नेपाल क्लियारिंङ हाउस लिमिटेड (एनसीएचएल) ले विद्युतीय भुक्तानी कारोबारको शुल्क घटाएको छ। कोभिड १९ का कारण गत असार मसान्तसम्म भुक्तानी कारोबार निशुल्क दिएको एनसीएचएलले साउन १ देखि घटाएर शुल्क लिने जनाएको छ।
एनसीएचएलले एनसीएचएल इसीसी मा १५ रुपैयाँसम्म, एनसिएचएल आइपीएस मा २ देखि १० रुपैयाँसम्म र कनेक्ट आइपीएसमा २ रुपैयाँदेखि १५ रुपैयाँ कायम हुने गरि शुल्क परिमार्जन गरेको जनाएको छ।
त्यसै गरी कनेक्ट आइपीएसमा सदस्य बैंक तथा वित्तीय संस्था एवं भुक्तानी सेवा प्रदायकले जोड्दै आएका क्रेडिटरहरुलाई लाग्ने शुल्कमा समेत परिमार्जन गरि ०.७५ प्रतिशत (न्युनतम २ र अधिकतम १००) रुपैयाँ बनाइएको एनसीएचएलले जनाएको छ। यद्यपी एनसीएचएलको एक्स्प्रेस र हाई भ्याल्यु क्लियरिङ्गको शुल्क यथावत राखिएको छ ।
एनसीएचएलले विद्युतीय चेक क्लियरिङ्ग, अन्तर्बैंक विद्युतीय भुक्तानी, कनेक्ट आइपीएस ई पेमेन्ट, कनेक्ट आरटिजीएस र राष्ट्रिय भुक्तानी प्रणाली लगायतकाभुक्तानी प्राणालीहरु सञ्चालन गरेर डिजिटल पेमेन्ट इकोसिस्टममा योगदान पुर्याउँदै आएको छ ।
३१ असार २०७७ सम्म लकडाउनको अन्तरालमा एनसीएचएलद्वारा जम्मा ५४ लाख २० हजार कारोबार गरिएको र सो बापत लाग्ने ५.२० करोड शुल्क नलिएको एनसीएचएलले जनाएको छ। परिवर्तन गरिएको कारोबार शुल्क एनसीएचएलको प्रत्यक्ष तथा अप्रत्यक्ष सदस्यहरु सबैलाई लागु हुनेछ ।