क्यान इन्फोटेक प्रर्दशनीमा प्रविधिप्रेमीको घुँइचो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 11, 2023 | 10:37:18 AM मा प्रकाशित

laxmi  sunrise bank

राजधानीमा माघ २४ देखि जारी ‘इन्फोडेभलपर्स क्यान इन्फोटेक २०२३’ मा प्रविधिप्रेमीहरुको घुँइचो लागेको छ । प्रर्दशनीको चौंथो दिन विद्यार्थी तथा युवा उमेर समूह र प्रविधिमा चासो राख्नेहरु इन्फोटेक अवलोकन गरेका छन् ।

आइतबारसम्म चल्ने इन्फोटेकमा सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवाप्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, डिजिटल भुक्तानी सेवा, ई–कमर्स, आईटी तालिम प्रदायक, विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल लगायतसँग सम्बन्धित स्टलहरुमा अवलोकनकर्ताको विशेष चासो देखिएको छ ।

त्यस्तै नेपाली उद्यमी एवं विद्यार्थीले विकास गरेका नवीनतम प्रविधिहरुले पनि अवलोकनकर्ताको ध्यान तानेका छन् । अन्य दिनमा कम अवलोकनकर्ता देखिने स्टलहरुमा पनि शुक्रबार अवलोकनकर्ताको निकै भिड देखिन्थ्यो । विशेषगरी नेपाली विद्यार्थीले तयार पारेका एप्लिकेसन र प्रोजेक्टहरुमा अवलोकनकर्ता बढी झुम्मिएका छन् ।

त्यस्तै विभिन्न स्टार्टअपहरु यार्सा टेक, ईट फिट, सजिलो मर्मत सेवा, मोनालटेक, भक्सक्रो, स्मार्ट हाजिर, बगभी, रमाइलो गेम्स लगायतका स्टलमा बढी चासो देखिएको छ ।

स्टल नम्बर एच ८ मा रहेको रमाइलो गेम्समा प्रर्दशनीको पहिलो दिनदेखि नै अनलाइन गेमिङ च्यालेन्ज सञ्चालन भइरहेको छ । त्यस्तै शुक्रबारदेखि प्रर्दशनी स्थलबाटै अवलोनकर्ताका लागि टेलिस्कोपमार्फत सूर्य र आकाश मन्डल हेर्ने सुविधा ल्याइएको छ । यसमा विशेषगरी विद्यार्थीको चासो बढी देखिएको छ ।

त्यस्तै शनिबार र आइतबार ‘क्यान रोबो सकर’ रोबोट फुटबल प्रतियोगिता सञ्चालन हुने क्यान इन्फोटेकका गेमिङ कोओर्डिनेटर बिक्रान्त कार्कीले बताए। उनका अनुसार प्रर्दशनीका विभिन्न स्टलहरुमा कम्पनी स्वयंले पनि रमाइला तथा उपयोगी प्रतियोगिता आयोजना गरिरहेका छन् । यसअन्तर्गत यार्सा टेकले विद्यार्थीलाई लक्षित गरी कोडिङ प्रतियोगिता सञ्चालन गरिरहेको छ । साथै एमएसआई कम्प्युटरले पीसी गेमिङ कम्पिटिसन सञ्चालन गरिरहेको छ ।

अर्कोतर्फ सूचना प्रविधिमा आधारित कम्पनी एवं सेवाप्रदायकले आफ्ना उत्पादन एवं सेवामा विशेष अफर दिइरहेका छन् । साथै प्रर्दशनीबाटै कम्पनीले आफ्ना डिलर र बिक्रेता छान्ने र बजार विस्तार गर्ने अवसर पाएको क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारले बताए।

यसैबीच इन्फोटेक प्रर्दशनीमा विशिष्ट व्यक्तिहरु समेत पुग्ने क्रम जारी छ। शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, प्रतिनिधिसभा सदस्य एवं नेकपा (एमाले) का नेता तारा लामा लगायतका विशिष्ट अतिथिले प्रर्दशनी अवलोकन गरेका छन्।

१५० भन्दा बढी स्टल रहेको क्यान इन्फोटेकमा सहभागी कम्पनीहरुले आफ्ना वस्तु तथा सेवाको प्रवद्र्धनका अतिरिक्त आकर्षक छुट र अफर दिइरहेका छन् । ब्राण्डिङ कम्पनीका स्टल मुख्य हलभित्र रहेका कक्षहरुबाट तथा साना कम्पनीहरु ट्रसमा रहेका स्टलहमार्फत सुपथ मूल्यमा वस्तु तथा सेवाको विक्री गरिरहेका छन् । प्रदर्शनीस्थलमै कम्पनीहरुले डिलर छनोट गर्ने र बिजनेश डिल गर्ने कार्य समेत गरिरहेका छन् ।

क्यान महासंघका वरिष्ठ उपाध्यक्ष खुशल रेग्मीले क्यान इन्फोटेकमार्फत विश्वबजार र स्थानीय बजारमा आएका नवीनतम प्रविधि र अभ्यासलाईबारे एकै थलोमा हेर्न, बुझ्न र छलफल गर्न सम्भव भएको बताए। उनका अनुसार यसपटक अनावश्यक भिडभन्दा सूचना प्रविधि बुझेका वा उत्सुक अवलोकनकर्ताहरु बढी आएका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved