लगानी बोर्डको सीईओको दौडमा ५ भाइ, कुन नेताको समर्थन कसलाई ?

निरोज कुमार थापा

निरोज कुमार थापा

Jul 24, 2020 | 11:57:25 AM मा प्रकाशित

laxmi  sunrise bank

लगानी बोर्डको रिक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न ‘सर्ललिष्टेड’ व्यक्तिहरु शक्तिकेन्द्र धाउन थालेका छन् । अर्थमन्त्री संयोजक रहेको छनौट समितिले १२ जना आकांक्षीमध्येबाट पाँच जनाको नाम सर्टलिष्ट गरेसँगै ५ जनाभित्र परेका व्यक्तिहरुले लविङ थालेका हुन् । सर्ललिष्टमा परेका ५ जनामा डा. सरोज कोइराला, दीपकराज जोशी, रामकृष्ण खतिवडा, सुशील ज्ञवाली र सुशील भट्ट छन् । 

कसको अनुभव के ?

सर्टलिष्टको सूचीमा परेका डा. सरोज कोइराला यसअघि पनि बोर्डको सीईओको दाबेदार थिए । त्यतिबेला सिफारिस समितिले ३ जनाको नाम पठाउँदा एक नम्बरमा रहेका कोईरालालाई पन्छाएर मन्त्रिपरिषद् बैठकले महाप्रसाद अधिकारीलाई सीईओ नियुक्ति गरेको थियो । महाप्रसाद अधिकारी हाल राष्ट्र बैंकको गर्भनर छन् । 

वैदेशिक लगानी (एफडीआई)मा विद्यावारिधी गर्ने एक मात्र नेपालीसमेत रहेका डा. कोइराला हाल प्रदेश १ को लगानी प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत छन् । यसबाहेक उनको कार्यानुभव देखिँदैन ।

लगानी बोर्डको सीईओको दाबेदारका रुपमा हेरिएका दीपकराज जोशी नेपाल पर्यटन बोर्डका पूर्वसीईओ हुन् । २०७२ सालमा गएको भूकम्पका कारण सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न जोशीले भूमीका खेलेका थिए । पर्यटन बोर्ड पब्लिक प्राइभेट पार्टनरसीप (पीपीपी) मोडलको संस्था भएकाले यो मोडलमा काम गरेको अनुभव जोशीसँग छ ।

पर्यटन बोर्डमा आएको २ वर्षमा नै दोब्बर पर्यटक भित्र्याएका उनले भूकम्पपछि नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न आग्रह गर्दै धेरै देशमा प्रस्तुति दिएका थिए । भूकम्पपछि सुस्ताएको पर्यटन क्षेत्रलाई चाँडै गति दिन योगदान पुर्याएवापत ‘बेष्ट च्यालेन्जर’ जस्ता थुप्रै अन्तराष्ट्रिय अवार्डसमेत पाएका उनले हाल पनि लगानीका क्षेत्रमा सुझावहरु दिँदै आएका छन्।

रामकृष्ण खतिवडा भने लगानी बोर्डमा नै परामर्शदाताको रुपमा काम गरेर छोडेका व्यक्ति हुन् । यसबाहेक उनले ठूलो संस्थामा बसेर काम गरेको अनुभव छैन ।

सुशील ज्ञवाली भने हाल पुननिर्माण प्राधिकरणको सीईओ छन् । सुरुमा गोविन्दराज पोखरेल प्राधिकरणको सीईओ थिए । तर केपी ओली पहिलो पटक प्रधानमन्त्री भएका बेला उनलाई हटाएर ज्ञवालीलाई ल्याईएको थियो । ओली सरकार ढालेर कांग्रेस र तत्कालीन माओवादी मिलेर गठबनधन सरकार बनाएपछि ज्ञवालीलाई हटाएर फेरि पोखरेललाई ल्याईएको थियो । पोखरेल कांग्रेसबाट उम्मेदवार बनेर चुनाव लड्ने भन्दै प्राधिकरणबाट राजीनामा दिएर हिडेपछि युवराज भुसाललाई सीईओ बनाएर ल्याईएको थियो । तर ओली दोस्रो पटक प्रधानमन्त्री बनेर आएपछि उनलाई हटाईएर फेरि ज्ञवालीलाई फर्काईएको हो ।

तर उनले अपेक्षा अनुसार काम गर्न सकेका छैनन् । पौष १० सम्म म्याद रहेको प्राधिकरणले बल्ल ६५ प्रतिशत निजी आवासको काम सकेको छ । पुरातात्विक महत्वका सम्पदा अझै उठ्न सकेका छैनन् ।

अर्का दाबेदार सुशील भट्ट भने अहिले पनि राष्ट्रिय योजना आयोगका सदस्य छन् । जलविद्युतको क्षेत्रमा काम गर्दै आएका उनी चिनियाँ कम्पनी ‘चाइना गेजुवा ग्रुप अफ कम्पनी’ को नेपालका एजेन्ट पनि हुन् ।

कसको समर्थन कसलाई ?

डा. सरोज कोइरालाई बोर्डको सीइओ बनाउन प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइ आफै लागेका छन् । पूर्व सञ्चार मन्त्रीसमेत रहेका उनी सत्तारुढ नेकपाभित्र केपी ओली समूहका व्यक्ति हुन् । उनले बोर्डको सीइओमा डा. कोइरालालाई नै नियुक्त गर्नुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिसकेको बताइन्छ ।

दीपकराज जोशीलाई भने कसको समर्थन छ भन्ने खुलिसकेको छैन । यद्यपी उनलाई प्रधानमन्त्रीको सचिवालयबाट समर्थन रहेको बुझिन्छ । राजनीतिक रुपमा टाढा बस्दै आएका उनी पर्यटन बोर्डको सीईओ रहँदा पनि नेकपा र काँग्रेस दुबै दलको सरकारसँग उत्तिकै निकट भएर काम गरेका थिए ।

रामकृष्ण खतिवडालाई भने अर्थमन्त्री डा. युवराज खतिवडा र गभर्नर महाप्रसाद अधिकारीको समर्थन रहेको बुझिएको छ । उनीहरुसँगै पूर्व सञ्चारमन्त्री गोकुल बाँस्कोटा पनि खतिवडालाई सीईओ बनाउनुपर्ने लाइनमा छन् । 

पुनर्निर्माण प्राधिकरणको सीईओ रहेका सुशील ज्ञवालीलाई भने नेकपाका महासचिव बिष्णु पौडेलको दह्रो साथ छ । पौडेलकै आश्वासनमा ज्ञवालीले लगानी बोर्डको सीईओको लागि आवेदन दिएको बताइन्छ । 

अर्का दाबेदार सुशील भट्ट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल निकट हुन् । प्रचण्डका विश्वासपात्र मानिने भट्टले पनि प्रचण्डबाट आश्वासन पाएरै बोर्डको सीईओ बन्न दाबेदारी प्रस्तुत गरेको नेकपा भित्र चर्चा छ ।

सीईओ छनोटका लागि अर्थमन्त्री डा. खतिवडाको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल र डा. गोविन्द नेपाल सदस्य रहेको समिति छ । यो समितिले सर्टलिष्टमा परेका ५ जनाबाट प्रस्तुति लिएपछि ३ जनाको नाम मन्त्रिपरिषद्मा पेश गर्नेछ । समितिले ३ जनाको नाम दिएपछि मन्त्रिपरिषद्ले एक जनालाई बोर्डको सीईओमा नियुक्ति गर्नेछ ।महाप्रसाद अधिकारी राष्ट्र बैंकको गर्भनर भएपछि लगानी बोर्डको सीईओ पद खाली छ ।

यसअघिः

विष्णु पौडेलको बुई चढेर लगानी बोर्डको सीईओ बन्ने दाउमा सुशिल ज्ञवाली 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved