व्यवसायीले नै सोधे, ‘मास्कको मूल्य कति हो ?’

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 11, 2020 | 11:37:48 AM मा प्रकाशित

sarbottam cement

कोरोना भाइरसको विश्वव्यापी सन्त्राससँगै कालोबजारी पनि मौलाएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पछिल्लो समय गरेका बजार अनुगमको नतिजाले पनि कालोबजारी मौलाएको देखिएको छ । विशेष गरी औषधीजन्य सामानहरुको कृत्रिम अभाव बजारमा देखिएको छ । 

व्यवसायी भन्छन्, ‘औषधीमा कालोबजारी हुँदैन’

सरकारी निकायको अनुगमनमा तोकिएको मूल्यभन्दा धेरै शुल्क लिएर सामान बेचिरहेका मेडिकल तथा फार्मेसी पसलहरु धमाधम कारबाहीमा परिरहेको भएपनि व्यवसायीका नेताहरुले भने औषधीमा कालोबजारी नहुने दाबी गरिरहेका छन् । नेपाल चेम्बर अफ कमर्शका सामाजिक तथा स्वास्थ्य समिति सभापति एवम् औषधी व्यवसायी मृगेन्द्रमेहर श्रेष्ठ ‘अधिकतम खुद्रा मूल्य’ (एमआरपी) अनुसार नै औषधीको विक्रि हुने भएकाले कालोबजारी नहुने दाबी गर्छन् । 

‘औषधीमा कालोबजारी हुनै सक्दैन’, उनी भन्छन्, ‘एमआरपी अनुसारकै मूल्यमा हामी बेचिरहेका छौँ, त्यसकारण औषधीजन्य सामग्रीमा कालोबजारी भयो भन्नु गलत छ ।’ 

‘सर्जिकल सामानको मूल्य कति हो ? त्यसको उपयोग गर्ने म्याद कति हो ?’ श्रेष्ठले प्रश्न समेत गरे । उनले सर्जिकल सामानको मूल्य नतोकिएका कारण जतिमा पनि विक्रि हुने गरेको स्वीकार गर्दै सरकारसँग यस्ता सामानको मूल्य निर्धारण र एक्स्पाएर मिति तोक्न माग गरे । 

रसायन तथा मेडिकल आपूर्ति संघका अध्यक्ष सुरेश घिमिरे पनि कालोबजारी भएको आरोप अस्वीकार गर्छन् । उनले भने, ‘औषधीमा कालोबजारी हुँदैन, यदि कालोबजारी हुन्छ र भएको छ भने त्यस्ता व्यवसायी नियमित नभई सिजनल हुन् ।’ 

‘मास्क अभाव भएको हो’

उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले सर्जिकल सामानमा मास्क र सेनिटाइजर अभाव भएको स्वीकार गरेका छन् । उनले स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालयका सचिव यादव कोइरालाको भनाईमा सहमति जनाउँदै बढी थुपार्ने नेपालीको चलनका कारण मास्क अभाव देखिएको स्वीकार गरे । स्वास्थ्य सचिव कोइरालाले पनि औषधीजन्य सामग्रीको अभाव नहुने र अनावश्यक चिन्ता लिएर सामान थुपार्ने चलन खराब भएको बताएका थिए । 

आपूर्ति सचिव अर्यालले औषधी अत्यावश्यक चीज भएका कारण कालोबजारी नगर्न व्यवसायीलाई गर्दै कालोबजारी गरे हदैसम्मको कारबाही गर्न विभागलाई निर्देशन समेत दिए । उनले एमआरपी नलेखेको औषधीजन्य सामान आयातमा व्यवसायीका संघ संगठनले नै आयातकर्तालाई हतोत्साहित गर्नुपर्ने पनि बताए । 

‘व्यवसायी साथीहरुले औषधी आयातकर्तालाई एमआरपी बिनाको औषधी ल्याउन हतोत्साहित नै गर्दिनोस्’ सचिव अर्यालले भने, ‘यसो गर्दा उपभोक्ता र व्यवसायी दुबैको हित हुन्छ ।’ 

नेपालमा कति उत्पादन ?

नेपालमा कुल खपतको ४४ देखि ४५ प्रतिशत औषधी स्वदेशमै उत्पादन भईरहेको छ । व्यवसायीका अनुसार करिब ५५ प्रतिशत औषधी मात्रै आयात गर्नुपर्ने अवस्था रहेको बताएका छन् । मास्कको उत्पादन भने पर्याप्त नरहेको औषधी व्यवसायी श्रेष्ठ बताउँछन् । 

नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले न्यून लागतमा नै मास्क उत्पादन गरिएको भन्दै भ्याट छुट दिन सरकारसँग आग्रह गर्छन् । चेम्बरले आफ्नै सक्रियतामा ८ रुपैयाँ प्रति पिस लागत पर्ने गरी मास्क उत्पादन गर्न लागेको र ८ रुपैयाँ प्रतिगोटामा नै बजारमा लैजान लागिएको जानकारी दिए । उनले सरकारले भ्याट छुट दिए अझ १ रुपैयाँ सस्तो पर्ने पनि बताएका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved