कोरोना प्रभावः आयातमा नाकाबन्दीको झल्को, ३२ अर्ब क्षति हुने अनुमान

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 06, 2020 | 02:54:29 PM मा प्रकाशित

laxmi  sunrise bank

हाल करिब ७० भन्दा बढी देशहरुमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)को असर विश्व अर्थतन्त्रमा देखिएको छ । यसको सोझो प्रभाव नेपाली अर्थबजारमा पनि परेको छ । भन्सारमा आधारित नेपालको अर्थतन्त्रमा कोरोनाको प्रभावका कारण सरकारको राजश्व लक्ष्यमा धक्का लाग्ने भएको छ । 

उत्पादनमा आधारित अर्थतन्त्र नभएका कारण सरकारले भन्सारमार्फत राजश्व संकलन गरी मूलुकको अर्थतन्त्र धान्दै आएको छ । आफ्नो उत्पादन विदेशमा निर्यातको अवस्थामा भारी गिरावट आउँदा निर्यातमार्फत हुने आर्थिक गतिविधिमा कमी आउने निश्चित भएको हो । 

आयातमा नाकाबन्दीको झल्को

देशका प्रमुख भन्सार नाकाहरु बन्द प्राय छन् । चीनबाट स्थलमार्ग हुँदै बस्तु तथा सेवा आयात तथा निर्यात हुने तातोपानी नाका बन्दको अवस्थामा छ । खाद्यान्न तथा दैनिक उपभोग्य सामानको आयात करिब ८० प्रतिशतले घट्दा नाकाबन्दीको झल्को देखिएको छ । 

केरुङ र रुसुवागढी नाकाबाट हुने कारोबार समेत ठप्प रहँदा ती भन्सारबाट हुने आर्थिक क्रियाकलाप रोकिएका छन् । स्थलमार्ग प्रयोग गरेर नेपाल भित्रिने सामान नाका बन्द भएका कारण अहिले हवाई मार्गबाट काठमाडौँ आउँछ । तर काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय भन्सार तथा कार्गो गोदाम सुनशान छ । नेपाल नागरिक उड्डयन प्राधिकरण, कार्गो व्यवस्थापन शाखाका प्रमुख रामचन्द्र सुवेदीका अनुसार आयातमा भारी मात्राले कमी आउँदा विमानस्थलस्थित गोदाम खाली छ । 

‘सामान बोक्ने बसहरु सबै पार्किङमा छन्’, सुवेदीले चौरमा पार्किङ गरिराखिएका सामान ढुवानी गर्ने बसहरु देखाउँदै भने, ‘चालकहरु घाम तापेर बस्नु परेको छ, यतिबेला त भ्याईनभ्याई काम हुनुपर्ने बेला हो ।’ 

कार्गो गोदाम परिसरमा भेटिएका एक कार्गो व्यवसायीले आयात भएको सामान राख्ने विमानस्थलको गोदाम केही दिनमा फुटबल खेल्न मिल्ने ठाउँ हुने बताए । ‘आयात गोदाम अब केही दिनमै पूरै खाली हुन्छ, नील हुन्छ, अनि त्यहाँ फुटबल खेले हुन्छ’ उनले भने । 

निर्यात पनि ओरालो

आयातको तुलनामा निर्यातमा केही कम प्रभाव रहेको विमानस्थलका अधिकारीहरु बताउँछन् । खचाखच सामान भरिएको अवस्थामा रहँने त्रिभुवन विमानस्थलस्थित निर्यात गोदाम पनि खाली प्राय छ । प्राधिकरण कार्गो शाखाका प्रमुख सुवेदी निर्यात ४० प्रतिशतले घटेको बताउँछन् । 

‘निर्यात १ महिना अगाडीको तुलनामा ४० प्रतिशत घटिसकेको छ’ उनले भने, ‘यो अझै ओरालो लाग्ने क्रममा छ ।’ हाल मास्कलगायतका स्वास्थ्य सम्बन्धि सामग्रीको निर्यात बढेको छ । 

राजश्व लक्ष्यमा धक्का

सरकारले चालु आर्थिक वर्ष १० अर्ब ९ करोड १६ लाख १८ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर आर्थिक वर्षको ७ महिना २३ दिन हुँदा सरकारले ४ अर्ब ७९ करोड ८५ लाख ९८ हजार रुपैयाँ राजश्व उठाएको छ । 

सरकारले हाल सरदर दैनिक करिब साढे ४ करोडको अनुपातमा राजश्व उठाईरहेको छ । यो समाचार तयार पार्दासम्म सरकारले कुल लक्ष्यको ४७.९६ प्रतिशत राजश्व उठाएको छ । कोरोना भाइरसको विश्वव्यापी असरका कारण सरकारको राजश्व संकलनको लक्ष्य प्रभावित हुने आँकलन गर्न थालिएको छ । 

एडिबी भन्छ, ‘नेपालको ३२ अर्ब क्षति हुन सक्छ’

एशियाली विकास बैंक (एडिबी)ले कोरोनाबाट हुन सक्ने क्षतिलाई ४ भागमा वर्गीकरण गरेको छ । एडिबीले हरेक देशमा कम क्षति, मध्यम क्षति, उच्च क्षति र हाइपोथेटिकल उच्च क्षति गरी ४ भागमा वर्गीकरण गरेको छ । 

कोरोना भाइरसका कारण नेपालको कुल ग्राहस्थ उत्पादनको १.११ प्रतिशत अर्थात् करिब ३२ अर्ब रुपैयाँ क्षति हुने एडिबीको हाइपोथेटिकल अनुमान छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved