पछिल्लो समय अनलाइनको सहजता र प्रविधिको प्रयोगले नगदरहित कारोबार गर्नेको संख्यामा बृद्धि हुन थालेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ५ महिनाको तथ्यांक अनुसार इन्टरनेट तथा मोबाइल बैंकिङसहितका प्रविधिको प्रयोग गर्नेको संख्यामा बृद्धि भएको पाइएको हो ।
राष्ट्र बैंकले सार्वजनिक गरेको कात्तिक मसान्तसम्मको तथ्यांक अनुसार गत मंसिर महिनाको तुलनामा इन्टरनेट तथा मोबाईल बैंकिङ मार्फत ७ लाख बढी पटक प्रयोग भएको पाइएको हो ।
कात्तिक महिनामा इन्टरनेट बैंकिङ २ लाख २१ हजार ४०५ पटक प्रयोग गरीएको र मोबाईल बैंकिङ ७६ लाख ४३ हजार २९६ पटक गरी एक महिनामा ७८ लाख ६४ हजार ७०१ पटक प्रयोग भएको थियो । यसैगरी मंसिर महिनामा इन्टरनेटको प्रयोग २ लाख ४५ हजार २८६ पटक र मोबाईल बैंकिङ ८३ लाख ८६ हजार ४७० पटक प्रयोग गरी एक महिनामा ८६ लाख ३१ हजार ७५६ पटक प्रयोग भएको हो ।
कात्तिक महिनाको तुलनामा मंसिरमा ७ लाख ६७ हजार ५५ पटक उक्त बैंकिङ प्रणालीको प्रयोग भएको हो । कारोबार संख्या सगैँ रकममा समेत बृद्धि भएको छ । कात्तिक महिनामा मोबाइल बैंकिङमार्फत कुल २५ अर्ब ६५ करोड ४ लाख रुपैयाँको कारोबार भएकोमा मंसिर महिनामा ३० अर्ब २८ करोड ७ लाख कारोबार भएको छ ।
त्यस्तै इन्टरनेट बैंकिङमार्फत हुने कारोबार तथा प्रयोग पनि बढेको छ । कात्तिकमा इन्टरनेट बैंकिङमार्फत ५ अर्ब ४३ करोड ६० लाख रुपैयाँको कारोबार भएकोमा मंसिरमा ७ अर्ब २० करोड ६० लाख रुपैयाँ कारोबार भएको छ ।
घट्यो अनलाइन मार्फत हुने खरिद
इन्टरनेट तथा मोबाईल बैंकिक प्रयोग गर्नेको संख्यामा बृद्धि भएपनि कात्तिकको तुलनामा मंसिर महिनामा अनलाइनबाट खरिद गर्नेको संख्यामा कमी आएको छ ।
राष्ट्र बैंकको तथ्याकं अनुसार कात्तिकमा १ लाख १२ हजार ७ सय ६ पटक भुक्तानी भएकोमा मंसिरमा ४ हजारले कमी आएको छ । मंसिरमा १ लाख ८ हजार ४ सय ५९ पटक अनलाइन सामान खरिदका लागि भुक्तानी भएको छ ।
कारोबार संख्यासँगै कारोबार रकम पनि घटेको छ । कात्तिक महिनामा ८२ करोडभन्दा बढीको कारोबार भएकोमा मंसिरमा घटेर जम्मा ७६ करोड ३० लाखमात्रै कारोबार भएको छ ।