अनावश्यक ग्याँस किन्नेलाई मन्त्री भट्टको चेतावनी, ‘पड्किए आफैँ जिम्मेवारी लिनुहोला’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 23, 2020 | 11:04:46 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा कोरोना भाइरसको जोखिम बहन गर्न सरकारले विभिन्न निर्णय गरेसँगै नागरिक स्तरमा त्रास फैलिएको छ । सरकारले एसईई परीक्षा स्थगित, विश्वविद्यालयका परीक्षा स्थगित र २५ जनाभन्दा धेरै मानिस एकै ठाउँमा भेला हुन नपाउने निर्णय गरेपछि काठमाडौँ छोड्ने मानिस बढेका छन् । तर सरकारले काठमाडौँ छोडिहाल्न भने भनेको थिएन । 

काठमाडौँ लगायतका शहरमा बसेका र रैथाने समुदायका व्यक्तिहरुले पनि विभिन्न सामानको जहो गर्न थालेका छन् । विशेषगरी खाना पकाउने ग्याँस र पेट्रोलियम पदार्थको आवश्यकताभन्दा धेरै भण्डारण बढेको छ । यति मात्रै नभई मास्क र स्यानिटाइजर जस्ता औषधीजन्य बस्तुहरुको पनि माग आकाशिएको छ । 

वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्टका अनुसार कोरोनाको त्रास फैलिनुपूर्व नेपाली बजारमा मासिक २५ हजार मास्क खपत हुँदै आएको थियो । तर अहिले पछिल्लो २ महिनाको तथ्यांक हेर्दा खपतदर झण्डै तेब्बरले बढेको छ । 

विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले पनि विश्वभरीमा ९ करोडभन्दा धेरै मास्क अभाव रहेको बताएको छ । 

खाद्यान्न, दैनिक उपभोग्य समान, औषधी, ग्याँस, पेट्रोलियम पदार्थ पनि सरकारले आवश्यक अनुसार आयात भईरहेको र स्टक पनि आधा वर्षलाई पुग्ने रहेको बताइरहेको छ । सरकारले यसो भनेर उपभोक्तालाई अनावश्यक भण्डारण नगर्न पनि भनिरहेको छ । तर मानिसहरुले आवश्यकताभन्दा धेरै सामान भण्डारण गरिरहेका छन् ।

नेपालमा हाल ग्याँसको अधिकतम खपत २९ हजार मेट्रिक टन हो । तर सरकारले हाल ४५ हजार मेट्रिक टन ग्याँस आयात गरिरहेको छ । 

‘१ क्वीन्टल चाहिनेले ४ क्वीन्टलसम्म किनेर राखेको भेटियो, ग्याँस पनि एउटै परिवारमा १४/१५ सिलिण्डरसम्म भेटियो’ मन्त्री भट्टले भने, ‘सरकारले जनताको घरमा छापा मार्ने कुरा आएन, हामीले त अनावश्यक भण्डार नगर्नुहोस्, यसो गर्दा अर्को दुर्घटना निम्तिने खतरा हुन्छ भनेर सचेत मात्रै गराउन सक्छौँ ।’

मन्त्री भट्टले एउटै परिवारमा १५ वटासम्म ग्याँसको सिलिण्डर भेटियो भन्ने कुरा उनी आफू पाहुना जाँदा फेला पारेका थिए । केही दिन अघि मन्त्री भट्ट एक आफन्तकोमा पाहुना लाग्न जाँदा मन्त्रीका आफन्तले ग्याँसको हाहाकार हुने कुरा सुनिएको र आफूहरुको घरमा पनि ग्याँस सकिन लागेको भनेर गुनासो गरेछन् । मन्त्री भट्टले कति वटा सिलिण्डर राख्नु भएको छ भनेर सोध्दा मन्त्रीका आफन्तले जवाफ फर्काएछन्, ‘१५ वटा सिलिण्डर छन्, भरिएका चाँही ८/१० वटा मात्रै होलान्, बाँकी खाली भईसके ।’ 

तर यो कुरा मन्त्रीले आफन्तकोमा यस्तो पाईएको बताएपनि नाता के पर्ने भन्ने खुलाएनन् ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved