मेयरको दादागिरी: आर्मीलाई ढुवानी गर्न राखेको तरकारी खोसेर खाल्डोमा पुरिदिए (भिडियो)

मोहम्मद अज्मत अलि

मोहम्मद अज्मत अलि

May 19, 2020 | 03:12:22 PM मा प्रकाशित

laxmi  sunrise bank

जनप्रतिनिधिले तरकारी खोसेर खाल्डोमा पुरेको समाचार सार्वजनिक भएको छ। शुक्लागण्डकी नगरपालिका ४ का २७ बर्षिय तरकारी व्यवसायी गणेश शाहलाई  मेयर किसान गुरुङ, उपमेयर सबिता रसाईलि लगायतका जनप्रतिनिधिको उपस्तिथीमा हातपात गरि स्टोरको तरकारी जफत गरेर खाल्डोमा पुरेको घटना सार्वजनिक भएको हो। 

तनहुँ जिल्लाका नेपाली सेनाका क्याम्पमा पुर्याउन स्टोरमा तरकारी तथा फलफुल प्याकिङ गर्ने क्रममा नगर प्रहरीको टोलिले मेयर गुरुङ र उपमेयर रसाइली लगायतका जनप्रतिनिधिको निर्देशनमा स्टोरको तरकारी जबर्जस्ती उठाएर खाल्डोमा पुरेको पाइएको छ। 

पोखरा तरकारी मन्डी, एन्फा फाँड बरादीबाट ल्याएको तरकारी संकलन गरेर नेपाली सेनाका क्याम्पमा पुर्याउन प्याकिङ गर्दै गर्दा तरकारी खोसेर खाल्डोमा पुरेको पिडित तारादेवी स्टोरका परिवारले बिजपाटीलाई बताए। 

आफु तरकारी लिएर स्टोरमा पुग्नु अगाडी नै त्यहाँ आफ्नो परिवारका अन्य सदस्यसँग वादविवाद सुरु भईसकेको र आफु स्टोरमा पुग्ने बित्तिकै तरकारी जफत गरिएको पिडितले बताए। पिडितकाअनुसार तनहुँ जिल्लाको नेपाली सेनाका क्याम्पलाई तरकारी तथा फलफुल पुर्याउने सम्झौता आफुले पाएको र त्यहिअनुसार सेनालाई तरकारी पुर्याउन स्टोरमा संकलन गर्दै गर्दा नियम उल्लङ्घन गरेको आरोप लगाएर तरकारी जफत गरि खाल्डोमा पुरिएको हो।

"पोखरा मन्डी र आसपासका क्षेत्रबाट तरकारी लिएर करिब १२ बजे स्टोर फर्किदा त्यहाँ पहिलेनै ठुलो भिंड थियो" घटना स्मरण गर्दै पिडित परिवारका गणेश शाह भन्छन, "म पुग्ने बित्तिकै गाडी जफत गरेर गाडीको तरकारी तथा फलफुल लगियो र स्टोरको सामान पनि लगियो, पटक पटक बिन्ति गर्दा पनि कसैले सुनेन, आँखै अगाडी २ लाखको तरकारी खाल्डोमा पुरिदिए, गरिखाने वातावरण भएन।"

बिभिन्न ठाउँबाट ल्याएको तरकारी तथा फलफुल स्टोरमा मिलाएर तनहुँ जिल्लाका बिभिन्न ठाउँमा रहेका आर्मी क्याम्पमा पुर्याउने तयारि गर्दै गर्दा कुनै पनि मौका नदिई गाडी खोसेर लगिएको शाहले बताए। स्टोरमा संकलन गरेर प्याकिङ गर्ने क्रममा गाह्रो भयो भनेर आग्रह गरेका एक दुई जनालाई तरकारी र फलफुल बिक्रि गरेको स्वीकार गर्दै शाहले स्थानीयलाई तरकारी बेच्ने उदेश्यले स्टोर खुला नगरिएको स्पष्ट पारे। 

आफुले आर्मी क्याम्पलाई सामान पुर्याउन जाँदा आफ्नो भ्यान क्याम्पको गेटबाहिर नै राखिने र त्यहाँबाट फलफुल तथा तरकारी स्यानीटाईज गरेर मात्र आर्मीहरुले प्रयोग गर्दै आएकाले यसबाट कोरोना फैलाउन यस्तो गतिबिधि गर्यो भन्ने आरोप निराधार रहेको शाहको दाबि छ। नियम बिपरित स्टोर खोलेर स्थानीयलाई बिक्रि गरेको भए कोरोना फैलाउन खोज्यो भन्ने आरोप सहि हुन्थ्यो तर स्थानीयलाई बिक्रि गर्न पाउने दिन र समय बाहेक अन्य दिन स्टोर नै नखुलेको शाहले बताएका छन्। 

उनि भन्छन, नगरपालिकाको नियम पालना गर्दै आएका छौं, स्थानीयलाई बिक्रि गर्न स्टोर खुला गरेको होइन, जिल्ला भरका आर्मी क्याममा पुर्याउनुपर्छ, त्यसका लागि स्टोरमा प्याकिङ गर्न पर्छ, त्यहि भएर स्टोर खुला गरेको हो, तर स्टोर खुला गर्यो भन्दै बल्ल बल्ल जोहो गरेर ल्याएको तरकारी र फलफुल खोसेर खाल्डोमा पुरिदिँदा चित्त दुखेको छ, यो नोक्सानी कहाँबाट भरपाई गर्ने चिन्ता बढेको छ। 

२२ बर्षे भाई, एक बहिनी र बुवा आमा सहित आफ्नो पारिवारिक व्यवसाय यहि मात्र भएकाले अब कसरि व्यवसाय गर्ने भन्नेबारे चिन्ता बढेकाले केहि सोच्न नसकेको शाहको भनाई छ। "नियम उल्लंघन भएको जस्तो लाग्दैन तर उल्लङ्घन नै भएको रहेछ भनेपनि केहि जरिवाना वा चेतावनी वा अरु कारवाही भएको भए हुन्थ्यो तर तरकारी नै खोसेर खाल्डोमा पुरिदिएका छन्, अब बैंकको सावाँ ब्याज कसरि तिर्ने, बिहान बेलुका के खाने, सोच्न सकेको छैन" शाहले दुख व्यक्त गरे। 

आफ्नो बुवा भारतीय नागरिक भएपनि आमा नेपाली भएकाले बर्षौंदेखि नेपालमै बसेको र यहींबाट स्कुल तथा मास्टर डिग्री गरेको बताउदै शाह भन्छन,  "हामीले  भारतको राशन कार्ड र नागरिकता त्यागेको बर्षौं भईसक्यो, नेपालबाट मास्टर डिग्री सकेपनि नागरिकता नहुँदा जागिर खाने ठाउँ छैन, त्यहि भएर तरकारी व्यवसाय गरेको हो, अहिले व्यवसाय नै खोसीएपछि अब के गर्ने ?"


नियम उल्लङ्घन गरेकाले तरकारी खाल्डोमा पुरेको जवाफ 

मेयर किसन गुरुङसँग यस बिषयमा कुराकानी गर्दा नियम उल्लङ्घन गरेकाले तरकारी जफत गरेर खाल्डोमा पुरेको जवाफ दिएका छन्। नगरपालिकामा हप्तामा दुई दिन आइतबार र बिहिबार तरकारी तथा फलफुल बिक्रि गर्न पाइने तर अन्य दिन नपाइने नियम रहेको र शाहको स्टोर तारादेवी स्टोरले उक्त नियम पालना नगरेकाले तरकारी जफत गरेर खाल्डोमा पुर्न निर्देशन दिएको मेयर गुरुङको जवाफ छ।

किसान गुरुङ | Shuklagandaki Municipalityआफुहरुले एक हप्तादेखि पटक पटक ताकेता गर्दा पनि अटेर गरेपछि तरकारी खोसेर खाल्डोमा पुरेको मेयर गुरुङले बताएका छन्। तर पिडित शाहले आफुहरुलाई कुनै नोटिस नआएको बताएका छन्।

सोमबार स्थानीयलाई बिक्रि गर्न नभई आर्मी क्याम्पमा पुरानै सम्झौताअनुसार सामान पुराउन स्टोरमा तरकारी तथा फलफुल संकलन गरिएको शाहको भनाई छ। २०७६ माघ १ देखि २०७७ पुष मसान्तसम्मको लागि तनहुँको आर्मी क्याम्पमा तरकारी तथा फलफुल पुर्याउने ठेक्का आफ्नो स्टोरले पाएको शाहले बताए। त्यहि सम्झौताअनुसार नै सोमबार स्टोरमा सामान संकलन गरेर प्याकिङ गर्दागर्दा यस्तो घटना घटेको शाहको भनाई छ। 

नियम उल्लंघन गरेको भए कारबाहीको पनि तरिका हुन्छ, तरकारी खोसेर नै खाल्डोमा फाल्नुपर्ने हो भन्ने प्रश्न गर्दा मेयर गुरुङले नियम उल्लङ्घनको परिणाम भएको जवाफ दिए।  नियम उल्लङ्घन  भए सामान जफत गरेर खाल्डोमा पुर्ने व्यवस्था स्थानीय तहको कुन कानुनमा छ भन्ने प्रश्नमा मेयर गुरुङले कुनै प्रतिकृया दिएनन। 

शुक्लागण्डकी नगरपालिकाको यो घटनाले लकडाउनको समयमा नियम अनुसार काम गरेर खान चाहने व्यवसायीहरुमा समेत चिन्ता थपिएको छ। ७५३ वटै सरकारले मुड को भरमा र टोलका केहि ब्यक्तिको सनकको भरमा साना तथा मझौला लगायतका व्यवसायी माथि शुक्लागण्डकी नगरपालिकाले जस्तै ब्यवहार गरे बिधिको शासन के हुन्छ भन्ने प्रश्न उब्जिएको छ। 

नियम उल्लंघन भए कारबाहीको व्यवस्था हुन्छ तर फलफुल पसलले गल्ति गरे फलफुल तरकारी खाल्डोमा पुर्ने, औषधि पसलले गल्ति गरे औषधि खाल्डोमा पुर्ने, दुध पसलले गल्ति गरे दुध खाल्डोमा पुर्ने, कपडा पसलले गल्ति गरे कपडा खाल्डोमा पुर्ने सजायले समाज कता जाला ? कि भोलि नेता र जनप्रतिनिधिले गल्ति गरे उनीहरुलाई कारबाहीको रुपमा खाल्डोमा पुर्ने हो ? शुक्लागण्डकीको यो घटना बाहिर आएपछि सर्वसाधारणले यस्तो प्रश्न गर्न थालेका छन्।

पोखरा आसपासका बिभिन्न ठाउँहरुबाट तरकारी तथा फलफुल खरिद गरिएको रसिद र तनहुँ जिल्लाको सेनाका क्याम्पलाई एक बर्ष तरकारी तथा फलफुल आपूर्ति गर्ने ठेक्का पाएको सम्झौताको कपि बिजपाटीसँग सुरक्षित छ -सम्पादक

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved