
मकवानपूरको हेटौंडास्थित रातोमाटेमा खानी रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योगले प्रभावितहरुको जग्गा खरिदवापत भूक्तानी नदिएको खुलेको छ । मकवानपुरको राक्सिराङ–४ स्थित खानीबाट कच्चा पदार्थ ओसार्दै आएको उद्योगले सो क्षेत्रका केही स्थानीय बासिबाट खरिद गरेको जग्गाको समेत पैसा नदिएको खुल्न आएको हो ।
अहिले उद्योगले खानी विस्तारको लागि डोजरसमेत चलाउन थालेकाले आफूहरुको भागाभाग भएको भन्दै स्थानीयहरु प्रमुख जिल्ला अधिकारीलाई गुहार्न पुगेका छन् । स्थानीयको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले खानी क्षेत्रमा पुगेर स्थलगत निरीक्षण गरेका छन् । प्रजिअ सहितको टोलीले स्थलगत निरीक्षणको क्रममा सिमेन्ट उद्योगले जथाभावी डोजर चलाउँदा गिङ्ङु क्षेत्रका १२ घर परिवार विस्थापित हुने खतरा बढेको निष्कर्ष निकालेको छ ।
कमजोर आर्थिक अवस्था भएका चेपाङ समुदायको बसोबास रहेको उक्त क्षेत्रका बासिन्दाले आफूहरुको आवाज कसैले नसुनेपछि जिल्लामा नै पुगेको गुनासो गरेका छन् । उनीहरुले सस्तो मूल्यमा उद्योगले जग्गा किनेको भएपनि एकमुष्ट पैसा नदिई पटक पटक गरेर दिएको केही पैसा सकिएको र बाँकी पैसा पाउन मुस्किल भएको गुनासो पनि गर्दै आएका छन् । थोरै भएपनि पैसा पाएकाहरु भने गाउँ नै छोडेर हिडिसेका छन् भने पैसा नपाएकाहरु सास्ती खेपेरै बस्न बाध्य छन् ।
‘जनप्रतिनिधिले नै ढाँटे’
जनप्रतिनिधिहरूले आफूहरुलाई थाहा नै नलिई उद्योगलाई खानी सञ्चालनको अनुमति दिएको स्थानीयको आरोप छ । प्रमुख जिल्ला अधिकारीसँग पनि स्थानीयले यस्तै गुनासो सुनाएका छन् । सुरुमा तल्लो क्षेत्रका ६५ परिवार विस्थापित हुने र सो क्षेत्र करिब २५ हेक्टर जमिनमा खानी सञ्चालन गरिने भनिएको थियो । तर, भएको सहमति विपरित गाउँलेलाई नै थाहा नदिई स्थानीय जनप्रतिनिधिले उद्योगलाई खानी सञ्चालनको अनुमति दिएका थिए ।
प्रमुख जिल्ला अधिकारी रिजालले वडा र खानी सञ्चालकबीच भएको ११ बुँदे सहमतिमा प्रभावित क्षेत्र यकिन नभएको भन्ने गुनासो स्थानीयले गरेको बताएका छन् । वडा र उद्योगबीच भएको सहमतिमा कुनै विवाद नरहेको भएपनि क्रमशः प्रभावित क्षेत्र बढ्दै जान्छ भन्ने स्थानीयको माग सम्बोधन गराउन आफूहरुले पहल गरेको प्रमुख जिल्ला अधिकारीको भनाई छ ।
वडाअध्यक्षले मंसिरब २२ र २३ गते खानी प्रभावितहरुले गठन गरेको नागरिक सरोकार मञ्चसँग छलफल गर्ने भनेको भएपनि उक्त दिन वडाअध्यक्ष उपस्थित नभएको स्थानीयले बताएका छन् । यस विषयमा कुरा गर्न वडाअध्यक्ष संजय कोइरालासँग सम्पर्क गर्दा उनीसँग सम्पर्क भएन । गाउँपालिका अध्यक्ष राजकुमार मल्लसँग पनि सम्पर्क हुन सकेन ।
‘हामीले पनि हेरेर आयौ, प्रभावितले भने बमोजिम उनीहरुलाई मर्का नपर्ने गरी खानी चलाउन निर्देशन दिएर आएका छौँ’ प्रमुख जिल्ला अधिकारी रिजालले भने, ‘प्रभावितहरुको प्रकृति एकै किसिमको हुँदैन, कसैको घर गएको छ, कसैको बारी गएको छ, कसैको गोठ मात्रै गएको छ । स्थानीयले विद्यालय, खानेपानी र चरिचरनमा पनि समस्या परेको गुनासो राखेका छन् । यसमा केन्द्रित रहन र स्थानीयलाई मर्का नपार्न निर्देशन नै दिएका छौँ ।’
‘कुनै जानकारी छैन’
रिद्धिसिद्धि सिमेन्ट उद्योगले भने यसबारे कुनै जानकारी नरहेको बताएको छ । उद्योगका ब्राण्ड म्यानेजर अनुज महत आफू ६ दिनदेखि आइसोलेट भएर बसेका कारण यसबारे कुनै जानकारी नरहेको बताउँछन् ।
शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा स्थापना भएको रिद्धिसिद्धि सिमेन्टले २०७५ चैत्र २५ गतेबाट आफ्नो उत्पादन औपचारिक रुपमा बजारमा ल्याएको थियो ।