कोरोनाको त्रासले युवाहरु गाउँ फर्किएपछि बाँझो जग्गामा खेती हुने आशा

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 20, 2020 | 11:30:27 AM मा प्रकाशित

laxmi  sunrise bank

कोभिड–१९ (कोरोना भाइरस)को संक्रमण प्रवेश शुन नदिन सरकारले भटाभट निर्णय गरिरहेको छ । विद्यालय तथा विश्वविद्यालयका पठनपाठन देखि परीक्षासम्म स्थगित भएका छन् । हवाई उडान भारी मात्रामा कटौती भएका छन् । 

२ लाख मानिसले काठमाडौँ छाडे

सरकारले अघोषित रुपमा ‘लक डाउन’कै शैलीमा निर्णय गर्न र निर्देशन दिन थालेपछि काठमाडौँलाई कर्मथलो बनाएका व्यक्तिहरु धमाधम गाउँ फर्कन थालेका छन् । विशेष गरी आफ्ना बालबच्चा पढाउन काठमाडौँ आएका र खाली समयमा केही आयआर्जनको काम पनि गर्ने मानिसहरु गाउँ फर्किन थालेका छन् । दशैँको समयमा मात्रै काठमाडौँ छोड्ने यात्रुहरुको चाप खेपेका यातायात व्यवसायीहरु अहिले कोरोना भाइरसका कारण यात्रुको चाप खेपिरहेका छन् ।

यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौला दैनिक एक लाख मानिस काठमाडौँबाट बाहिरिने गरेको बताउँछन् । ’ पछिल्लो ४८ घण्टामा २ लाख बढी मानिस काठमाडौँबाट बाहिरिएका छन् । ‘दैनक सरदर ५० देखि ६० हजार मानिसले विभिन्न नाकाबाट काठमाडौँ छोड्ने गरेकोमा पछिल्लो २ दिन त्यो संख्या बढेर १ लाख नै पुगेको छ’ उनले भने, ‘फर्किने यात्रुहरु भने निकै घटेका छन् । 

सरकारले भिडभाड हुने ठाउँमा नजान, एकै समूहमा २५ जनाभन्दा धेरै मानिस भेला नहुन निर्देशन जारी गरेपछि काठमाडौँ छोड्ने बढेका हुन् । विद्यालय बन्द भएपछि अधिकांश गृहिणीहरु गाउँ फर्किसकेका छन् । सरकारले यसैलाई प्रोत्साहन गर्न र काठमाडौँ लगायतका शहरमा दैनिक उपभोग्य बस्तुहरुको अभाव हुन नदिन निर्णय गरेको हुनसक्ने आँकलन गरिएको छ । 

‘बच्चा पढाउन बसेका, जागिर खाएर २÷४ पैसा कमाउन बसेकालाई सरकारले सिँधै त घर फर्कि भन्न सक्ने कुरा भएन’ एक जना नागरिक समाजका अगुवाले भने, ‘घुमाउरो पारामा तिमी गाउँ नै जाउ, शहरभन्दा गाउँ सुरक्षित हुन्छ भन्ने सन्देश दिन सरकारले यो निर्णय गरेको हुनुपर्छ ।’ 

बाँझो जग्गा जोतिएला ?

गाउँमा यतिबेला खेतीपातीको चटारो छ । बारी जोत्ने, मकै छर्ने, मल बोक्ने लगायतका काम भईरहेका छन् । काम गर्ने उमेरका व्यक्तिहरु शहर छिरेपछि शून्य प्राय रहेका गाउँहरुमा अहिले चहलपहल सुरु भएको छ । बाँझा बारीहरुमा खनजोत सुरु भएको छ । 

अगुवाहरुले गाउँलाई हराभरा बनाउने उपर्युक्त माध्यम युवा भएकाले युवा जनशक्ति गाउँ फर्किदा यस वर्ष बाँझा खेतबारीमा अन्न उब्जाउ हुनेमा ढुक्क छन् । विशेष गरी रियलस्टेट व्यवसायमा कोरोना भाइरसको असर देखा परेको छ । ग्रामिण क्षेत्रमा त्रास बढी छ, तर आर्थिक रुपमा नै हुने प्रभाव न्युन छ । खाना पकाउन दाउरे चुल्हो, भान्छामा मकैको च्याख्ला, करेसामा फलेका तरकारी पाक्ने भएकाले मुख्य बजारमा जस्तो समस्या गाउँमा देखिएको छैन । काठमाडौँमा रहेका व्यक्तिहरु झण्डै महिना दिनकै लागि गाउँमा बस्ने मनशायले फर्केका कारण यस वर्ष गाउँमा रहेका बुढापाकाहरुले खेतीको सिजनमा केही राहत महशुस पक्कै गर्नेछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved