लकडाउनमा २ करोड ६४ लाखको विद्युतीय चुल्हो बिक्रि, कम्पनी भन्छ, ‘अब आक्रमक व्यापार गर्छौँ’

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 13, 2020 | 02:35:16 PM मा प्रकाशित

laxmi  sunrise bank

‘लकडाउनका कारण विद्युत खपतमा कमी आयो’ र ‘विद्युत प्राधिकरणको नाफा घट्ने’ शीर्षकका समाचारहरु प्रकाशन भइरहेका छन् । तर सरकारकै स्वामित्वमा रहेको नेपाल सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने लकडाउनको यो अवधिसम्म नसोचेको व्यापार गरेको छ । 

इन्डक्सन चुल्हो सकियो

वि.सं. २०७२ सालमा नेपालले संविधान जारी गरेपछि असन्तुष्ट बनेको भारतले नाकाबन्दी लगायो । ५ महिना लामो नाकाबन्दी झेलेका नेपालीले नाकाबन्दी भएका बखत केही विद्युतीय चुल्हो खरिद गरे । त्यसो त, त्यतिबेला नेपालमा इन्डक्सन चुल्होको अभ्यास एकदमै न्युन थियो । 

भारतले लगाएको नाकाबन्दीकै समयमा चीनले १२ हजार थान इन्डक्सन चुल्हो नेपाल सरकारलाई दिएको थियो । त्यतिबेलाको नेशनल ट्रेडिङ कम्पनीले एउटा चुल्होको मूल्य १२ हजार रुपैयाँ मूल्य निर्धारण गरेर बिक्रि सुरु गर्यो । तर बजार मूल्यभन्दा महँगो भएको भन्दै चुल्हो नागरिकले रुचाएनन् । 

त्यतिबेला सरदर ३ हजारको हाराहारीमा इन्डक्सन चुल्हो बिक्रि भयो । बाँकी रहेका ९ हजारमध्ये विभिन्न समयमा १ हजार जति बिक्रि भएका थिए । त्यसपछि हालको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडसँग ८ हजार यस्ता चुल्हो बाँकी थिए । 

व्यापार कम्पनीको गोदाममा थन्किएका ८ हजार चुल्हो कोरोना भाइरसले सिर्जना गरेको लकडाउनको अवधिमा कम्पनीको व्यापारको बिक्रि सामग्री बन्यो । सरकारले इन्डक्सन चुल्हो प्रयोग गर्नेलाई विद्युत महशुलमा सहुलियत दिने घोषणा गरेपछि कम्पनीले एउटा चुल्होको मूल्य १२ बाट घटाएर ४ हजार रुपैयाँमा झार्यो । 

लकडाउन सुरु भएपछि कम्पनीले ६ हजार ६ सय थान इन्डक्सन चुल्हो बिक्री गरेको छ । भएका चुल्होको बिक्रि भएपछि अहिले कम्पनीको गोदाममा चुल्हो सकिएको छ । 

फेरि किन्ने तयारी

लकडाउनको यो अवधिमा यस्ता चुल्हो बिक्री गरेर २ करोड ६४ लाख रुपैयाँ कमाएको कम्पनीले थप हौसिएको छ । सरकारी स्वामित्वका कम्पनीहरु घाटामा रहँदै आएको विगतको अवस्थालाई ध्यानमा राखेर बजारमा आक्रमक रुपमा प्रस्तुत हुने कम्पनीको भनाई छ । 

‘भएको सबै इन्डक्सन चुल्हो सकियो । फेरि किन्नेबारे छलफल भईरहेको छ’ कम्पनीका नायब महाप्रबन्धक श्रीमणिराज खनालले भने, ‘लकडाउनमा भएको व्यापारले हामीलाई हौसला मिलेको छ, अब आक्रमक ढङ्गले उपस्थिति जनाउँछौँ ।’ 

कम्पनीले गत बुधबारबाट अनलाइनमार्फत खाद्यान्न बिक्रीसमेत सुरु गरेको छ । बुधबार वाणिज्य मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले गरेको अर्डर उनको सरकारी निवास सिंहदरबारमा पुर्याएर कम्पनीले ई–कमर्श सुरु गरेको हो । कम्पनीले चक्रपथभित्र निशुल्क होम डेलिभरी पनि गर्दै आएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved