उपप्रधानमन्त्री पोखरेल भन्छन्, ‘गण्डकी प्रदेशले गरेर खाँदैन’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 18, 2020 | 12:14:41 PM मा प्रकाशित

laxmi  sunrise bank

यही आइतबार पोखराका व्यवसायीहरु कोरोना भाइरसका कारण व्यवसाय बिग्रिएको गुनासो लिएर काठमाडौँ आए । काठमाडौँ आएका पोखराका पर्यटन व्यवसायीलाई गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजिव पहारीले कोरोना भाइरस रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय कार्यदलका संयोजकसमेत रहेका उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलसँग भेटाईदिए ।

भेटमा व्यवसायीहरुले मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाए । ज्ञापनपत्र बुझिसकेपछि मन्त्री पोखरेल गण्डकी प्रदेश सरकारको विषयमा आक्रोश पोखे । उनले प्रदेश सरकार ‘गरी खाने’ लयमा नदेखिएको बताए ।

‘गर्नुपर्ने काम गर्न नसक्ने, केन्द्र सरकारको मात्रै मुख ताक्ने, फेरि केन्द्र सरकारलाई नै गाली गर्ने’ मन्त्री पोखरेलले भने, ‘म ठोकेरै भन्छु, यो सरकारले गरी खाँदैन ।’

प्रदेशसभा सदस्य पहरीले पोखराको रत्न मन्दिर र हिमागृह सर्वसाधारणका लागि खुला गरिए आन्तरिक तथा बाह्य पर्यटक बढ्ने भन्दै छिटो खुला गर्न आग्रह गरे । रत्न मन्दिर हिमागृह नेपाल ट्रष्टको स्वामित्वमा रहेका कारण नेपाल ट्रष्टको समेत अध्यक्ष रहेका उपप्रधानमन्त्री पोखरेललाई सांसद पहरीले यस्तो आग्रह गरेका थिए । तर उनको बोली नसकिँदै मन्त्री पोखरेलले ‘झाको’ झारे ।

‘तपाईहरु सबै पोखराको हुनुहुन्छ, मैले आज एउटा कुरा भन्नैपर्छ । रत्न मन्दिर र हिमागृह केन्द्र सरकारले नखोलेको होईन, केन्द्र सरकारले बन्द गरेर राखेको जसरी प्रचार भईरहेको छ । त्यो ट्रष्टको जग्गा हो, त्यत्तिकै दिन मिल्दैन, प्रस्ताव ल्याउनुहोस् सम्झौता गरौँ भनेकै छु, अहिलेसम्म एउटा प्रस्ताव आएको छैन’ मन्त्री पोखरेलले आक्रोशित हुँदै भने, ‘आफूले गर्नुपर्ने काम चाँही केही नगर्ने, केन्द्र सरकारको दोष देखाउने, ठूला कुरा गर्दै हिड्ने । तपाईहरुले गरी खानुहुन्न ।’ 

उनी यत्तिकै रोकिएनन् । 

‘रत्न मिन्दर खोल्ने विषयकै लागि म ३ दिन पोखरामै गएर बसेँ, प्रस्ताव ल्याउनुहोस् भनेर प्रदेश सरकारलाई भनेँ, म पोखरामै भएको बेला २ दिनमै प्रस्ताव बनाएर ल्याउन सकिन्थ्यो’ उनले भने, ‘काम नगर्ने, दोष जति सबै केन्द्र सरकारलाई लगाउने नियत ठिक होईन । तपाईहरु पनि रत्न मन्दिर पुगेर फोटो खिच्ने मात्रै होईन, प्रदेश सरकारलाई प्रस्ताव छिटो बनाउन दबाब दिने काम गर्नुस् ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved