउँछन् । विभागले तयार पारेको फारमका आधारमा अद्यावधिक भएको बायोमेट्रिक विवरणका आधारमा वास्तविक करदाताको पहिचान हुनेछ । 

यसैगरी करदाताको मृत्यु भएमा सम्बन्धीत विभाग (फर्म दर्ता गरिएको कार्यालय) बाट फर्मको नामसारी लिएर राजश्व विभागमा जानुपर्छ । नामसारिको पत्रका आधारमा राजश्व विभागले दिएको नयाँ प्यान नम्बर सहित बायोमेट्रिक प्रणाली अद्यावधिक गर्नुपर्नेछ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved