एक भोटका लागि ५ लाखको ललिपप !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 27, 2020 | 10:46:05 PM मा प्रकाशित

laxmi  sunrise bank

रामेछाप जिल्ला सदरमुकाम मन्थलीमा गत फागुन ६ गतेदेखि दोस्रो ‘रामेछाप महोत्सव’ को आयोजना भएको थियो । महोत्सवको समापन कार्यक्रम फागुन दोस्रो हप्ता तय भएको थियो । समापन कार्यक्रमको प्रमुख अतिथिका रुपमा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष चन्द्र प्रसाद ढकाललाई लगिएको थियो ।

चन्द्र ढकाल चुनावी दौडमा रहेको बेला रामेछाप महोत्सवको मञ्चलाई उनले भोट माग्न प्रयोग गरे । महासंघको बरिष्ठ उपाध्यक्षका उम्मेद्वार रहेका ढकाल त्यति बेलासम्म चैत्र २८ गते महासंघको साधारणसभा र २९ गते निर्वाचन हुन्छ भन्नेमा आशावादी थिए । तर, कोरोना भाइरसका कारण चैत्र ११ गतेदेखि नै मूलुक लकडाउन हुँदा महासंघको साधारणसभा पटक पटक सर्दै आएको छ ।

हाल मंसिर ११ र १२ गतेका लागि साधारणसभा गर्न महासंघले सरकारबाट अनुमति पाएको छ ।रामेछाप उद्योग वाणिज्य संघले महासंघको आगामी निर्वाचन ढकाल समूहलाई सघाउने औपचारिक घोषणा पनि महोत्सवबाटै गरेको थियो । 

रामेछापलाई कसरी फकाए ढकालले ?

रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् महासंघको वागमती प्रदेश समितिको कृषि विकास समन्वय समितिका संयोजक पशुपति बहादुर खड्काले काठमाडौँ आएर चन्द्र ढकाललाई रामेछाप महोत्सवको समापन समारोहको प्रमुख अतिथि बनिदिन आग्रह गरे । ढकालले रामेछापले महासंघको निर्वाचनमा आफूलाई सहयोग गर्ने संकेत पाएपछि उनी रामेछाप जान राजी भए ।

ढकालले अनौपचारिक रुपमा रामेछाप महोत्सवका लागि ५ लाख रुपैयाँ दिने भनेका थिए । तर, उद्योग वाणिज्य संघ, रामेछापले महोत्सवलाई नभर्ई संघलाई पैसा दिन अनुरोध गरेका कारण महोत्सवले ढकालबाट अनौपचारिक रुपमा घोषणा भएको सहयोग नपाएको स्रोत बताउँछ । 

‘चन्द्र ढकालले ५ लाख रुपैयाँ दिन्छु भनेका थिए, त्यो पैसामध्ये ५० प्रतिशत उद्योग वाणिज्य संघ र ५० प्रतिशत सामाजिक सशक्तिकरण नेपाल (सह–आयोजक) ले पाउने भनिएको थियो’ स्रोतले भन्यो, ‘तर, उद्योग वाणिज्य संघले महोत्सवलाई हामीले पैसा दिएका छौँ, तपाईले दिने भनेको पैसा महोत्सवलाई दिनु पर्दैन पछि संघलाई दिनु भनेछन् ।’

संघबाटै पैसा दिनुपर्दैन भनेपछि ढकालले समापन समारोहमा आर्थिक सहयोगको कुनै कुरा नगरेको बताइन्छ । ढकालले महोत्सवलाई दिने भनेको पैसा भित्रि रुपमा उद्योग वाणिज्य संघले एकलौटी लिएर ५ लाखमा निर्वाचनमा ढकाललाई सहयोग गर्ने बचन दिएको स्रोतले दाबी गरेको छ।

तर काठमाडौँबाट ढकाललाई लिएर रामेछाप गएका पशुपति बहादुर खड्का भने चन्द्र ढकालबाट संघले कुनै पैसा नलिएको बताउँछन् । उनलाई पैसा पाएर वा पैसा पाउने आशामा निर्वाचनमा सघाउने निर्णय भएको नभई डि.बी. बस्नेत लगायतका व्यक्तिहरुसँग सल्लाह गरेर ढकाललाई सघाउने निर्णय भएको खड्काको दाबि छ। युवा र बौद्धिक व्यक्तित्व भएका कारण रामेछापको एक भोट ढकाललाई दिने निर्णय भएको उनले बताए । 

महोत्सवलाई होइन, संघलाई पैसा

संघ स्रोतले भने ढकालले दिने भनेको ५ लाख महोत्सवलाई नभई जिल्ला उद्योग वाणिज्य संघलाई दिने भनेको दाबी गरेको छ । तर, त्यो पैसा अहिलेसम्म प्राप्त नभएको स्रोतले बताएको छ । अध्यक्ष केशव प्रसाद घिमिरेका कारण पैसा उठाउन नसकिएको स्रोतको आरोप छ । 

‘जिल्ला उद्योग वाणिज्य संघलाई नै पैसा दिने कुरा भएको हो, महोत्सवमा आएको बेलामा दिने भनेको हुनाले महोत्सवलाई कति दिने संघले कति राख्ने भन्ने कुरा उठेको हो’ स्रोत भन्छ, ‘तर, अन्तिममा पैसा माग्ने की नमाग्ने भन्ने भयो, उहाँले दिने भनेको पैसा लिँदा संघकै आम्दानी बढ्ने हो भनेर लिने भनियो तर हाम्रो जिल्ला अध्यक्षको कार्य क्षमता नहुँदा पैसा उठाउन सकिएन । जसका कारण सोनु रोकाहरुको संस्था पनि घाटामा गयो, हामीलाई पनि फाइदा भएन ।’

सोनु रोका सो महोत्सवको संयोजक हुन् ।

‘पैसा मागिएकै छैन’

उद्योग वाणिज्य संघ रामेछापका अध्यक्ष केशव प्रसाद घिमिरेले भने ढकाल रामेछाप आउँदा उनीसँग पैसा नमागेको बताएका छन् । भवनमा ‘डेकुरेशन’ गर्नका लागि केही सहयोग गर्नुपर्ने आफूहरुको मागमा उनी सकारात्मक रहेको तर रकम नै तोकेर यति चाहिन्छ भनेर आफूहरुले नभनेको उनको भनाई छ । ‘हामीले कुनै पैसा मागेका पनि होइनौँ, उहाँले यति नै दिन्छु पनि भन्नु भएको छैन’ अध्यक्ष घिमिरेले भने, ‘आवश्यक पर्दा सहयोग गर्छु भन्नु भएको छ ।’ 

उनले महोत्सव समापनमा प्रमुख अतिथि बनाएका कारण ढकाललाई निर्वाचनमा सघाउने भनिएको तर औपचारिक निर्णय भने नभएको पनि बताएका छन् । कुन समूहलाई सहयोग गर्ने भन्ने निर्णय गर्न उद्योग वाणिज्य संघ रामेछापको बैठक केही दिनमै बस्ने र सो बैठकले केन्द्रीय सदस्य पदमा पशुपति बहादुर खड्कालाई उम्मेद्वार बनाउन सक्ने अध्यक्ष घिमिरेको भनाई छ । 

अन्य जिल्लामा पनि अवस्था उस्तै 

नेपालको उदाउँदो पहाडी मुलको उद्योगीको नामले चिनिने चन्द्र ढकालको लागि यो चुनाव इज्जतको सवाल बनेको उनको पछिल्लो गतिबिधिले देखाउंछ। स्वत अध्यक्ष बन्ने लाइनमा रहेका शेखर गोल्छाले हतार गरेर पदमा बस्नुपर्ने भएपनि उनलाई भन्दा ढकाललाई निर्वाचन गर्न हतारो देखिन्छ। 

कार्यकारी अध्यक्ष नभई वरिष्ठ उपाध्यक्ष बन्ने भएपनि चुनावको हतारोको पछाडी मूलत आर्थिक रहेको बताइन्छ। कुनै पनि हालतमा निर्वाचनमा जीत चाहेका छन्। तर महासंघमा एक पटक पनि चुनावको अनुभव नभएका ढकालले अढाई दशक लामो अनुभव र कयौं पटक चुनावमा उत्रिएका तथा महासंघ भित्र बलियो मानिने जिल्ला नगरमा बलियो पकट बनाएका किशोर प्रधानसँग प्रतिस्पर्धा गर्दै छन्।

अहिलेसम्मको बस्तुस्थिति हेर्दा ढकाल र प्रधानबीच प्रतिस्पर्धा कडा देखिएको छ। प्रदेश १ र २ मा प्रधानको हिस्सा धेरै छ भने ४ र ५ मा ढकाल बलिया देखिन्छन। तर प्रदेश ३ मा दुवैको स्थिती बराबर देखिन्छ। भोटका आधारले समेत बराबर देखिएपनि प्रदेश ६ र ७ दुवैका लागि महत्त्वपूर्ण मानिएको छ।  प्रदेश ६ र ७ मा रहेको २१ भोट कुनै पनि हालतमा आफ्नो पक्षमा राख्ने ढकालको योजना छ। त्यसैले पनि बजारमा ढकालले २१ मध्ये प्रदेश ६ र ७ बाट १७ भोट आफ्नो पक्षमा राख्न जुनै किसिमको लगानी गर्न पछि नहट्ने विश्लेषण गरिएको छ।

भोटलाई प्रभाव पार्न आफु अध्यक्ष रहेको ग्लोबल आइएमई बैंकको संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकबाट ढकालले बिभिन्न जिल्लामा पैसा पुर्याएको ढकालमाथि आरोप छ। कर्णाली उद्योग बाणिज्य संघमा बाढी पिडितको नाममा ग्लोबल आईएमई मार्फत ढकालले ५ लाख दिएको बताइन्छ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved