दुर्घटना निम्त्याउँन सक्ने मन्त्री भट्टराईको त्यो निर्देशन...

निरोज कुमार थापा

निरोज कुमार थापा

Feb 28, 2020 | 11:36:53 AM मा प्रकाशित

laxmi  sunrise bank

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केही दिनअघि विभिन्न देशबाट नेपाल आउन चाहाने विमान कम्पनीलाई प्रवेश दिन नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिए । यहीँ फागुन ६ गते मंगलबार नेपाल पर्यटन बोर्ड, ‘नेपाल भ्रमण वर्ष २०२०’ सचिवालय र नेपाल वायु सेवा निगमका पदाधिकारीहरुसँग छलफल गरेका मन्त्री भट्टराईले नेपालमा उडान गर्न इच्छुक अन्तराष्ट्रिय विमान कम्पनीलाई अनुमति दिन निर्देशन दिएका हुन् । 

अपरिपक्व निर्देशन

तर मन्त्री भट्टराईको निर्देशन अपरिपक्व र आन्तरिक क्षमताभन्दा बाहिरको भएको भन्दै आलोचना सुरु भएको छ । नेपालमा हाल एकमात्र अन्तराष्ट्रिय विमानस्थल सञ्चालनमा छ । काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको क्षमता र मन्त्रीले दिएको निर्देशनको तालमेल नमिलेको नागरिक उड्डयन प्राधिकरणकै अधिकारीहरु बताउँछन् । 

‘मन्त्री ज्यूले आउन खोज्ने सबैलाई ल्याउनु भन्नु भयो, सबैलाई ल्याउन हाम्रो क्षमता पनि त हुनुपर्‍यो नि’ एक उच्च अधिकारीले भने, ‘राख्ने ठाउँ छैन, घरमा लगेर राख्न मिल्दैन, कहाँ राख्नु ?’ 

खुला आकाश नीति र खुला अर्थ नीति भनेपनि नेपालको संविधान २०७२ ले कानुनतः खुला अर्थ नीति अङ्गिकार गरेको छैन । यस्तो अवस्थामा निर्देशन मात्रै दिने र कार्यसम्पदान भएन भन्ने नियत भविष्यमा देखिन सक्ने प्राधिकरणका कर्मचारीहरु बताउँछन् । ‘क्षमता नै नभएको अवस्थामा संसारभरका जहाजलाई नेपाल ल्याउनु भन्नु मुर्खता र उड्डयन क्षत्रमा अध्ययनको कमी हो’ एक उच्च अधिकारीले भने । 

एयरपोर्टमा जहाज पार्किङ स्थल कम हुँदा र धेरै जहाजलाई सानो ठाउँमा पार्किङ गराउँदा दुर्घटना निम्तिन सक्ने खतरा रहने उड्डयन क्षेत्रका जानकारहरु बताउँछन् । 

नेपालको पार्किङ क्षमता 

नेपालमा हाल ९ वटा जहाज पार्किङ गर्न सक्ने क्षमता छ । काठमाडौँ विमानस्थलमा थप २ जहाज पार्किङ गर्न सक्ने क्षमताको विस्तार हुँदैछ । यो काम सकिँदा नेपालको जहाज पार्किङ क्षमता जम्मा ११ वटा मात्रै पुग्छ । काठमाडौँ बाहेक अन्य विमानस्थलमा अन्तराष्ट्रिय उडान भर्ने जहाज पार्किङ गर्न सक्ने क्षमता छैन । 

भैरहवा र पोखरा विमानस्थलमा २/२ वटा जहाज पार्किङ क्षमताका पार्किङ वे बन्दैछन् । तर यी वे निर्माणाधिन रहेका कारण अहिले नै गणना गर्नु उपर्युक्त नहुने प्राधिकरणका अधिकारीहरुले बताएका छन् । 

‘सर्टिफाइड ९ वटा मात्रै हुन्, टिआईए (त्रिभुवन इन्टरनेशनल एयरपोर्ट)मा २ वटा थपिँदा ११ पुग्छ’ प्राधिकरण स्रोतले भन्यो, ‘भैरहवा र पोखरामा बन्दैछन् भनेर मात्रै हुँदैन, अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले प्रमाणित नगरी पार्किङ गर्न पाईँदैन ।’ 

नेपालका जहाज कति ?

अन्तराष्ट्रिय उडान भर्ने जहाज नेपालका आफ्ना ८ वटा छन् । पूर्ण सरकारी स्वामित्वको नेपाल वायु सेवा निगमसँग २ वटा वाइडबडी एयरबस, २ वटा न्यारोबडी एयरबस र एउटा बोइङ गरी जम्मा ५ वटा अन्तराष्ट्रिय उडान गर्ने जहाज छन् । निजी क्षेत्रको हिमालयन एयरलाइन्ससँग ३ वटा एयरबस छन् । 

‘पार्किङ क्षमता जम्मा ९ मात्रै छ, हाम्रा आफ्नै जहाज ८ वटा छन्’ स्रोत भन्छ, ‘यस्तो अवस्थामा भए भरका विदेशी विमान कम्पनीलाई नेपाल आउन देउ भन्नु कसरी जायज हुन्छ ?’ 

आउन चाहाने विमान कम्पनी कति ? 

नेपालमा हाल २९ देशका जहाजहरु उडान भरिरहेका छन् । हवाई उडनका लागि द्विपक्षीय सम्झौता भएका ३६ देश छन् । नेपालमा उडान भर्न स्लट माग गरेको विमान कम्पनी धेरै भएपनि उडान भरिहाल्ने गरि पाइपलाइनमा रहेको कम्पनी भने छैनन् । 

भारतीय विमान कम्पनी ‘स्पाइस जेट’ले २०१९ को नोभेम्बर महिनामै नेपाल उडान सुरु गर्ने भनेपनि अन्तिम समयमा सम्पर्क बिहिन भएको थियो । उसले मागेको समय नेपाली पक्षले दिन नसक्दा स्पाइस जेटले नेपालमा उडान भर्ने भनेपनि हाललाई स्थगित राखेको छ । 

यो बाहेक अन्य विमान कम्पनीले नेपालमा तत्काल उडानको इच्छा देखाएका छैनन् । 

आउन चाहानेलाई ल्याउन किन सकिन्न ?

नेपालमा उडान भर्न चाहाने विदेशी विमान कम्पनीलाई ल्याउन पूर्वाधारको अभाव रहेको विमानस्थल स्रोतले बताएको छ । त्रिभुवन विमानस्थल हाल अन्तराष्ट्रिय उडानका लागि समय दिन सक्ने अवस्थामा छैन । सबै समय ‘प्याक’ रहेका कारण आउन चाहाने जहाजलाई उनीहरुको इच्छा अनुसार स्लट दिन नसकिने त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एक अधिकारीले बताए ।

निजी क्षेत्रका वायुसेवा प्रदायक कम्पनीले भने नेपालमा आउने जहाज ३२० र ३३० एयरबस मात्रै रहेको र विश्वमा ३८० एयरबस बनिसकेको बताएका छन् । उनीहरु युरोपका देशमा नेपालबाट उडान खुला नभएसम्म जहाज ल्याएर मात्रै बजार नबढ्ने र राख्ने ठाउँ पनि नहुने बताउँछन् । 

‘नेपालमा जम्मा ३ सयको हाराहारीमा मान्छे बोक्ने जहाज उड्छन्, विश्वमा ८ सय सिट क्षमताका जहाज उड्न थालिसके’ उच्च स्रोतले भन्यो, ‘आकाशमा उडाइरहने क्षमता छैन, युरोपका आकाशमा उडान खुल्ला नभएसम्म मन्त्री ज्यूको महत्वकांक्षी योजना र निर्देशन पूरा हुन सक्दैन ।’

यसअघिः

नेपाललाई झुक्याउँछन् विदेशका विमान कम्पनी

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved