बालाजु बोहोराटारमा श्रीकृष्ण भट्टराई आफूले घर बनाउँदा प्रयोग गरिरहेको जगदम्बा स्टिलको रड÷छड मा समस्या आएपछि गुणस्तर विभाग पुगेका छन् । बिहिबार विभागमा पुगेर उनले जगदम्बाका रड मर्काउँदा भाँचिएको भन्दै गुणस्तर परीक्षणका लागि निवेदन दिएका हुन् ।
मिलापत्र गर्न दबाब
माघ १६ गतेबाट घर बनाउन सुरु गरेका उनले साउनको २८ गते बिहान मात्रै रडमा खराबी भेटेका थिए । पछिल्लो पटक झारेका रड मर्काउँदा भाँचिन थालेपछि उनले कम्पनीमा गुनासो गरेका थिए । बिहिबार र शुक्रबार कम्पनीका प्रतिनिधि पुगेर उनलाई मिलापत्र गर्न दबाब दिईरहेको पाईएको छ ।
‘हिजो आएर हाम्रो रडमा कुनै खराबी छैन भनेर फर्किएका थिए, आज पनि बिहान आएका थिए’ श्रीकृष्णका छिमेकीले भने, ‘आज चाँही उनीहरुले मिल्न दबाब दिएका रहेछन्, तपाईको माग के हो भनेर घरबेटीलाई सोधेछन् पनि । तर घरबेटीले क्षतिपूर्ति चाहिने भनेपछि उनीहरु क्षतिपूर्ति दिन नसक्ने भन्दै फर्किए ।’
यसअघि: हातैले भाँचियो जगदम्बाको डण्डी, यसरी ठगिए बालाजुका श्रीकृष्ण (भिडियोसहित)
श्रीकृष्णका एक छिमेकीले भने गुणस्तरहीन रड देशैभर पुगेको हुने भएकाले कम्पनीले आफ्ना प्रतिनिधि पठाएर मिल्न दबाब दिईरहेको छ । एक लटमा ल्याएका जति रड ‘एक्सचेन्ज’ गर्न सकिने तर पूरै क्षतिपूर्ति दिन नसक्ने भन्दै उनीहरु फर्किएको प्रत्यक्षदर्शीले बताएका छन् ।
मिडिया नगुहार्न चेतावनी
बिजपाटी डटकमले यो विषयमा भिडियोसहित समाचार प्रकाशन गरेपछि गुणस्तर विभागले पनि यसमा चासो देखाएको छ । विभागमा स्वयम् पीडित नै उपस्थित भएर निवेदन दिईसकेका छन् । तर जगदम्बा कम्पनीले भने मिडियामा नजान पीडितलाई चेतावनी दिएको छ ।
‘एक दुई वटा मिडियामा समाचार नै आईसकेछ, तपाईहरुले हामीलाई भन्दा पहिला मिडियालाई बोलाउनु हुन्नथ्यो’ कम्पनीका प्रतिनिधिलाई उधृत गर्दै एक जना प्रत्यक्षदर्शीले भने, ‘अब जे हुनु भइहाल्यो, अरु मिडियामा चाँही यो समाचार नआओस् ।’
‘पहिला मिडिया बोलाउनु भएछ’
कम्पनीका सेल्स म्यानेजर राजिव जैशवालले पनि रडमा खराबी देखिएपछि आफूहरुलाई बोलाउनुको सट्टा उनीहरुले मिडियालाई बोलाएको आरोप लगाएका छन् । तर श्रीकृष्ण र ठेकेदारले भने डिपो र कम्पनीमा खबर गर्दा कुनै वास्ता नगरेपछि बाध्य भएर मिडियाको साहारा लिनुपरेको बताएका छन् ।
‘म बिहिबार दिउँसो साढे ३ बजेतिर पुगेको थिएँ’ कम्पनीका सेल्स म्यानेजर जैशवालले भने, ‘तर म पुग्नुभन्दा अगाडी नै पत्रकारहरु आएर फर्किसक्नु भएको रहेछ । हामीले गल्ती भए स्वीकार गर्छौ भनेका छौँ, गुणस्तर परीक्षणको रिपोर्ट आएपछि थाहा हुन्छ ।’
गुणस्तर तथा नापतौल विभागले शुक्रबार सबेरै प्रतिनिधि पठाउने र केही दिनमै रिपोर्ट आउने बताएको छ ।