‘आँ गर्दा अलङ्कार बुझ्ने खतिवडा जस्तो अर्थमन्त्री अब पाइँदैन’

निरोज कुमार थापा

निरोज कुमार थापा

Sep 04, 2020 | 01:58:51 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्रियसभा सदस्यमा सिफारिस नहुने भएपछि मन्त्रीबाट उनको बहिर्गमन निश्चित भएको छ । बेला बेलामा कर तथा राजश्व संकलनमा कठोर बनेको आरोप खेप्दै आएका अर्थमन्त्री खतिवडालाई उद्योगी व्यवसायीले निकै आलोचना पनि गर्ने गरेका थिए । लकडाउनको समयमा कर तिर्न ताकेता गरेको, विभिन्न बस्तुको भन्सार बढाएको जस्ता कुरामा आलोचित बन्दै आएका उनको बिदाइबारे भने उद्योगी व्यवसायीले मिश्रित प्रतिक्रिया दिएका छन् । 

‘ए’ भन्दा ‘जेड’ सम्मै बुझ्नुहुन्थ्यो

नेपाल उद्योग परिसंघ (सीएनआई) का अध्यक्ष शतिष मोर मन्त्रालयमा रहँदासम्म डा. खतिवडाले गरेका कामको रिजल्ट देखिन समय लाग्ने बताउँछन् । लगानी र रोजगारी सिर्जनामा दीर्घकालिन महत्व राख्ने काम गर्दागर्दै पनि तत्कालका लागि उद्योगी व्यवसायी मैत्री नदेखिँदा उनको आलोचना हुने गरेको अध्यक्ष मोरको भनाई छ ।

‘राजनीतिक विषय भएकाले मन्त्रीहरु आउने जाने भईरहनु नियमित प्रक्रिया नै होला, तर, उहाँसँग काम गर्न सहज थियो’ उनले भने, ‘अर्थको ज्ञाता नै भएका कारण उहाँलाई ‘ए’ भन्दा ‘जेड’ सम्मै बुझ्नुहुन्थ्यो ।’

कोरोना भाइरसका कारण सिर्जना भएको असहज अवस्थालाई सामान्य बनाउन विज्ञ अर्थमन्त्री चाहिने भएकाले अब आउने अर्थमन्त्रीले भयावह अवस्थाको सामाना गर्ने हिम्मत राख्नुपर्ने उनको भनाई छ । 

‘अब आउनेले यसो गर्छ की, उसो गर्छ की भनेर अहिले आशा र कल्पना गर्नु उचित्त हुँदैन, यो कुरा ज्योतिष विज्ञानले भन्न सक्ला, हामीले सक्दैनौँ’ अध्यक्ष मोरले भने, ‘अब आउने मन्त्रीलाई हामीले भनेका कुरै बुझ्नै समय लाग्छ, रिजल्ट त कहिले देखिएला र ?’

‘उहाँ जस्तो अर्थमन्त्री अब पाइँदैन’

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का जिल्ला नगर उपाध्यक्ष एवम् आगामी कार्यकालका लागि बरिष्ठ उपाध्यक्षका उम्मेद्वार किशोर प्रधान डा. युवराज खतिवडाले अर्थतन्त्र व्यवस्थित बनाउन इमानदारीताका साथ काम गरेको बताउँछन् । 

‘उहाँको इमानदारीतामा कुनै प्रश्न गर्ने ठाउँ छैन, प्रधानमन्त्रीले विश्वास गरेर उहाँलाई जुन अवसर दिनुभयो, त्यसपछि उहाँले जे जति गर्नुभयो, त्यो इमानदारीताका साथ नै गर्नुभयो’ उपाध्यक्ष प्रधानले भने, ‘त्यसको रिजल्ट देखिन समय लाग्छ ।’

‘एउटी महिला गर्भवती भएपछि ९ महिनासम्म पीडा हुन्छ, बच्चा जन्मेपछि पनि केही वर्ष हुर्काउन पीडा नै हुन्छ । तर जब बच्चा हुर्केर बढ्छ, त्यसपछि उसले आफ्नी आमाको कति गुणगान गाउँछ ?’ प्रधान भन्छन्, ‘आमाले पीडा भोगेर आफूलाई जन्माएको, बढाएको कुरा त जति नै गुणगान गाएपनि कमी नै हुन्छ नि, अहिलेका अर्थमन्त्रीको कुरा पनि यही हो, अहिले पीडाको अवस्था छ । तर, अबको केही वर्ष पछि अर्थशास्त्रीहरुले उहाँ (डा. खतिवडाको) को गुणगान गाउन थाल्नेछन् ।’

प्रधानले डा. खतिवडाले इमानदारीताका साथ काम गरेकै कारण ६ महिना लामो लकडाउनको समयमा पनि मूलुकको आर्थिक सञ्चितीले धान्न सकेको बताए । अझै पनि अर्बौको सञ्चिती बाँकी रहेको उनको भनाई छ ।

‘लामो समय बिग्रेको अर्थतन्त्र अढाई वर्षमा नै सुध्रिन्छ भन्ने होइन, यो अपेक्षा गर्नु पनि मुर्खता हो’ प्रधानले भने, ‘तर केही राम्रा सूचकहरु देखिएका छन्, म त भन्छु, उहाँ जस्तो योग्य अर्थमन्त्री हामीले अब सायदै पाउँछौँ ।’

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved