मेयर चौधरीले कसरी नियन्त्रणमा लिए कोरोनाको हटस्पट बनेको भुल्केको स्थिति ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 24, 2020 | 03:36:52 PM मा प्रकाशित

laxmi  sunrise bank

उदयपुरको त्रियुगा नगरपालिकाको भुल्के कोरोना भाइरसको केन्द्र जस्तै बनेको थियो । करिब महिना दिन अगाडी भुल्केका बस्दै आएका मुस्लिम समुदायका केही व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भयो । त्यसलगत्तै सो क्षेत्रमा त्रास फैलियो । स्थानीय सरकार भएको नाताले गर्नुपर्ने कर्तव्य त्रियुगाका जनप्रतिनिधिले डटेर पूरा गरे । 

निकै धेरै त्रास हुँदाहुँदै पनि त्रियुगामा ३३ जनामा मात्रै संक्रमण पुष्टि भयो । यीमध्ये २३ जना निको भईसकेका छन् । विराटनगरमा उपचार गरेर ७ जना त उदयपूर फर्किसकेका छन् । अब १० जना उपचाररत् छन्, उनीहरु पनि केही दिनमै डिस्चार्ज हुनेमा मेयर बलदेव चौधरी ढुक्क छन् । 

३ साता अघिको संवादमा निकै भकान्निएका मेयर चौधरी आज भने जनप्रतिनिधिको भूमीकामा कोरोनाको संक्रमण फैलनबाट रोक्न सकेकोमा खुशी छन् । उनका अनुसार भुल्केमा मात्रै १२ सय बढीको परीक्षण भएको छ । शनिबार मात्रै पनि त्यहाँ बस्दै आएका मुस्लिम समुदायका व्यक्तिहरुमा तेस्रो पटक परीक्षण गरिएको छ । उनी नतिजा नेगेटिभ आउनेमा आशावादी छन् । 

उदयपुरका एक जना पत्रकारलाई पनि कोरोनाको संक्रमण पुष्टि भएपछि उनका सम्पर्कमा रहेका १७० जनालाई ‘होम क्वारेन्टाइन’मा राखिएको छ । उनी केही खिन्न हुँदै भन्छन्, ‘किट अभावले गर्दा उनीहरुको पिसिआर परीक्षण गर्न सकिएन, तै पनि मैले दिनमा ३ पटक उनीहरु सबैको स्वास्थ्य अवस्था बुझ्न ६ जना कर्मचारी नै खटाएको छु ।’ 

भुल्केको सिल खोल्ने तयारी

कोरोनाका संक्रमित थपिँदै गएपछि स्थानीय प्रशासनले उदयपुरको भुल्केलाई सिल गरेको छ । तर अब सबैको परीक्षण भएको र शंकास्पद कोही पनि नरहेका कारण नगरपालिकाले प्रशासनसँग सिल खोल्नेबारे छलफल थालेको छ । 

‘हिजो परीक्षण भएकाको रिपोर्ट भोली आउँछ’ मेयर चौधरीले भने, ‘रिपोर्ट आएपछि सिल खोल्ने तयारीमा छु । राहत बाँड्नका लागि सजिलो हुने गरी सिल खोल्ने र स्थानीय स्तरमै केही मानिसहरुलाई काम गर्ने वातावरण बनाउछु । मैले छलफल गरिरहेको छु, रोग फेरि फैलन नदिन विभिन्न उपाय लगाएर काम खुलाउने तयारी गर्दैछु ।’

केन्द्र र प्रदेश सरकारसँग गुनासो उस्तै

झण्डै महिना दिन अगाडी कुरा गर्दा उनले गुनासो गरेका थिए, ‘डाक्टर, उपकरण, भेन्टिलेटर केही छैन, केन्द्र र प्रदेश सरकारका मन्त्रिहरु फोन गर्दा उठाईदिनु हुन्न ।’ उनले निकै भावुक हुँदै केन्द्र र प्रदेश सरकारले थर्मोगनसमेत नदिएको गुनासो गरेका थिए । अहिले पनि उनको गुनासो कम भएको छैन, बरु बदलिएको छ । 

‘अहिलेसम्म जति गर्न सक्यौ, हाम्रै स्रोत र साधनले गरेका हौ’ उनले भने, ‘भारतबाट मान्छे आउने क्रम बढिरहेको छ । उनीहरुलाई राख्न विशेष किसिमको क्वारेन्टाइन व्यवस्थापन गर्न केन्द्र र प्रदेश सरकारले बजेट पठादिनु पर्यो ।’ 

आफ्नो ठाउँका नागरिक जहाँ भएपनि सकुशल ल्याउनुपर्ने आफ्नै ठान्छन् उनी । त्यसैले हरेक दिनजसो भारतबाट सिमासम्म आइपुगेका नागरिक ल्याउने काममा खटिरहेका छन् । तै पनि क्वारेन्टाइन राम्रो भएन भनेर आफैँमाथि आरोप आउँदा उनी केही खिन्न हुन्छन् । 

‘मान्छेलाई फेसबुकमा लेखिदिए भैहाल्यो, काम गर्न कति गाह्रो हुन्छ भन्ने कुरा गर्नेले भोगेको हुन्छ’ उनले भने, ‘सिमामा आफ्ना नागरिक लिन जाउ आफैँ, क्वारेन्टाइनमा बसेकाहरु बिरामी भन्ने खबर आउँछ, एम्बुलेन्स लिएर कुद आफैँ, क्वारेन्टाइन बना आफैँ, समुदायमा जनचेतना फैलाउ आफैँ । यसरी काम गर्दा पनि आलोचना हुँदोरहेछ ।’ 

मेयर चौधरी सत्तारुढ नेकपाको केन्द्रीय सदस्य तथा उदयपूर जिल्ला इन्चार्जसमेत हुन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved