महामारी वा विपत्तिको समयमा अफवाह फैलाउने काम भइरहेकै हुन्छ । विभिन्न समयमा आइपर्ने विपदका बेला कोही न कोही व्यक्तिले अनावश्यक र हुँदै नभएका हल्ला फैलाएर जनमानमा त्रासको वातावरण सिर्जना गर्ने गरेको पाईन्छ । यसको ज्वलन्त उदाहरण केही दिनअघि देखिएको थियो ।
‘कोरोना भाइरसका कारण काठमाडौँका विभिन्न अस्पतालमा मानवीय क्षति भयो’ भन्ने हल्लाले केही दिन अघि सबैको दिमाग खिच्यो । हुँदै नभएको उक्त घटनालाई सामाजिक सञ्जाल केही डिजिटल मिडियाहरुले समाचारका रुपमा प्रकाशनसमेत गरे । मूलधारका भनिएका मिडियाले पनि त्यसैको नक्कल गरे र आम नागरिकमा आफ्नो मात्रै विश्वास गुमाएनन्, सञ्चार जगतकै विश्वास गुम्यो ।
यसो किन हुन्छ त ?
हरेकजसो विपद्का समयमा कोही न कोहीले उट्पट्याङ गरिरहेकै हुन्छन् । कोरोनाको सन्दर्भमा पनि त्यस्तै भयो र प्रहरीले हल्ला फैलाउनेलाई नियन्त्रणमा लियो । यसो हुनुका पछाडी मनोवैज्ञानिक कारण रहेको मनोवैज्ञानिक परामर्श दाताहरु बताउँछन् ।
मनोपरामर्श विज्ञ प्रेम भट्टराई यस्ता घटना हुनुमा मुख्यतः तिन कुराको प्रभाव रहने बताउँछन् । पहिलो परिवार, दोस्रो समाज र तेस्रो साथी समूह । यी तिन कुरा पनि सुन्दा एकै झै लाग्छ । तर पार्ने प्रभाव फरक फरक हुने भट्टराईको अनुभव छ ।
‘यस्ता मानिसको व्यक्तित्व विकासको क्रम हेर्दा आफूले जे जानेको छ वा जे सिकेको छ त्यसलाई नै प्रयोग गरेर समाजलाई आतंकित पार्ने गरेको देखिन्छ’ भट्टराई भन्छन्, ‘परिवारबाट संस्कार नसिकेको, समाजबाट उच्च नैतिक शिक्षा आर्जन नगरेको र साथी संगतबाट आवेश आउन सिकेका व्यक्तिहरु नै यस्ता खालका घटनामा सामेल देखिन्छन् ।’
सूचना तथा जानकारीको पूरै अध्ययन नगर्ने, आवेशमा आउने र ‘होला वा भोली हुन सक्ला’ भन्ने ठानेर पहिले नै हो नै जसरी लेख्ने तथा बोल्ने व्यक्तिले विपत्तिको समयमा त्रास फैलाउने गरेको उनको भनाई छ ।
‘अरुलाई दुःख दिँदा रमाइलो मान्ने मनोवैज्ञानिक प्रवृत्तिले यसमा रोल खेलेको हुन्छ’ मनोपरामर्श विज्ञ भट्टराई भन्छन्, ‘यसरी अरुलाई दुःख दिँदा रमाइलो मान्ने प्रवृत्ति पनि परिवार र समाज र साथी संगतबाटै विकसित भएको हुन्छ ।
उनका अनुसार हाल नेपालमा कुल जनसंख्याको ३ देखि ५ प्रतिशत मानिसमा यस्ता प्रवृत्ति देखिन्छ । ‘ठ्याक्कै अध्ययन गरेरै पत्ता लगाएको तथ्यांक त छैन, तर मसँग जति परामर्श लिन आउनुहुन्छ वा म आफैँ विभिन्न ठाउँमा गएर परामर्श दिएको छु, मेरो यो अनुभवले कुल जनसंख्याको ३ देखि ५ प्रतिशत मानिस यस्ता मनोविज्ञानका हुने देखाउँछ ।