विशाल ग्रुपको स्वार्थ पूरा गर्न खुलाईयो विदेशी मदिराको आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 12, 2020 | 03:48:32 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले विदेशी मदिराको आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेको छ  । असोज २२ गतेको मन्त्रिपरिषद् बैठकले विदेशी मदिरा आयातमा लगाइएको प्रतिबन्ध फुकुवा गरेको हो । गत चैत्र १६ गतेको मन्त्रिपरिषद् बैठकले कोरोनाका कारण विदेशी मुद्रा सञ्चितिमा प्रभाव पार्ने भन्दै मदिराको आयात रोकेको थियो । 

तर, ६ महिना अघिको आफ्नै निर्णय उल्ट्याउँदै सरकारले विदेशी मदिराको आयात प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । तर, नेपाली उद्योगीहरुले भने व्यवसायीक घराना विशाल ग्रुपको स्वार्थका लागि बन्द गराईएको र उनीहरुको स्वार्थ अनुसार नै अहिले आयात प्रतिबन्ध फुकुवा गरिएको दाबी गरेका छन् ।

राजश्व बढाउन प्रतिबन्ध फुकुवा

गत २२ गतेको मन्त्रिपरिषद् बैठकले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको प्रस्तावमा विदेशी मदिराको आयात प्रतिबन्ध फुकुवा गरेको हो । दशैँ, तिहार जस्ता ठूला चाड नजिकिएका कारण बजारमा माग पनि बढ्दो क्रममा रहेको र सरकारलाई राजश्वमा सहयोग हुने देखेर प्रतिबन्ध फुकुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ  । 

चालु आर्थिक वर्षमा ९ खर्ब १२ अर्ब ९४ करोड राजश्व संकलनको लक्ष्य राखेको सरकारले आर्थिक वर्षको तीन महिना बितिसक्दा जम्मा १ खर्ब ४८ अर्ब मात्रै राजश्व संकलन गरेको छ । लक्ष्य अनुसारको राजश्व संकलनका लागि चाडवाडको मुखमा मदिराको आयात खोलिएपनि यो दीर्घकालिन रुपमै कायम राख्न गरिएको निर्णय नभएको मन्त्रालय स्रोतले जनाएको छ ।

विशाल ग्रुपसँग स्टक सकिएपछि आयात खुल्यो

मदिरा उत्पादकहरुले विशाल ग्रुपले चैत्र अघि ल्याएको मदिराको स्टक सकिएका कारण चाडपर्वमा विशाल ग्रुपले मदिरा बिक्रि गर्न नपाउने भएपछि आयात खोलिएको दाबी गरेका छन् । चैत्र १६ गतेको मन्त्रिपरिषद् बैठकले विशाल ग्रुपकै लागि आयात रोकेको र अहिले सोही समूहका लागि खुलाएको मदिरा उत्पादक संघका अध्यक्ष रबी केसी बताउँछन् ।

‘चैत्रमा विशाल ग्रुपसँग टन्न स्टक थियो, त्यतिबेला बजेटको प्लान भईरहेकाले जेठ १५ पछि भन्सार बढ्छ भनेर पहिल्यै विशाल ग्रुपले आयात रोक्न लगायो’ अध्यक्ष केसीले भने, ‘त्यतिबेला आयात भईराखेको भए भन्सार बढ्थ्यो, आयात नै रोकिएको छ भनेर हरेक वर्ष बढाउने विदेशी मदिराको भन्सार बजेटले यसवर्ष बढाएन, यो सबै पहिल्यै देखिको सेटिङ हो ।’ 

स्वदेशी मदिरा उद्योगको लागि आवश्यक कच्चा पदार्थमा ३३ प्रतिशत भन्सार बढाएको बजेटले विदेशी मदिराको हकमा भने भन्सार शुल्कमा कुनै फेरबदल गरेको थिएन । अध्यक्ष केसीका अनुसार तिहारमा मदिराको व्यापार गर्न विशाल ग्रुपले आयात प्रतिबन्ध फुकुवाका लागि ताकेता गर्दै आएको थियो ।

स्वदेशी उद्योगले बजार माग अनुसार मदिरा उत्पादन गर्ने क्षमता राख्ने भएपनि सरकारले भने विदेशबाट आयात गरेर ल्याएर बिक्रि गर्नेलाई मात्रै पोस्ने काम गरेको उद्योगीहरुको गुनासो छ । विदेशबाट आयात हुने अधिकांश रक्सीको नेपालस्थित बितरक विशाल ग्रुपको ग्लोबल ट्रेडिङ कन्सन हो ।

सरकारकै विभेदका कारण ८ अर्बको लगानी जोखिममा रहेको उद्योगीले दुखेसो गरेका छन् ।

कति हुन्छ आयात ?

नेपालको व्यापार घाटा हुनुमा मदिराको हिस्सा पनि ठूलो छ । सबैभन्दा धेरै आयात हुने बस्तुको सूचीमा पर्ने मदिराको आयात रोक्का हुँदा स्वदेशी मदिरा उद्योगीहरु खुशी भएका थिए । तर, दशैँको मुखैमा स्वदेशी उद्योगले उत्पादन गरेका मदिरा स्टक रहेको र बजारमा माग ३० प्रतिशतको हाराहारीमा सिमित रहेको बेला विदेशी मदिराको आयात प्रतिबन्ध फुकुवा भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब १४ करोड रुपैयाँ बराबरको मदिरा आयात भएको थियो भने गत आर्थिक वर्ष २०७६/०७७ मा ८८ करोड रुपैयाँ बराबरको विदेशी रक्सी आयात भएको छ । गत वर्ष भने चैत्रदेखि नै आयातमा प्रतिबन्ध लगाईएको र कोरोना कारण विदेशी मदिराको आयात घटेको भन्सार विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved