मास्क र स्यानिटाइजरको मूल्य नतोकिनुको कारण के हो ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 04, 2020 | 04:16:48 PM मा प्रकाशित

laxmi  sunrise bank

गृह मन्त्रालयले असार पहिलो हप्ता मास्क र स्यानिटाइजरलाई अत्यावश्यक बस्तुको सूचीमा राखेको थियो । कोरोना भाइरसका कारण २०७६ चैत्र ११ गतेदेखि मूलुक लकडाउन हुँदा मास्क र स्यानिटाइजरको अभाव सिर्जना भएपछि गृह मन्त्रालयले असारमा आएर यी दुइ बस्तुलाई अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को अपदफा (१) बमोजिम अत्यावश्यक बस्तुको सूचीमा राखेको थियो । 

गृहले यस्तो निर्णय गरेपछि २०७७ असार ८ गते नेपाल राजपत्रमा सूचना नै सार्वजनिक भएको छ । सूचनामा मास्क र स्यानिटाइजर सेवामा हड्ताल गर्न निषेध गरिएको उल्लेख छ ।

किन ढिलो गरियो ?

चैत्रदेखि लकडाउन भएको र यो अवधिमा बजारमा धेरै नै माग भएपनि अभाव सिर्जना भएको थियो । तर गृह मन्त्रालयले भने चैत्रदेखि जेष्ठसम्म कुनै निर्णय नगरी असारमा मात्रै निर्णय गरेको छ । गृहको निर्णय आएको बेला बजारमा अभाव हुन छोडिसकेको थियो ।

‘अत्यावश्यक सेवा सञ्चालन ऐन, २०१४ अनुसार अति आवश्यक बस्तुको सूची हरेक ६/६ महिनामा पुनरावलोकन हुने गर्दछ’ गृहका सूचना अधिकारी उमाकान्त अधिकारीले भने, ‘एक पटकको सूचीमा परेका बस्तुहरु ६ महिनापछि पुनरावलोकन गर्दा नपर्न सक्छन्, बजारमा माग बढ्दै गएका बस्तुहरु यो सूचीमा पर्ने हुन् ।’ 

चैत्रबाट लकडाउन भएपनि असारमा मात्रै मास्क र स्यानिटाइजरलाई अत्यावश्क बस्तुको सूचीमा राख्दा ढिलाई भने भएको गृहले स्वीकार गरेको छ । तर ऐन अनुसार नै ६/६ महिनामा गर्नुपर्ने भएकाले असार ८ गतेको राजत्रपमा सूचना सार्वजनिक गरिएको गृह स्रोतले बताएको छ ।

मूल्य किन तोकिएन ?

मास्क र स्यानिटाइजर उत्पादनका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले निश्चित मापदण्ड तोकेको छ । स्यानिटाइजरमा मिथानल मिसावट भएको हुन नहुने लगायत मापदण्ड छन् । सोही अनुसार स्वास्थ्य सेवा विभाग र औषधि व्यवस्था विभागले मापदण्ड अनुसार भए नभएको जाँच गर्ने गरेको बताएका छन् ।

तर मूल्य भने उद्योगी आफैँले तोक्ने गरेका छन् । उत्पादनमा लाग्ने लागतका आधारमा उद्योगी आफैँले मूल्य तोक्ने र बस्तुको भाउ बजार माग अनुसार नै निर्धारण हुने भएकाले सरकारले नतोकेको सरकारी अधिकारीहरु बताउँछन् । 

‘न्युनतम मापदण्ड तोक्ने निकाय भएपनि मूल्य भने उद्योगीहरुले नै तोक्ने हो’ वाणिज्य विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले भने, ‘खुला अर्थतन्त्रमा बजार माग अनुसार मूल्य निर्धारण हुने भएकाले सरकारले तोक्न सक्दैन ।’ 

यद्यपी वाणिज्य विभाग यसको मापदण्ड र मूल्यका विषयमा बोल्ने आधिकारीक निकाय भने नभएको उनको भनाई छ । बजारमा धेरै वटा उद्योगले मास्क र स्यानिटाइजर उत्पादन गर्ने भएकाले उद्योगीहरुकै बीचमा कसले सस्तोमा सामान दिन सक्ने भन्ने प्रतिस्पर्धा रहेकाले उद्योगीहरुले लागतमा थोरै प्रतिशत मात्रै नाफा राखेर बजारमा पठाउने गरेको दाबी गरेका छन् ।

‘बजारमा सामान पठाउँदा गुणस्तर र सस्तो दरमा उपभोक्ताले जुन पाउँछ त्यही किन्छ’ एक जना उद्योगीले भने, ‘यस कारण जसको उत्पदान सस्तो र राम्रो हुन्छ उसैको बिक्छ, उद्योगीहरुकै बीच प्रतिस्पर्धा रहेकाले महँगो हुन पाउँदैन ।’ 

‘औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योगले उत्पादन गरेको स्यानिटाइजरको मूल्य तोकेको भएपनि भारतबाट आयात हुने स्यानिटाइजरको भने न गुणस्तर परीक्षण गरिएको छ, न मुल्य नै तोकिएको छ’ एक जना उद्योगीले भने ।

छिमेकमा के छ अभ्यास ?

भारतमा एक एमएल स्यानिटाइजरको मूल्य ०.५० भा पर्छ । भारतमा ६० एमएल स्यानिटाइजरको मूल्य ३० रुपैयाँ भारु तोकिएको छ । तर उद्योगीले बिक्रेतालाई २३.५० रुपैयाँ भारुमा नै दिँदै आएका छन् ।

भारतमा सर्जिकल मास्कको मूल्य ६ रुपैयाँदेखि तय गरिएको छ । नेपालमा भने मास्कको मूल्यमा एकरुपता छैन ।

नेपालमा स्यानिटाइजरको मूल्य भने ७५ एमएलको १२० रुपैयाँ पर्ने गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved