मापदण्ड बिना नै इट्टामा आत्मनिर्भरको रटान

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 09, 2020 | 11:06:11 AM मा प्रकाशित

laxmi  sunrise bank

भूकम्पपछि सरकारी अनुदान लिएर नीजि आवास बनिरहेका छन् । सँगै सरकारी संरचनाहरु पनि ठडिने काम भईरहेको छ । नीजि र सार्वजनिक भौतिक संरचनाहरु खडा गर्न सरकारले विभिन्न मापदण्ड बनाएको भएपनि यस्ता संरचना बनाउन प्रयोग हुने इट्टामा भने कुनै मापदण्ड कायम भएको छैन । सरकारले मापदण्ड नपुगेका संरचनाका लागि अनुदान नदिने बताएपनि इट्टाको प्रयोगमा भने कुनै मापदण्ड बनाईएन । जसका कारण शहरी क्षेत्रमा बन्ने घरहरुमा कुनै गुणस्तर कायम नभएका इट्टाहरु प्रयोग भईरहेका छन् ।

इट्टा उद्योगलाई ठूलो उद्योगको रुपमा लिईने भएपनि हालसम्म यिनीहरु घरेलु उद्योगका रुपमा नै दर्ता हुँदै आएका छन् । उद्योग विभागले तयार गरिरहेको आत्मनिर्भर उन्मुख उद्योगको सूचीमा इट्टा उद्योग पनि समावेश छ । तर यसको दर्ता नै घरेलु तथा साना उद्योग विकास समितिमा हुने भएकाले यीनिहरुमा गुणस्तर चिन्ह लिनुपर्ने प्रावधान छैन ।

इट्टामा किन तोकिँदैन गुणस्तर ?

१९५० को दशकबाट व्यवसायिक उत्पादन सुरु भएको नेपाली इट्टामा हालसम्म आईपुग्दा अर्बौ रुपैयाँ लगानी भईरहेको छ । परम्परागत माटो पकाएर तयार पारिने इट्टाको प्रयोग नेपालमा धेरै हुँदै आएको छ । होलो कंक्रिट ब्लक, कम्प्रेस्ड प्रविधिबाट निर्मित इट्टा र लाइट वेट इट्टाको प्रयोग पनि बढ्दो क्रममा छ । तर, गुणस्तर कस्तो हुनुपर्ने भन्ने सामान्य मापदण्ड बाहेक अरु तोकिएको छैन । 

काँचो (चिसो) इट्टाको तौल, पानी सोस्न सक्ने क्षमता र प्रयोगयोग्य हुनका लागि पुर्ण रुपमा सुकिसकेपछि हुनुपर्ने तौल मात्रै तोकिएको हुन्छ । तर, इट्टा उद्योगलाई अन्य उद्योगले जस्तो नेपाल गुणस्तर चिन्ह भने लिनुपर्ने बाध्यकारी ब्यवस्था गरिएको छैन । व्यवस्था नै नभएका कारण हालसम्म कुनै पनि इट्टा उद्योगले नेपाल गुणस्तर चिन्ह (एनएस) नलिएको गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए ।

‘इट्टा उद्योगहरु घरेलुमा दर्ता भएका हुन्छन्, उनीहरुले एनएस लिनुपर्ने अनिवार्य प्रावधान छैन’ महानिर्देशक पुडासैनीले भने, ‘आफ्नो क्षमता उत्कृष्ट छ भनेर देखाउनका लागि चाहेको भए लिन सक्थे, तर अहिलेसम्म लिएका छैनन् ।’

हाल फलामे डण्डी, सिमेन्ट आदि १२ प्रकार बस्तुले भने अनिवार्य रुपमा एनएस लिनुपर्ने प्रावधान छ । नेपालमा बन्ने परम्परागत इट्टा र होलो कंक्रिट सिमेन्ट ब्लकमा सामान्य मापदण्ड तोकिएपनि चीन र भारतबाट नेपाल आउने इट्टाहरुमा समान्य मापदण्ड पनि तोकिएको छैन । नेपाली इट्टाको कम्प्रेसिभ स्ट्रेन्थ, डेमेन्सन, इफल्लोरेन्स र वाटर अब्जर्वेसन भने परीक्षण हुने गरेको छ । 

‘नेपाली इट्टाको गुणस्तरमा शंका नगरौँ’

नेपालका पूराना संरचनाहरु उत्खनन गर्दा हजारौँ वर्ष पूराना इट्टा पनि भेटिएकाले परम्परागत इट्टा निकै बलियो हुने उद्योगीहरुको दाबी छ । नेपाल इट्टा उत्पादक संघका पदाधिकारीहरु सरकारले अनिवार्य गरेको खण्डमा आफूहरु तोकेको स्ट्याण्डर्ड लिन तयार रहेको बताउँछन् ।

‘हाम्रो इट्टा हजारौँ वर्षसम्म पनि बिग्रदैन भन्ने प्रमाण रानीपोखरी खनेको बेलामा भेटिएका इट्टाहरु हेर्दा पनि थाहा हुन्छ, काठमाडौँ उपत्यकाका पूराना घरहरु अझै ठडिएकै छन्’ उद्योगी शिवनारायण प्रजापतिले भने, ‘हजारौँ वर्ष पूराना धार्मिक संरचनाहरुको उत्खनन् गर्दा पनि नेपाली इट्टाहरु भेटिएका छन्, त्यसैले इट्टा कम गुणस्तरको पो प्रयोग गरेँ की भनेर कुनैपनि उपभोक्ताले शंका नगर्दा हुन्छ ।’

तर, गुणस्तर छ भनिएपनि कानुनी रुपमा नै गुणस्तर लिनुपर्ने प्रावधान नहुँदा आत्मनिर्भरको रटान लगाईएपनि नेपाली इट्टा अझै निर्यात हुन सकेको छैन । तराईका जिल्ला र काठमाडौँ उपत्यकामा गरी ३ हजार बढी इट्टा उद्योगहरु छन् । केही पहाडी जिल्लाका बेसी भेगमा पनि इट्टा उद्योग सञ्चालनमा भएको पाइन्छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved