जनता समाजवादी पार्टीले भनेको ‘बहुराष्ट्रिय राज्य’ के हो ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Apr 23, 2020 | 01:31:49 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी नेपालबीच पार्टी एकिकरण भएपछि दल दर्ताको प्रक्रिाय चलिरहेको छ । एकिकृत पार्टीका नेताहरु बिहिबार बिहान निर्वाचन आयोगमा पुगेर दल दर्ताको निवेदन दर्ता गराएका छन् । पार्टी एकिकरणको औपचारिक जानकारी आजै संसद सचिवालयलाई पनि जानकारी गराउने उनीहरुको तयारी छ । 

पार्टीको नाम ‘जनता समाजवादी पार्टी’, झण्डा साविकको समाजवादीको र चुनाव चिन्ह छाता रहने गरी सहमतिसहित दुई दलबीच बुधबार मध्यराती पार्टी एकता भएको थियो । 

तर यी दुई पार्टीबीच एकता भएर बनेको ‘जनता समाजवादी पार्टी’ले सहमतिपत्रमा उल्लेख गरेको ‘बहुराष्ट्रिय राज्य’ शब्द यतिबेला सामाजिक सञ्जालमा टिप्पणीको खास विषय बनिरहेको छ । सामाजिक सञ्जाल प्रयोग कर्ताहरुले उक्त शब्दलाई लिएर देश नै टुक्र्याउने नियतका साथ एकता भएको भन्दै पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, पूर्वमन्त्री उपेन्द्र यादव, राजेन्द्र महतो लगायत नेताहरुमाथि प्रश्न उठाईरहेका छन् । 

के हो बहुराष्ट्रिय राज्य ?

राजनीतिक वृतमा सिके राउत (हाल जनमत पार्टीका अध्यक्ष)ले यसअघि देश नै विभाजनको नारा लिएका थिए । हाल उनी उक्त नाराबाट पछि हटेर शान्तिपूर्ण राजनीतिको बाटोमा छन् । 

तर बुधबार राती मात्रै औपचारिक रुपमा बनेको र निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र पाईनसकेको जनता समाजवादी पार्टीले पनि सहमति पत्रमा बहुराष्ट्रिय राज्य शब्द प्रयोग गरेपछि यसको सर्वत्र आलोचना भईरहेको छ । उक्त पार्टीका नेताहरु भने सिंगो राष्ट्रभित्रै विभिन्न राज्यको परिकल्पना गरिएको र सोही अनुसार बहुराष्ट्रिय शब्द प्रयोग गरिएको बताउँछन् ।

तत्कालिन समाजवादी पार्टीको वुद्धीजिवी महासंघका महासचिवसमेत रहेका अधिवक्ता वीरेन्द्र ठाकुर एउटै राष्ट्रभित्र फरक फरक राज्यको परिकल्पना गरेर ‘बहुराष्ट्रिय राज्य’ शब्द प्रयोग गरिएको बताउँछन् । 

‘यसलाई छुट्टै राज्य भनेर बुझ्नु भएन, हामी नेपाली हौँ, नेपाल हाम्रो राष्ट्र हो’ उनले भने, ‘हामीले भनेको बहुराज्य पहिचानसहितको संघियता हो । जातीय, क्षेत्रीय, समुदायिक, भाषिक र भौगोलिक संघियताको परिकल्पना गरिएको हो ।’ 

उनले थपे, ‘कहि डाँफे छ, कहि परेवा छ । सबैतिर डाँफे त हुँदैन, डाँफेले पहिचान पाउने, परेवाले नपाउने भन्ने कुरा न्यायसंगत हुँदैन ।’ उनी थप्छन्, ‘हामी समाजवादमा विश्वास गर्छौ तर लेनिन, स्टालिनको जस्तो स्वरुपमा नभई हामी नेपालको माटो सुहाउँदो संघियतामार्फत समाजवादमा पुगिन्छ भनेर लागेका छौँ ।’ 

के भन्छन् विश्लेषक ?

‘बहुराष्ट्रिय राज्य’ शब्दलाई लिएर राजनीतिक विश्लेषकहरुले एउटै तर्क नगरेपनि उनीहरुले एकता भएर बनेको जनता समाजवादी पार्टीको नियतमा भने शंका गरेका छन् । राजनीतिक विश्लेषक खगेन्द्र प्रसाई शब्दको फरक फरक ब्याख्या गरेर नागरिकलाई झुक्याउने नियतका साथ उक्त शब्दावली प्रयोग गरिएको बताउँछन् । 

‘विश्वव्यापी मान्यताअनुसार बहुराष्ट्रिय राज्य भनेको बहुजातीय हो’ प्रसाई भन्छन्, ‘जस्तो की विश्वमा हाम्रो जात नेपाली हो । लेनिनले जातीयतालाई नेश्नालिटी भन्थे, उनले विश्वका देश अनुसार फरक फरक जात हुन्छ भन्थे, समाजवादमार्फत विश्व नै एउटा जात बनाउन चाहान्थे । तर यहाँ खराब नियत भएकाहरुले शब्दको व्याख्या नै फेरिदिए ।’ 

‘गोलमाल छ, समाजशास्त्र र मानवशास्त्रमा समेत नभएका शब्द राखेर तीनलाई वङ्ग्याएर गलत नियतले स्वार्थ अनुकुल व्याख्या गरिन्छ’ उनले थपे, ‘सिधै बहुजातीय राज्य भन्दा मानिसले चाँडै बुझ्छ र जातीयताको लडाई लड्न नेपालमा कोही पनि तयार छैनन् भन्ने बुझेर नियतका साथ ‘बहुराष्ट्रिय राज्य’ भन्ने शब्दको प्रयोग गरिएको देखिन्छ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved