सिमेन्टको भाउ बढ्ने, उद्योगी भन्छन्, ‘संकेत मात्रै हो’

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 07, 2020 | 02:59:17 PM मा प्रकाशित

laxmi  sunrise bank

विदेशी बजारमा कोइलाको मूल्य बढेका कारण नेपालमा सिमेन्टको मूल्य बढ्ने संकेत देखिएको छ । गत साउन १ गतेबाट उधारोमा सिमेन्ट नबेच्ने घोषणा गरेर मूल्य बटाएका नेपाली सिमेन्ट उद्योगहरुले यसअघि बजारमा गइसकेको सिमेन्टको पैसा उठाउन नसकिरहेको समयमा पुनः सिमेन्ट महँगो हुने संकेत देखा परेको हो । 

२५ डलरले बढ्यो कोइलाको भाउ

सिमेन्ट उत्पादनमा अनिवार्य चाहिने कोइलाको मूल्य अन्तराष्ट्रिय बजारमा बढ्दो क्रममा छ । पछिल्लो एक महिनामा मात्रै कोइलाको मूल्य १५ देखि २५ डलर प्रतिटन सम्म बढेको छ । नेपालका सिमेन्ट उद्योगले अस्ट्रेलिया र दक्षिण अमेरिकाबाट आयात गरेर कोइला प्रयोग गर्दै आएका छन् भने इँटा उद्योगले इन्डोनेसिया र अमेरिकाबाट ल्याएको कोइला प्रयोग गर्छन् । पछिल्लो समय अन्तराष्ट्रिय बजारमा मूल्य बढेपछि नेपाली उद्योगीहरु समस्यामा पर्ने देखिएको हो ।

नेपालका सिमेन्ट उद्योगका लागि कोइलाको आपूर्ति गर्दै आएका आपूर्तिकर्ताहरु अघिल्लो महिनासम्म अधिकतम ६५ डलरमा दक्षिण अफ्रिकादेखि भारतको हल्दिया बन्दरगाहसम्म कोइला आईपुग्ने गरेकोमा अहिले भाउ बढेर ८५ डलरसम्म पुगेको बताउँछन् । 

अहिले आयातका लागि अर्डर गर्दा दक्षिण अफ्रिकाका निर्यातकर्ताले ८५ डलरमा मात्रै अर्डर लिने गरेका छन् । इन्डोनेसिया र अमेरिकाबाट आयत हुने कोइला पनि भारतको हल्दिया बन्दरगाहसम्म आइपुग्दा प्रतिटन ८४ डलर पुगेको छ । यही परिणामको कोइलाको मूल्य गत महिना ६६ डलरमा सिमित थियो ।

कारण के ?

चीनले अष्ट्रेलियाको कोइला खरिद गर्न छोडेपछि दक्षिण अफ्रिकी कोइलाको भाउ बढेको हो । चीनलाई छोडेर अष्ट्रेलियाले अमेरिकाको मुख ताकेर ब्यापारिक रणनीति अपनाएका कारण चीन अष्ट्रेलियासँग रुष्ट छ । चीन विश्वकै ठूलो कोइला आयातकर्ता मूलुक भएपनि उसले अष्ट्रेलियालाई छोडेर दक्षिण अफ्रिकाबाट कोइला ल्याउन थालेपछि अफ्रिकी निर्यातकर्ताले भाउ बढाएको नेपाली आयातकर्ताको अनुमान छ ।

दक्षिण अफ्रिाकाको कोइला निर्यात हुने आरबीसीटी बन्दरगाहको मर्मत गर्नुपर्ने भएकाले पनि कोइलाको मूल्य अझ बढ्न सक्ने बताईएको छ । उक्त बन्दरगाह आगामी जनवरी र फ्रेबुअरीमा मर्मत गरिँदैछ । अर्कोतर्फ कोभिडलाई कारण देखाएर ढुवानीको लागत पनि बढाईएकाले कोइला झन महँगिने देखिएको छ ।

‘सिमेन्टको भाउ बढेको छैन’

सिमेन्ट उत्पादक संघले अर्बौ बक्यौता उठ्न बाँकी रहेकाले उधारोमा सिमेन्ट नबेच्ने निर्णय गरेको थियो । संघका अध्यक्ष ध्रुव थापाले उद्योगहरुबीच अस्वस्थ प्रतिस्पर्धा हुन थालेपछि नगदमा मात्रै सिमेन्ट बेच्ने निर्णय गरिएपनि पूरानो बक्यौता नउठ्दा समस्या सिर्जना भएको बताएका छन् । अब उत्पादन लागत बढ्ने देखिएपनि अहिले बजारमा हल्ला भए जस्तो भाउ नबढ्ने उनको भनाई छ ।

नेपालमा आउने कोइला भारतको बाटो हुँदै आउने भएकाले भारतमा भने अष्ट्रेलियाको कोइला खपत हुन्छ । त्यस कारण नेपालका सिमेन्टमा पनि अष्ट्रेलियाकै कोइला प्रयोग हुनेछ । त्यसका कारण पनि नेपाली सिमेन्टको लागत सामान्य मात्रै बढ्दा तयारी सिमेन्टको भाउ बजारमा चर्चा भएजस्तो नबढ्ने सिमेन्ट उत्पादक संघको भनाई छ ।

नेपालका उद्योगीहरुको नयाँ नियम अनुसार निर्माण कम्पनी वा कर्पोरेट ग्राहकलाई उधारोमा सामान दिनुपर्ने भए अनिवार्य रुपमा बैंक ग्यारेन्टी वा एलसी लिनुपर्नेछ । यस्तो उधारोको अधिकतम अवधि ६० दिनसम्म मात्रै हुनेछ । उद्योगले अफर अन्तर्गत सुनचाँदी, हिरामोती, विदेश भ्रमण वा अन्य कुनै प्रकारको नगद वा जिन्सी स्किम राख्न पाउँदैनन् । साउन १ सम्म करिब १ खर्ब रुपैयाँ बक्यौता रहेकोमा अहिलेसम्म करिब ३० देखि ३५ अर्ब रुपैयाँ बक्यौता उठेको छ । 

जेठमा प्रतिबोरा ५० रुपैयाँसम्म मूल्य वृद्धि गरेका उद्योगीले भदौमा आएर प्रतिबोरा औसतमा ५० रुपैयाँसम्म मूल्य घटाएका थिए । ओपीसी सिमेन्टको औसत बजार मूल्य प्रतिबोरा ७ सयदेखि ७२५ रुपैयाँ र पीपीसी सिमेन्ट प्रतिबोरा ६ सय रुपैयाँमा पाइँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved