बाहिर भनिएजस्तो छैन पशुपतिनाथको अर्थ

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 18, 2020 | 02:14:50 PM मा प्रकाशित

sarbottam cement

पशुपतिनाथ मन्दिर धार्मीक आस्थाले भरिपूर्ण क्षेत्र हो । यसको आफ्नै विशेषता छ । हिन्दुका देवता भगवान शिवको मुर्ति भएको पशुपतिनाथ सन् १९७९ मा विश्व सम्पदा सूचिमा सुचिकृत भएको हो ।

महाशिवरात्रिको अवसरमा पशुपतिनाथ मन्दिरमा भक्तजनको घुँइचो लाग्छ । नेपाल र भारतका दर्शनार्थीहरु पशुपतिनाथ मन्दिरको दर्शनको लागि आउने गर्दछन् । केही वर्षअघिसम्म पशुपतिनाथ क्षेत्र नशालु पदार्थ सेवन गर्ने थलो समेत थियो । शिवरात्रीका अवसरमा आउने भारतीय ‘बाबा जी’हरुले खाने गाजा (नेपालमा प्रतिबन्धित) खान नेपाली युवाहरु पशुपति पुग्थे । तर अहिले त्यो पूर्ण रुपमा बन्देज गरिएको छ । 

के हो पशुपति ?

पशुपतिलाई धेरै थरीबाट अर्थ लगाउने गरिन्छ । तर पशुपति क्षेत्र विकास कोष संचालक परिषद् सदस्य घनश्याम कोइराला भने पशुपतिनाथको अर्थ बाहिर भनिएजस्तो नभएको बताउँछन् । पशुपतिनाथको इतिहास यति नै वर्ष पूरानो हो भन्ने सकिने अवस्था छैन । लिच्छविकालभन्दा यताका गतिविधिहरु लिखित रुपमै फेला पार्न सकिन्छ । २५ सय वर्ष पुराना लिखतहरु अझै छन् । 

२५ सय वर्ष पूराना ताम्रपत्र, शिलापत्र, शिलालेख पशुपाता क्षेत्रमा छन् । त्यसभन्दा अगाडी वेद पुराणहरुमा पनि पशुपतिको महिमा वर्णन गरिएको छ । 

पशु भनेको जीवजन्तु र पति भनेको मालिक । धेरैले यसलाई जोडेर जनावरको मालिक भनेर अर्थ लगाए । यो अर्थ सही होइन । तर कुनै समय धेरै पशुपालन गरेका कृषक पशुपति भए भन्ने कुरा पनि गलत हो भन्न सकिन्न ।

तर काठमाडौँको पशुपतिनाथ मन्दिरको सन्दर्भ फरक छ । पशुपतिलाई विन्यास गर्दा पशु भनेको बन्धनका बाँधिएका जीवहरु र पति भनेको ती बन्धनमा बाँधिएका जीवहरुलाई पतन हुनबाट जोगाउने । यसकारण पशुपतिको अर्थ के लाग्ने भयो भने, मान्छेहरु पनि जीवको अर्थमा पशु हो । बन्धनमा बाँधिएका भनेको के हो भने, मान्छेहरु पनि काम, क्रोध, लोभ, ईँष्र्या, द्वेष जस्ता बन्धनमा बाँधिएको हुन्छ । यी यस्ता बन्धनबाट जोगाउने भनेको हो पशुपति ।

‘पाशवद्ध जीवहरुलाई काम, क्रोध, लोभ, ईँष्र्या, द्वेषआदि बन्धनबाट जोगाउने भन्ने अर्थ पशुपतिको हो । विशेषगरी धर्म, अध्यात्म र संस्कृतिको मिलन पशुपतिनाथ हो’ कोइरालाले भने ।

धर्म नमान्नेहरुको पनि सम्पत्ति

धर्मको कुरा गर्दा व्यक्ति अनुसार हुन्छ । हिन्दुभित्र पनि कोही शिव मान्छन्, कोही विष्णु मान्छन्, कोही सूर्य मान्लान । विभिन्न देवीदेवता मान्ने मानिसहरु छन् । त्यसैले यो धर्म विशेषको मात्रै सम्पत्ति होइन । यो नेपालका मुसलमानहरुको पनि सम्पत्ति हो, यो वौद्धहरुको पनि सम्पदा हो । धर्म नमान्नेहरुको पनि सम्पत्ति हो । 

भौतिकवादले बाहिर हेर्छ र विचार गर्छ । अध्यात्मले आफूभित्र हेर्छ र भित्रका कुरा बाहिरसँग दाँज्छ । पशुपति क्षेत्र भित्रि आँखाले हेरेर देखिएका कुराहरु बाहिरी जीवनसँग दाज्ने ठाउँ पनि हो । कसरी भने, त्यही घाट छ, मान्छेको लास जलिरहेको हुन्छ । चिता जलिरहको देख्दा देख्नेले चिता मात्रै देख्दैन । उसले त्यहाँ जीवन देख्छ । मान्छेले राम्रा चिन्तन पनि देख्न सक्ने ठाउँ हो पशुपति । 

नजिकै भजनकृतन भइरहेको हुन्छ, पूजापाठ भइरहेको हुन्छ । त्यसैले आध्यात्मिक दृष्टिकोणले पनि यो क्षेत्र महत्वपूर्ण छ । 

अर्को कुरा संस्कति हो । संस्कृति समयसापेक्ष हुनुपर्छ । समयक्रमसँगै विकसित र सुहाउँदो हुनुपर्छ । पूरानै कायम रहने हो भने त्यो अन्धविश्वास हुन्छ । यथास्थितभन्दा बाहिर निस्कनुपछ, समयसापेक्ष सांस्कृतिक चेतको विकास पनि हुनु जरुरी छ । 

जस्तो कि शिवलाई गाईको दूध चढाइरहेको देख्दा त्यहाँ केही देख्दैन, चढाउने कुरा त परम्परा हो । चढाउने मान्छेको दृष्टिकोण भनेको धार्मीक हो । तर यसबाट हामीले के लिनुपर्छ भने ढुंगालाई पनि मानेर पो त देउता हुने रहेछ बुझ्नुपर्छ । त्यसकारकाण मान्ने र मानिने कुरा चाँही प्रमुख हो । 

ढुंगालाई देवता मानेर दूध, दही, घ्यू, मह चढाईरहेका छौँ, धूपवत्ती बालेर मगमग बासनादार बनाइरहेका छौँ, झिलिमिली वत्ती बालिरहेका छौँ भने जीवित मानिसलाई के गर्नुपर्ला, मानिसका पनि यस्ता दैनिक आवश्यकता पूरा गर्नुपर्छ कि पर्दैन होला भनेर सोच्नुपर्छ । 

हरेक मान्छेलाई सुख चाहिन्छ, हरेक मानिसलाई मिठो मसिनो खान चाहिन्छ, हरेक मानिसलाई उज्यालो चाहिन्छ, हरके मान्छे समृद्ध बन्नुपर्छ, हरेक मान्छेका आवश्यकता पूर्ती हुनुपर्छ, आवश्यकता पूरा हुन कर्ममा विश्वास गर्नुपर्छ भन्ने चेत मानव जगतमा विकास गराउन पशुपति क्षेत्रको त्यस किसिमले प्रचार हुनुपर्छ । यहाँ आउँदा मानिसमा राम्रा चिन्तन, सकारात्मक सोचको विकास होस् भनेर पशुपतिको आधुनिक विकास हुनुपर्छ ।

कसरी व्यवस्थान ?

पशुपतिनाथको व्यवस्थापन हिजोको काल समयअनुसार अब हुन सक्दैन । हिजो मानिसको संख्या थोरै थियो, आगन्तुक भक्तजन थोरै थिए । अब यहाँको पनि जनसंख्या बढेको छ, आगन्तुकहरु पनि बढेका छन् । त्यसैले अबको काल सयम सुहाउँदो गरी पशुपति क्षेत्रको व्यवस्थापन गर्ने बेला आएको छ । व्यवस्थापन गर्दा मुख्य गरी तीन कुरा ख्याल गरिनुपर्छ । 

पहिलो कुरा विकास । पशुपति क्षेत्र विकास कोषले विकास बुझ्नुपर्छ । सहभागिता, क्षेत्र विस्तार र उन्नत खालको विकास पशुपति क्षेत्रको आजको अपरिहार्य आवश्यकता हो । विकास सैदान्तिक र व्यवहारिक हुनुपर्छ । 

दोस्रो कुरा संरक्षण हो । विकाससँगै यो क्षेत्रको संरक्षण पनि हुनुपर्छ । पशुपतिनाथ मन्दिर क्षेत्र विश्वसम्पदा सूचीमा छ । यो हिन्दुको मात्रै होईन, नेपालको मात्रै पनि होइन रहेछ । विश्वसम्पदा सूचीमा रहेका कारण यो विश्वकै सम्पत्ति हो । विश्वसम्पदा सूचीमा रहन पालना गर्नुपर्ने अन्तराष्ट्रिय नियम छन् । ती अन्तराष्ट्रिय मान्यता अनरुप यहाँको पूरातात्विक सम्पदा, यहाँको धार्मिक अवस्था, यहाँका ताम्रपत्र, शिलापत्र, शिलालेख आदिको संरक्षण पनि हुनुपर्छ । 

तेस्रो भनेको सुविधा हो । सुविधा हुने गरी विकास हुनुपर्छ र विकास गर्दा सम्पदाको संरक्षण पनि आवश्यक छ । संरक्षणलाई ध्यान दिएर भक्तजन, पर्यटक, सो क्षेत्रको विषयमा खोज अनुसन्धान गर्न आउने खोजकर्ताहरु आदिको सुविधाका लागि त्यो व्यवस्था गर्नुपर्छ । 

क्रमश.....

(पशुपति क्षेत्र विकास कोषका सञ्चालक परिषद् सदस्य घनश्याम कोइरालासँगको कुराकानीमा आधारित)

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved