घोषणामै सिमित ‘सुरक्षाकर्मीको खुट्टामा नेपालकै जुत्ता’ कार्यक्रम

निरोज कुमार थापा

निरोज कुमार थापा

Dec 21, 2020 | 10:51:57 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले घोषणा गरेको ७ महिना पुगिसक्दा पनि नेपालका सुरक्षा निकायले नेपाली पोसाक र जुत्ता प्रयोग गर्न पाएका छैनन् । चालु आर्थिक वर्ष २०७७/०७८ को नीति तथा कार्यक्रममार्फत स्वदेशी उत्पादनको प्रयोगलाई प्राथमिकतामा राख्ने रणनीति अनुसार सबै सुरक्षा निकायलाई स्वदेशी पोसाक र जुत्ता प्रयोग गर्न लगाईने उल्लेख थियो । त्यस लगत्तै गत जेठ १५ गते बजेट भाषणमार्फत पनि सबै सुरक्षा निकायले जुत्ता तथा पोसाक स्वदेशमै उत्पादित प्रयोग गर्नुपर्ने घोषणा भएपनि हालसम्म कार्यान्वयन भएको छैन ।

बजेटमार्फत नै नेपाली उत्पादनलाई प्राथमिकता दिईने उल्लेख भएपछि नेपाली जुत्ता चप्पल उत्पादकहरु हर्षित भएका थिए । तर, बजेट भाषणको ७ महिना र आर्थिक वर्षको ६ महिना पुग्नै लाग्दा पनि नेपाली जुत्ता नेपालका सुरक्षा निकायका सुरक्षाकर्मीको खुट्टामा पर्न सकेको छैन ।

के भन्छन् उद्योगी ?

‘फुटवेयर म्यानुफ्याक्चरर्स एसोसियसन अफ नेपाल’ ले जुत्ता चप्पलमा मूलुक परनिर्भर हुन नपर्ने दाबी गर्दै आएको छ । तर, सरकारबाट घोषित कार्यक्रमहरु समयमा नै कार्यान्वयन नहुँदा समस्या सिर्जना भएको एसोसियसनका अध्यक्ष कृष्ण कुमार फुयाँल बताउँछन् ।

नागरिकहरु स्वदेशी उत्पादन गर्नुपर्छ भनेर लागेपनि सरकारी स्तरबाट भने घोषित कार्यक्रम पनि लागू नहुँदा उद्योगीहरु हतोत्साहित हुनु परेको उनको भनाई छ । सुरक्षा निकायका सुरक्षाकर्मीहरुले स्वदेशी जुत्ता प्रयोग गर्ने भनिएपनि अहिलेसम्म आफूहरुले उत्पादनको जिम्मा नपाएको फुयाँलको गुनासो छ ।

‘अहिलेसम्म हामीलाई कुनै जिम्मा दिईएको छैन’ उनले भने, ‘यसका लागि टेण्डरमा नै जानुपर्ने हुन्छ, टेण्डरमा जाँदा ग्लोबल टेण्डर गर्ने की नेपाली उत्पादकले मात्रै भाग लिन पाउने भन्ने यकिन भईनसकेर यो काम हुन नसकेको होला ।’

२० अर्ब माथिको लगानी रहेको नेपाली जुत्ता चप्पल उद्योगमा बैंकहरुले ५ अर्ब बराबरको लगानी गरेका छन् । ५० हजारलाई रोजगारी दिएका यी उद्योग पूर्ण क्षमतामा सञ्चालन भए नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिब २ लाख सुरक्षाकर्मीले विदेशी जुत्ता लगाउन नपर्ने अध्यक्ष फुयाँल बताउँछन् ।

क्वालिटी कमजोर हुने हो की !

बजेटपछि जुत्ता तथा पोसाकका लागि नेपाल प्रहरीले एकपटक पनि टेण्डर आह्वान गरेको छैन । स्टक रहेका कारण अहिले टेण्डर आह्वान गर्ने तयारी पनि नरहेको नेपाल प्रहरीका प्रवक्तासमेत रहेका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त बहादुर कुँवर बताउँछन् ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत स्वदेशी पोसाक र जुत्ता प्रयोग गर्ने निर्णय स्वागतयोग्य भएपनि ‘क्वालिटी’ कमजोर हुने हो की भन्ने आशंका रहेको उनको भनाई छ । प्रहरीले प्रयोग गर्ने जुत्ता (बुट) निश्चित क्वालिटी तोकिएको हुने भएकाले स्वदेशी उत्पादकहरुले ‘क्वालिटी मेन्टेन’ गर्न सक्छन् की सक्दैनन् भन्ने प्रश्न खडा भएको उनले बताए ।

‘सार्वजनिक खरिद ऐनले ग्लोबल टेण्डर गर्नुपर्ने भन्छ, ग्लोबल टेण्डर गर्दा विदेशी कम्पनीले जिम्मा पाए भने स्वदेशी उत्पादन प्रयोग गर्ने भनिएपनि हामीलाई सप्लाई त विदेशीले नै गर्ने अवस्था आउँछ । नेपाली उत्पादकहरु क्वालिटीका बस्तुहरु दिन सक्षम छन् भने हामीले विदेशी किन रोज्नुपर्यो र ?’

उनले स्वदेशी कम्पनीकै बस्तुहरु प्रयोग गर्नुपर्छ भनेर क्वालिटी नेपाल प्रहरीले सम्झौता नगर्ने पनि बताए ।

बाँसबारीले खडा गरेको त्यो दरिलो आधार

नेपाली जुत्ताको इतिहास ५ दशक लामो छ । २०२२ सालमा स्थापना भएको बाँसबारी छालाजुत्ता कारखानाले नेपाली जुत्ता उत्पादनको इतिहासमा कोशेढुङ्गा नै सावित थियो । हाल उक्त कारखाना बन्द अवस्थामा रहेपनि सोही कारखानाकै देनमा अहिले नेपाली बजारमा खपत हुने कुल जुत्तामध्ये ६० प्रतिशत योगदान स्वदेशी ब्राण्डको छ ।

अहिले दुई हजारभन्दा बढी उद्योग दर्ता छन् । उद्योगीहरु नेपाल जुत्ता–चप्पलमा आत्मनिर्भर उन्मुख रहेको दाबी गर्छन् ।

चिनियाँ सहयोगमा २०२२ सालमा बाँसबारी छालाजुत्ता कारखाना खुलेपछि जुत्ताको आधुनिक र व्यावसायिक रुप लिएको थियो । बाँसबारी छालाजुत्ता कारखानामा सोल उत्पादन हुन्थ्यो, छाला पनि कारखानामै प्रशोधन हुने गथ्र्यो । सेना, प्रहरी, विद्यार्थी, कर्मचारी सबैले लगाउने गरी ठूलो परिणाममा जुत्ता उत्पादन गर्दै आएको उक्त कारखाना मुलुकमा आर्थिक उदारीकरण भित्रिएपछि निजीकरण भयो अन्नतः बन्द भयो ।

बाँसबारी कारखाना बन्द भएपनि छाला जुत्ताको दरिलो आधार खडा गरिदिएको उद्योगहरु स्वीकार गर्छन् । सोही उद्योगमा हिजो काम गर्नेहरु धमाधम उद्यमी बन्न थालेको र अहिले सञ्चालनमा रहेका अधिकांश जुत्ता उद्योगीहरु विगतमा बाँसबारी छालाजुत्ता कारखानाका पुराना कर्मचारी नै भएको उद्योगीहरु बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved