नयाँ वर्ष २०७७ सालमा हिन्दुका मुख्य चाड दशैँ र तिहार २५ दिन पछि धकेलिएका छन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोजमा २५ दिन मलमास परेका कारण चाडपर्वहरु पछि धकेलिएका हुन् ।
कात्र्तिकमा दशैँ, मंसिरमा तिहार
समितिका अनुसार २०७७ सालमा दशैँको घटस्थापना कात्र्तिक १ गते परेको छ । कात्र्तिक ७ गते फुलपाती, ८ गते महाअष्टमी, ९ गते महानवमी र १० गते विजय दशमी परेको छ ।
तिहार भने कात्र्तिकको २८ गतेबाट मात्रै सुरु हुनेछ । पंञ्चाङ्ग निर्णायक समितिका सदस्य सचिब सूर्यप्रसाद ढुंगेलका अनुसार २८ गते कागतिहार, २९ गते विहान कुकुर तिहार, सो दिन बेलुकी लक्ष्मीपूजा, ३० गते गोवद्र्धन र मंसिर १ गते भाइटीका परेको छ ।
विवाहका लगन र ब्रतबन्धका साइत घटे
वि.सं. २०७७ सालमा विवाहका लगन र ब्रतबन्धका साइत समेत घटेका छन् । २०७६ सालमा करिब ३० दिन विवाहको साइत रहेकोमा आउँदो वर्ष जम्मा १५ दिन मात्रै विवाहका लगन रहेको समितिले जनाएको छ ।
वर्ष २०७७ मा ब्रतबन्धको साइत जम्मा ५ दिन मात्रै छ ।
क–कसले छाप्दैछन् पात्रो ?
नयाँ पात्रो समितिले गत पौष २९ गतेबाटै बजारमा सार्वजनिक गरिसकेको छ । समितिले तोयनाथ, नरनाथ, तारकेश्वर, बाबुराम, हिमाल, अठोला, सूर्य, आकाश दर्शन, बाबा गोरखनाथ, बगलामुखी, शुभ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रोलाई स्वीकृति दिईएको जनाएको छ ।
समितिले आगामी वर्ष २०७७ सालमा परेका बिदाको सूची भने पात्रोमा समावेश गराएको छैन । गृह मन्त्रालयले बिदाको सूची उपलब्ध नगराएको र समितिले सिफारिस गरेका बिदाहरु अनुमोदन भइनसकेका कारण बिदा समावेश गर्न नसकिएको जनाएको छ ।
पञ्चाङ्गमा तिथि, बार, योग, करण र नक्षत्र गरी पाँच अङ्ग समावेश हुनेसमितिले जनाएको छ ।