यसपालीको दशैँः न माहोल छ, न पैसा !

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 01:32:24 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपालमा सबैभन्दा ठूलो र हर्षका साथ मनाईने बडादशैँ आउन अब ३ हप्ता मात्रै बाँकी छ । अन्य वर्षहरुमा यतिबेला दशैँको रौनकता ह्वात्तै बढेको हुन्थ्यो । तर, यसपाली कोरोना भाइरसका कारण दशैँको लागि हुने चहलपहल खासै देखिएको छैन ।

लामो समयको निषेधाज्ञा खुकुलो भएको पनि ३ हप्ता बितिसकेको छ । केही व्यवसायीक चहल पहल देखिएपनि दशैँको माहोल देखाउने रौनकता भने बढेको छैन । काठमाडौँ उपत्यकामा सार्वजनिक यातायात बाक्लै चलेपनि व्यापार व्यवसाय भने सुस्त नै छ । 

उपभोक्ताको क्रयशक्ति घट्यो

दशैँ तिहारको अवधिमा खाद्यान्न, लत्ताकपडा बढी खपत हुने गर्दथ्यो । उद्योगहरुले पनि चाडवाड लक्षित उत्पादनहरु बजारमा ल्याउँथे र बिक्रि गर्थे । तर, यसवर्ष भने न उद्योगले उत्पादन गरेका छन् न बजारमा माग नै बढेको छ ।

‘बजारमा माग नै छैन, दशैँ लाग्यौ है भन्न सकिने अवस्था नै छैन’ एक जना जुत्ता चप्पल उद्योगीले भने, ‘बजारबाट माग नै नआएपछि उत्पादन गर्ने कुरा आएन ।’ 

उनका अनुसार लामो समय लकडाउन हुँदा मध्यम वर्गका मानिसहरु बढी पीडित बन्दा उनीहरुको आम्दानीमा ह्रास आएको छ । उपभोक्ताकै आम्दानी नभएका कारण बस्तुको बजार माग २० प्रतिशतमा झरेको उनको भनाई छ । हरेक महिना सिमित तलब खाने सानो वर्गबाहेक सबैजसो उपभोक्ताको क्रयशक्ति घटेको उद्योगीहरुको अनुमान छ । 

नियमित काम गरेर बिहान बेलुकाको छाक टार्ने र थोरै बचत भएको पैसाले दशैँ मनाउने वर्गका मानिसहरु यसवर्ष दशैँ मनाउन सक्ने अवस्थामा नै नरहेको बजारका जानकारहरुको बुझाई छ । आम्दानीमा अस्वभाविक ह्रास आएका कारण यसपाली खुलेर चाडपर्व मनाउने मनस्थितीमा कोही पनि नरहेको अर्थविद् र बजारका विज्ञहरु बताउँछन् । अलिअलि पैसा भएकाहरु पनि महँगा सामान खरिद नगरी दशैँ मनाउने मनस्थितीमा रहँदा आफूहरुको व्यापार निकै खस्किएको व्यवसायीहरुको गुनासो छ ।

लकडाउनमा गाउँ फर्किएका काठमाडौँ आएनन्

काठमाडौँका प्रमुख व्यापारिक क्षेत्र न्युरोड, ठमेल, असन, दरबारमार्ग, ललितपूरको लगनखेल, जावलाखेल जस्ता ठाउँमा अहिले चहलपहल सामान्य मात्रै छ । दशैँको मुखैमा पनि यी क्षेत्रमा फाट्टफुट्ट बाहेक व्यापारिक गतिविधि नहुनुको पछाडी लकडाउनको अवधिमा काठमाडौँ छोडेकाहरु पुनः नफर्किनु पनि हो भन्छन् उद्योगी कृष्ण बहादुर फुयाँल । 

लकडाउनको बीचमा स्थानीय तहहरुले काठमाडौँमा रहेका आफ्ना नागरिक गाडी रिजर्भ गरेरै गाउँ लगेका थिए । उनीहरुमध्ये अहिले ४० प्रतिशत पनि नफर्किएको उद्योगी व्यवसायीहरुको अनुमान छ । 

अर्कोतर्फ काठमाडौँमा भएकाहरु पनि घर जाने वा नजाने दोमनमै रहेका कारण सोचेजस्तो चहलपहल नरहेको व्यवसायीको बुझाई छ । गाउँमा सोझै जाँदा कोरोनाको शंका गर्ने र पीसीआर परीक्षण गरेर जाँदा परीक्षण शुल्क महँगो रहेकाले पनि अधिकांश व्यक्तिहरु काठमाडौँमै दशैँ मनाउने सोचमा रहेको हुनसक्ने व्यवसायीले लख काटेका छन् ।

खाद्यान्न र लत्ताकपडाको व्यापार ह्वातै बढ्ने दशैँको समयमा पनि व्यापार नहुँदा व्यवसायी निराश देखिएका छन् । गत वर्ष माघ फागुनमा नै चीनबाट मगाइएका सामान अझै उतै रोकिएकाले पनि यसवर्षको दशैँ खल्लो हुने उनीहरुको गुनासो छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved