जुत्ता सिलाएरै जुत्ता व्यापारी

निरोज कुमार थापा

निरोज कुमार थापा

Jan 06, 2020 | 03:11:03 PM मा प्रकाशित

laxmi  sunrise bank

रौतहटका नरेन्द्र महरा काठमाडौँ आएको १८ वर्ष भयो । रौतहत विर्तामा ३५ वर्षअघि जन्मेका उनी घरका एक्ला छोरा हुन् । तराईमा भएको एक बिगाहा जग्गा छोडेर उनी कमाई गर्न काठमाडौँ छिरे । अहिले उनको जग्गा छिमेकीले कमाई गरेका छन् । 

उनी देशमै जानेको पेशा गर्न भनेर राजधानी छिरेका थिए । उनलाई विदेश जाने मोह कहिल्यै जागेन । उनको पेशा हो, जुत्ता चप्पल सिलाउने । १० वर्षे जनयुद्ध ताका पनि उनी काम गरिरहे । दिनभरी आन्दोलन हुन्थ्यो, तर उनी काम गर्न पाउनुपर्छ भन्ने विचारका मान्छे । निरन्तर काम गरिरहे, बाहिर के भईरहेको छ उनले वास्ता गरेनन् । कहिले काही आन्दोलनकारी र प्रहरीबीच झगडा हुन थाल्यो भने सामान बोकेर कोठातिर दौडिन्थे । 

अहिले उनको मासिक कमाई ४० हजार रुपैयाँ छ । सीपले उनको जीवनलाई कहिल्यै मरुभूमिको तातो घाममा पोलिनु परेन । सीपको सम्मान गर्ने मान्छे भोकै बस्नुपर्दैन भन्ने उनको मान्यता छ ।

साढे ३ वर्षअघि उनकी आमा स्वर्गीय भईन । त्यसपछि उनले सबै परिवारलाई काठमाडौँ ल्याए । आमा नभएपछि ६५ वर्षीय पीतालाई एक्लै घरमा छोड्न मन लागेन उनलाई । एक्लै गाउँमा दुख गराएर पीतालाई राख्नु भनेको पाप हो भन्छन् उनी । त्यसपछि बुबालाई पनि काठमाडौँमै ल्याए । ‘बुबा आउन मान्नु भएको थिएन, घरमा एक्लै छोड्न छोराको मन कहाँ मान्छ ?’ उनी प्रश्न गर्छन्, ‘आफूसँगै राखेपछि रेखदेख हुन्छ, बुढेसकालमा बुबालाई एक्लै छोड्दा छोरा भए नभएको के अर्थ भयो र होईन ?’ 

नरेन्द्र काठमाडौँको कालिमाटीमा कोठा भाडामा लिएर बसेका छन् । साथमा बुबा, श्रीमती र ३ भाई छोरा (१४, ११ र ८ वर्षका) छन् । छोराहरुलाई उनले निजी स्कुलमा पढाएका छन् । 

जुत्ता सिलाएरै ६ जनाको परिवार पालेका छन् । पैसाले उनलाई अपुग कहिल्यै भएन । शन्तोष ठूलो कुरा हो भन्छन् उनी । आफ्नो कमाईबाट सन्तुष्ट छन् । जे जति भएपनि सन्तुष्ट हुनुपर्छ, लक्ष्मीले आफैँ बास गर्छिन । उनले एक हजार घटि लिएर कोठा फर्किनु पर्दैन । दैनिक १५ सयको हाराहारीमा कमाई गर्छन । जुत्ता चप्पल सिलाउँछन, पालिस गर्छन, तलुवा फेर्छन । जुत्ता चप्पल सम्बन्धि सबै काम गर्छन । १४ वर्षदेखी एकै ठाउँ राजधानीको त्रिपुरेश्वर चोकमा बसेर उनी सेवा दिईरहेका छन् । 

उनी सडकको किनारामा बसेर जुत्ता सिलाउँदा नजिकै सटरमा पसल गर्नेहरुले आफ्नो पसल अगाडी बस्यो भनेर गाली पनि गर्थे । उनी हाँसेर टारिदिन्थे, तर उनको मनमा गहिरो चोट परेको थियो । त्यहीँ इखले उनलाई केही गर्नैपर्छ भन्ने लागिरह्यो । उनले आफू जुत्ता सिलाउन बस्ने अगाडीको चश्मा पसल बसेको सटर लिएर अहिले जुत्ता पसल खोले । महिला, पुरुष, बालबालिकासहित सबै उमेर समूहका मानिसलाई सुहाउने जुत्ता चप्पल विक्रिमा राखेका छन् । उनी आज सडकमा जुत्ता सिलाउने मात्रै नभई सटरमा जुत्ता चप्पल बेच्ने पसले समेत बनेका छन् । उनी व्यापारलाई अपार ठान्छन् ।

उनले विभिन्न खाले मान्छेलाई सेवा दिएका छन् । कोही गाली गर्ने पनि भेटे, कोही हेप्ने पनि । तर उनले हेपिएको अनुभूति नगरी कर्ममा विश्वास गरिरहे । आज उनलाई कर्मकै फल स्वरुप लक्ष्मीले साथ दिईरहेकी छिन् । 

अब उनलाई छोराहरु यो देशको ठूलो मान्छे भएको हेर्ने रहर छ । सन्तान ठाउँमा पुगुन, देशको लागि केही गरुन् भन्ने उनको अपेक्षा छ । हरेक बाबु आमालाई आफ्नो सन्तान राम्रो बनोस्, ठूलो मान्छे बनोस्, पैसा धेरै कमाओस् भन्ने चाहाना हुन्छ । तर उनी पैसा भन्दापनि इज्जत कमाउन प्रेरित गर्छन । 

आफ्नो समुदायले देशका लागि प्रत्यक्ष योगदान दिएको देख्न नपाएको उनको गुनासो छ । तराईमा आफ्नै समुदाय बढी हेपिएकोमा उनी दुखी छन् । त्यसैले छोराहरुले देशका लागि योगदान दिन सकुन्, छोराहरुको कारणले आफू पनि परिचित हुन पाउँ र छोराहरुको योगदानले आफ्नो सिङ्गो समुदाय नै सम्मानित बनोस् भन्ने चाहाना छ उनमा ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved