कोभिड–१९ अर्थात् कोरोना भाइरसको कारण नेपालको सबैभन्दा धेरै थिलथिलो बनेको क्षेत्र हो पर्यटन । होटल र वायुसेवा व्यवसायमा कोरोनाको प्रत्यक्ष असर देखिएको छ । हाल होटल पूर्णतया खाली छन् भने आन्तरिक उडान गर्ने वायुसेवा कम्पनीका जहाजहरु पनि खाली उड्दैछन् ।
आन्तरिक उडान गर्दै आएका वायुसेवा कम्पनीहरु विदेशी पर्यटक आगमन घट्दा व्यवसाय कमजोर बनेको बताउँछन् । कोरोनाको संक्रमण विश्वभर फैलिने क्रम जारी रहेका कारण संसारभरको पर्यटन बजार सुस्ताएको छ ।
जहाज ग्राउण्डेडको तयारी
वायुसेवा संचालक संघ नेपालले पर्यटक आगमनको दर घट्दा व्यवसाय नराम्रोसँग विग्रिएको बताएको छ । संघ बाह्य पर्यटक नआउँदा रित्तो जहाज उडाउन नसकिने भन्दै भएका सबै जहाजहरु ग्राउण्डेड गर्ने अवस्था आएको बताउँछ ।
संघका एक पदाधिकारीले सबै कम्पनीसँग भएका जहाजलाई यात्रु नपुग्ने भएकाले सबै कम्पनीका जहाजहरु संख्यात्मक अनुपातका आधारमा ग्राउण्डेडको तयारी थालिएको बताए । कुन कम्पनीको कति वटा जहाज ग्राउण्डेड गर्ने भन्नेबारे कम्पनीसँग भएका कुल जहाज संख्याको आधारमा तय हुने उनको भनाई छ ।
वायुसेवा प्रदयाक कम्पनीहरुले आफ्ना कर्मचारीको सेवासुविधा समेत कटौती गर्न सक्ने संकेत गरेका छन् । प्राप्त जानकारी अनुसार केही विमान कम्पनीहरुले आफ्ना कर्मचारीलाई तलब नलिने गरी बिदामा बस्न समेत भनिसकेका छन् ।
व्यवसायीका यस्ता याचना
वायुसेवा प्रदायक कम्पनीहरुले कोरोना भाइरसका कारण आफ्नो व्यवसाय विग्रिएको गुनासो गर्दै सरकारसँग गुनासो सम्बोधनका लागि अपिल गरेका छन् । ‘सहज रुपमा नेपालभित्र स्वदेशी तथा विदेशी पर्यटकहरु आवत जावत गर्न सक्ने स्थिति देखिदैँन,’ संघका प्रवक्ता योगराज कँडेल शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यसले कम्तीमा ६ महिनासम्म व्यवसायमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ ।’
संघले विभिन्न बैंकबाट व्यवसायका लागि लिईएको कर्जालाई पुनर्तालिकीकरण गरेर तिर्न सक्ने व्यवस्था बनाईदिन सरकारसँग माग गरेको छ । व्यवसायीले हवाई इन्धनको मुल्य अभिवृद्धि कर हटाई हवाई इन्धनको मूल्य ३० प्रतिशत घटाउनसमेत माग गरेका छन् ।
‘हाम्रो व्यवसाय नराम्रोसँग प्रभावित भएको छ, यस्तो अवस्थामा बैंक लोन तिर्न सक्ने क्षमता हुँदैन’, एक प्रतिष्ठित हवाई सेवा प्रदायक कम्पनीका निर्देशकले भने, ‘त्यसैले सहुलियतका लागि सरकारसँग पहल गर्ने तयारी छौँ, सरकारले पक्कै हाम्रो अवस्था बुझ्नेछ ।’
४ अर्ब क्षतिको आँकलन
कोरोना भाइरसको कारण सन् २०२० को २ महिनामा आन्तरिक अवाई यात्रु ४० प्रतिशत घटेको संघको दाबी छ । यो घट्दो दरलाई आधार मानेर संघले चालु वर्ष हवाई सेवा प्रदायक कम्पनीहरुले करिबे ४ अर्ब क्षति ब्यहोर्नु पर्ने अवस्थाको सिर्जना हुन सक्ने आँकलन गरेका छन् ।
वसन्तु ऋतुका बेला नेपाल आउन टिकट बुकिङ गरेका पर्यटकले आफ्नो बुकिङ धमाधम रद्द गर्न थालेको संघको भनाई छ । चीन, हङकङ, कोरिया, थाइल्याण्ड, भारत तथा मध्यपूर्वी देशहरुमा कोरोनाको प्रभाव देखिसकिएको र स्वदेशमा पनि पर्यटक आवतजावत गर्न नसक्ने भएकाले आगामी ६ महिनासम्म नेपालको पर्यटन बजार ओरालो लागिरहने वायुसेवा प्रदायकहरुको अनुमान छ ।